अर्थतन्त्रका बाह्य सूचकहरू दुई वर्षदेखि सुविधाजनक अवस्थामा रहँदा पनि आन्तरिक अर्थतन्त्र सुस्त देखिएको छ।
तर, चालु वर्षको पहिलो महिना आन्तरिक अर्थतन्त्रका केही सूचकहरूले सुधारका संकेत देखाएका छन्।
गत वर्ष पहिलो पटक व्यापार घाटाभन्दा धेरै रेमिटेन्स आप्रवाह भयो, सात वर्षपछि चालु खाता धनात्मक देखियो। विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च पुगेर १३ महिनाको सेवा र वस्तुको आयात धान्न पर्याप्त भएको छ।
तर, गत वर्ष पनि आन्तरिक अर्थतन्त्रको सूचक मापन गर्ने सूचकहरूमा भने खास सुधार देखिएन। राजस्व औसतभन्दा निकै कम १० प्रतिशतको मात्रै वृद्धिदर कायम भयो। पुँजीगत खर्च अघिल्लो वर्षको तुलनामा पनि घट्यो, सरकारले निर्माण व्यवसायीको तिर्नुपर्ने पैसा समेत तिरेन जसको प्रभाव अन्य सूचकहरूमा पनि देखियो।
बैंकमा पर्याप्त लगानीयोग्य पुँजी भएर पनि कर्जा विस्तार लक्ष्यभन्दा निकै कम (११.५ प्रतिशतको लक्ष्यमा ५.८ प्रतिशत) भयो। सेयर बजार तथा घरजग्गा कारोबार र नयाँ लगानीमा पनि खास सुधार देखिएन।
चालु वर्षको सुरुवातमा भने यी पाँच सूचकमा केही सुधार देखिएको छ।
राजस्व
पछिल्ला दुई आर्थिक वर्षमा राजस्व वृद्धिदरमा आएको गिरावटलाई पछाडि पार्दै सुधारको संकेत देखा परेको छ।
चालु आर्थिक वर्षको साउन महिनामा ९४ अर्ब ७४ करोड रूपैयाँ राजस्व संकलन भएको छ।
यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा २० प्रतिशतको वृद्धिदर हो। गत वर्ष यसै अवधिमा ७४ अर्ब रूपैयाँ मात्र संकलन भएको थियो।
अर्थ सचिव रामप्रसाद घिमिरे यसलाई सुधारको प्रारम्भिक संकेतका रूपमा मान्छन्।
'अहिलेसम्म अपेक्षित गति समाउन नसके पनि सुधारको स्पष्ट संकेत देखिएको छ,' उनले भने।
चालु वर्षका लागि सरकारले ३८ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखेको भए पनि विगत २० वर्षको औसत वृद्धिदर १५ देखि २० प्रतिशत रहेको छ। पछिल्ला दुई आर्थिक वर्षमा यो औसत वृद्धिदर कायम नरहेकोले चुनौती थपिएको छ।
पुँजीगत खर्च बढ्यो
लामो समयदेखि निर्माण व्यवसायी भुक्तानी नपाएर थलिएको तथा सरकारले पुँजीगत खर्च गर्न नसकेको अवस्थामा चालु वर्षको पहिलो महिना पुँजीगत खर्चमा उल्लेख्य सुधार छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार गत वर्ष निर्माण व्यवसायीको बक्यौता भुक्तानीले पुँजीगत खर्चमा वृद्धि भएको हो।
बजेट मार्गदर्शन २०८१ अनुसार पहिलो प्राथमिकतामा विगतका भुक्तानी राखेर पुँजीगत खर्च गरिएको हो। यस क्रममा पहिलो महिनामा ८ अर्ब ५५ करोड रूपैयाँ पुँजीगत खर्च भएको छ, जुन गत वर्षको ८२ करोडको तुलनामा निकै ठूलो वृद्धि हो।
पहिलो महिनामा पुँजीगत खर्चको दर २.४३ प्रतिशत पुगेको छ। सामान्यतः पुँजीगत खर्च कात्तिक महिनापछि मात्रै बढ्ने गर्छ, तर यस पटकको प्रारम्भिक संकेतले पुँजीगत खर्चमा सुधारको संकेत दिएको छ।
सरकारले विगतको बक्यौता तिर्न थालेपछि निर्माण व्यवसायी पनि आशावादी भएका छन्। 'पहिलो महिना नै सरकारले बक्यौता उपलब्ध गराएको छ, यसले सरकार माथिको विश्वास बढ्ने छ, थप काम गर्न सहज हुनेछ,' निर्माण व्यवसायी रमेश शर्माले भने।
उद्योग दर्ता ४९ प्रतिशतले बढ्यो
साउन महिनामा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्।
गत वर्षको तुलनामा यो साउनमा लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको देखिन्छ।
विशेषगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रुचि बढेको छ। यी उद्योगहरूले ३ हजार ७५ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ।
ठूला उद्योग दर्तामा उल्लेखनीय सुधार देखिएको छ। उद्योग विभागको तथ्यांकअनुसार ६ ठूला र ७ मझौला उद्योगसहित कुल ६६ उद्योग दर्ता भएका छन्।
गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा जम्मा ६ अर्ब रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।
विशेषगरी लगानीकर्ताहरू पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न केन्द्रित देखिएका छन्। उद्योगमन्त्री दामोदर भण्डारी गत वर्ष लगानी सम्मेलनको क्रममा गरिएको आठ कानुनको संशोधन तथा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृतिको प्रभाव देखिएको बताउँछन्।
'नयाँ लगानी नआउनुमा केही कानुन अड्चनहरू पनि देखिएका थिए हामीले एकै पटक आठ वटा कानुन संशोधन गर्यौ त्यसको प्रभाव देखिन थालेको छ,' भण्डारीले भने
लगानीकर्ताको मनोबल बढ्यो
अर्थमन्त्री विष्णु पौडेलले सेयरमा बजारमा देखिएको उत्साहले लगानीकर्ताको मनोबल बढेको देखाउने बताए। अहिले सेयर बजारमा लगानीकर्ता आकर्षित भएको देखिन्छ। नयाँ लगानीकर्ताहरू बढेका छन्। राजस्वमा समेत सेयर बजारले ठूलो योगदान गरेको छ।
साउन महिनामा मात्रै बजार पुँजीकरण १२ खर्ब रूपैयाँले बढेर ४७ खर्ब ११ अर्ब रूपैयाँ पुगेको छ। यो भनेको बजारमा सूचीकृत भएका कम्पनीहरूको सेयरको हालको मूल्य हो। असार मसान्तसम्म यस्तो पुँजीकरण ३५ खर्ब बराबरको थियो। नेप्से परिसूचक पनि पछिल्लो एक महिनामा करिब ५०० अंकले बढेको छ।
घरजग्गाको कारोबारमा सामान्य सुधार
लामो समयदेखि सुस्त रहेको घरजग्गाको कारोबार साउनमा सामान्य सुधार आएको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिले ११.६४ प्रतिशतले बढेर ३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। साउन महिना घरजग्गा कारोबारको लागि अफसिजन मानिन्छ। यद्यपि ११ प्रतिशतकै वृद्धिदरले पनि केही सुधारको संकेत देखाउने व्यवसायी बताउँछन्।
घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्व भने उल्लेख्य बढेको छ। यस्तो राजस्व गत साउनको तुलनामा करिब ३२ प्रतिशतले बढेर तीन अर्ब ८८ करोड पुगेको छ।
व्यापार तथा उद्योगमा संलग्न उद्योगी व्यवसायीहरूले अहिलेको मुख्य समस्या मागमा आएको कमी भएको बताएका छन्।
मागमा भने साउनमा पनि खासै सुधार आउन नसकेको उनीहरूको प्रतिक्रिया छ। आन्तरिक उत्पादनमा सुधार नदेखिएको अवस्थामा आयात पनि अपेक्षित बढ्न सकेको छैन।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल अहिले पनि अर्थतन्त्र दबाबबाट बाहिर निस्कन नसकेको स्वीकार गर्छन्।
'जबसम्म हाम्रो उत्पादन, उत्पादकत्व र रोजगारी बढ्दैन त्यति बेलासम्म अर्थतन्त्रको दिगो सुधार हुन सक्दैन,' अर्थमन्त्री पौडेलले भने। तर, निर्माण भुक्तानी, घरजग्गाको कारोबार, सेयर बजारमा देखिएको सुधार र सरकारको खर्च गर्ने क्षमता बढ्दा माग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।'