आर्थिक शिथिलताको बीच ठूलो कारोबार गर्ने कम्पनीहरूको संख्या बढेको छ।
आन्तरिक राजस्व विभागले हालसालै ठूलो कारोबार गर्ने कम्पनीहरूको सूची अद्यावधिक गरेको हो। जसअनुसार यस्ता कम्पनीहरू ६०१ वटा पुगेका छन्।
सरकारले कर प्रशासनको लागि कर दातालाई तीन भागमा विभाजन गरेको हुन्छ। जसअनुसार वार्षिक एक अर्बभन्दा बढी कर योग्य कारोबार गर्ने कम्पनीलाई ठूला कम्पनीको सूचीमा राखिएको छ। जसको कर प्रशासन ठूला करदाता कार्यालयले गर्छ।
त्यस्तै, वार्षिक ५० करोडभन्दा बढी र एक अर्बभन्दा कमको कारोबार गर्ने कम्पनीलाई मध्यम तहका कम्पनीको रूपमा हेरिएको छ। यस्ता कम्पनीलाई मध्यमस्तरीय करदाता कार्यालयबाट कर प्रशासन गर्ने गरिएको छ।
५० करोडभन्दा सानो कारोबार गर्ने कम्पनीहरूलाई साना कम्पनीको सूचीमा राखिएको छ। यी कम्पनीको कर प्रशासन क्षेत्रगत कर कार्यालयहरू गर्ने गर्छन्।
आन्तरिक राजस्व विभागले हरेक दुई/दुई वर्षको कारोबारको आधारमा यस्ता कम्पनीहरूको सूची अद्यावधिक गर्ने गरेको थियो। पछिल्लो पटक भने तीन वर्षदेखि यो सूची अद्यावधिक गरेको थिएन।
आर्थिक वर्ष २०७७/७८ मा अद्यावधिक गरिएको सूचीमा वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कर योग्य कारोबार गर्ने कम्पनीको संख्या ५४१ रहेको थियो।
अर्थात् ५४१ वटा कम्पनीलाई ठूला करदाता कार्यालयले प्रशासन गर्ने गरेको थियो। यी कम्पनीले मात्रै समग्र आन्तरिक राजस्वमा ४१ प्रतिशतको योगदान पुर्याएका थिए।
गत आर्थिक वर्षमा पाँच खर्ब २६ अर्ब रूपैयाँको आन्तरिक राजस्व संकलन भएको थियो। जसमध्ये दुई खर्ब १७ अर्ब रूपैयाँ राजस्व ठूला करदाता कार्यालयबाट संकलन भएको हो।
पछिल्लो तीन वर्षको अवधिमा ठूला कम्पनीको संख्या ११ प्रतिशतले बढेको छ।
'तीन वर्षदेखि अध्यावधिक नभएको कारणले २५ प्रतिशसम्म यस्तो संख्या बढ्नु पर्ने थियो। तर, पछिल्लो दुई वर्ष अर्थतन्त्रमा कुनै न कुनै किसिमका अवरोध देखिन्छ। समग्रमा कर पनि पछिल्लो दुई वर्षदेखि बढ्न सकेको छैन,' आन्तरिक राजस्व विभागका एक अधिकारीले भने, 'ठूलो कारोबार गर्ने कम्पनीको संख्या घट्छ कि जस्तो अनुमान गरेका थियौँ तर केही बढ्यो।'
समग्रमा ६० वटा यस्ता ठूलो कारोबार गर्ने कम्पनी बढेको देखिए पनि आन्तरिक राजस्व विभागको सिस्टममा १४० वटा नयाँ कम्पनी थपिएका छन्।
तर, विगतमा एक अर्ब रूपैयाँभन्दा बढी कारोबार गर्ने ८० कम्पनी घटेका छन्। यी कम्पनीले एक अर्बको कर योग्य कारोबार गर्ने नसकेको कारण ठूला करदाताको कार्यालयबाट प्रशासन हुने सूचीबाट हटाइएको हो।
थपिएका १४० वटा कम्पनीमध्ये ७८ वटा कम्पनी मध्यमस्तरीय करदाता कार्यालयबाट सरेका छन् भने ६२ वटा कम्पनी क्षेत्रगत कर कार्यालयहरूबाट सरेका छन्।
अर्थात् वार्षिक एकभन्दा बढी कारोबार गरेको कारण थपिएका १४० कम्पनीहरूमध्ये ७८ वटा कम्पनीले पहिले ५० करोडदेखि एक अर्बसम्मको कारोबार गरेका कम्पनी हुन्। ६२ वटाले भने पहिले ५० करोडभन्दा पनि सानो कारोबार गर्ने गरेका थिए।
मध्यमस्तरीय करदाता कार्यालयले प्रशासन गर्ने कम्पनीहरूको संख्या ५६५ पुगेको छ। यो भनेको अहिले वार्षिक ५० करोडभन्दा धेरै र एक अर्ब रूपैयाँभन्दा कमको वार्षिक कारोबार गर्ने कम्पनीको संख्या ५६५ पुगेको हो।
यस पहिले यस्ता कम्पनीको संख्या ५४६ रहेका थिए। यो कार्यालयले कर प्रशासन गर्ने पुरानो कम्पनीहरूमध्ये ७८ वटाको कारोबार बढेर ठूला करदाता कार्यालय पुगेका छन्। मध्यमस्तरीय करदाता कार्यालयमा नयाँ ९७ वटा कम्पनी थपिएका छन्।
जसमध्ये ८० वटा कारोबार घटेको कारण ठूला करादाता कार्यालयबाट सरेका हुन्। १३ वटा भने कारोबार बढेको कारण क्षेत्रगत कर कार्यालयबाट मध्यमस्तरीय कर कार्यालयमा सारिएको हो।
समग्रमा पहिले ५० करोडभन्दा कमको कारोबार गर्ने कम्पनीहरूमध्ये ७५ वटाको कारोबार बढेको छ। यो तथ्यांकले ठूलो कारोबार गर्ने कम्पनीहरूको संख्यामा सुधार आएको देखिएको छ।