भारतले सुनमा उल्लेख्य मात्रामा कर घटाएपछि नेपाली व्यवसायीहरू निरूत्साहित भएका छन्।
भारतले लिएको भन्सार नीतिको प्रभाव नेपाललाई तत्काल पर्ने गर्छ। चालु वर्षमा नेपाल सरकारले सुनमा भन्सारदर बढाएको छ भने भारतले घटाएको छ।
यसअघि नेपाल र भारतमा सुनको भन्सारदर समान १५ प्रतिशत कायम गरिएको थियो। चालु वर्षको बजेटबाट नेपालले सुनको भन्सारदर ५ प्रतिशले बढाएर २० पुर्यायो।
भारत सरकारले भने ९ प्रतिशतले घटाएर ६ प्रतिशतमा झार्यो। अर्थात् अब भारतले सुन आयात गर्ने क्रममा ६ प्रतिशत मात्रै भन्सार उठाउँछ। नेपालले २० प्रतिशत उठाउँछ।
व्यापारीहरूका अनुसार करको दरमा १४ प्रतिशतको अन्तरसँगै नेपालको तुलनामा भारतमा एक तोला सुनको मूल्य १० हजार रूपैयाँ कम पर्छ।
खुला नाकाको लाभ उठाएर नेपालमा किन्ने सुन भारतबाट किनिने र नेपालको औपचारिक सुनको कारोबार घट्ने चिन्ता व्यवसायीहरूको छ।
अब अनौपचारिक बाटोबाट सुन भित्रिने, सर्वसाधारणको तहबाट समेत भारतीय सीमा नाकामा सुनको खरिददारी बढ्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मनिकरत्न शाक्य बताउँछन्। यसो हुँदा नेपालमा खरिदबिक्री घट्न जान्छ।
नेपालले बजेट ल्याएको करिब डेढ महिनापछि भारतको बजेट आउँछ। यस्तो अवस्थामा नेपालले कर बढाएको क्षेत्रमा भारतले घटायो भने नेपालको औपचारिक व्यापारमा कमी आउने तर्क भन्सार अधिकारीहरूको पनि छ।
पछिल्लो दुई वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आएको गिरावट भारतको भन्सार नीतिको प्रभाव नै भएको व्यापार विज्ञहरू बताउँछन्।
गत वर्ष मात्रै नेपालको अन्तर्राष्ट्रिय व्यापार २३ अर्ब ५० करोड रूपैयाँले अर्थात् १.३३ प्रतिशतले घट्यो। त्यसभन्दा अघिल्लो वर्ष १७ प्रतिशतको घटेको थियो। पछिल्लो १० वर्षमा नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिदर १२ प्रतिशत छ।
व्यापार विज्ञ पारस खरेल नेपालको व्यापारमा कमी आउनुमा मुख्यतः भारतीय नीति र भन्सार चुहावटलाई प्रमुख कारण देख्छन्। उनका अनुसार भारतले चामलमा लगाएको परिमाणात्मक बन्देज तथा निर्यात महसुलको प्रभाव हाम्रो आयातमा देखिएको हो।
भारतले तेस्रो मुलुकबाट आयात हुने सामानलाई घटाएको भन्सार महसुल तथा भारतले कतिपय वस्तुको निर्यातमा गरेको कडाइको प्रभाव नेपालको अन्तर्राष्ट्रिय व्यापारमा देखिएको भन्सार तथ्यांकले पनि देखाउँछ।
विगत दुई वर्षदेखि भारतले धान चामलको निर्यातमा कडाइ गरेको छ। त्यस्तै, प्याजको निर्यतामा पनि कडाइ गरेको छ। खाने तेलमा भने तेस्रो मुलुकबाट आयात हुँदा भन्सार महसुल घटाएको छ।
धान, चामल, प्याज, पाम तेल तथा भटमासको तेलमा मात्रै नेपालको आयात ५६ अर्ब २२ करोड ७३ लाख रूपैयाँ घटेको छ। आर्थिक वर्ष २०७९/८० मा एक खर्ब चार अर्ब ६२ करोड रूपैयाँको यी सामान आयात गरेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा भने जम्मा ४८ अर्ब ४० करोड रूपैयाँ मात्रै आयात भएको छ।
धान, चामाल र प्याज नेपालले भारतबाट आयात गर्छ। तर, पाम र भटमासको तेल भने नेपालले तेस्रो मुलुकबाट आयात गरेर भारतमा निर्यात गर्छ।
आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७५ करोड रूपैयाँ बराबरको धान चामल आयात भएको थियो। गत वर्ष भने १२ अर्ब ९४ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ६२ करोड रूपैयाँको चामल आयात भएको थियो। गत वर्ष भने नौ अर्ब २८ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको छ।
भारत सरकारले चामलको निर्यातमा २० प्रतिशत भन्सार लगाउने र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेपछि यसको प्रभाव देखिएको हो।
तथापि, भारतले नेपाललाई ६ लाख मेट्रिक टन धान भने शून्य भन्सार महसुलमा उपलब्ध गराउने निर्णय गरेको थियो। सन् २०२३ मा यस्तो सुविधा नेपालले लिएकोमा यो वर्ष भन्सार छुट नभएको भन्दै धानको आयात हुन सकेको छैन।
भारतले सन् २०२३ जुलाईदेखि चामलमा प्रतिबन्ध लगाएको थियो। सरकारको पहलमा दुई महिनापछि नेपाल सहितका केही देशको लागि परिमाणात्मक रूपमा आयात खुलाएको थियो।
भारतले वार्षिक ९५ हजार मेट्रिक टन मात्रै चामलको कोटा दिएको छ। औपचारिक माध्यमबाट २२ देखि २५ लाख मेट्रिकटन चामाल आयात हुँदै आएको थियो।
खुला भन्सारबाट चोरी पैठारी बढेको कारण औपचारिक रूपमा धान चामालको आयातमा कमी आएको व्यापारीहरूको भनाइ छ।
'भन्सार छलेर सामान आउने गरेको छ, दैनिक आठ हजार बोरा चामल मात्रै भन्सार छलेर आउने गरेको हाम्रो सर्वेले देखाउँछ,' नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले भने।
उनले केही मात्रामा उपभोगमा समेत कमी आए पनि अहिले अनौपचारिक व्यापार बढेको तर्क गर्छन्।
महँगी नियन्त्रण गर्न भन्दै भारतले प्याजको निर्यतामा निरूत्साहित गर्दै आएको छ। गत वर्ष प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने निर्णय गरेको थियो। त्यस्तै केही समय प्याजको निर्यातमा समेत प्रतिबन्ध लगाए।
यसको प्रभाव नेपालको प्याजको आयातमा देखिएको छ। ४० प्रतिशत भन्सार महसुल बढाएको कारण गत वर्ष प्याजको मूल्य धेरै बढे पनि समग्रमा आयत भने ६८ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ७५ करोड रूपैयाँ बराबरको प्याज निर्यात भएको थियो। गत वर्ष भने दुई अर्ब १५ करोड ३६ लाख रूपैयाँ बराबरको मात्रै भएको छ।
त्यस्तै, गत वर्ष भटमासको तेलको आयात २२ अर्ब १६ करोड रूपैयाँले घटेको छ। आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब ५८ करोड रूपैयाँको भटमासको तेल आयात भएको थियो। गत वर्ष भने १३ अर्ब ४१ करोड रूपैयाँको मात्रै आयात भएको छ।
त्यस्तै, पाम तेलको आयात पनि १५ अर्ब ३१ करोड रूपैयाँले घटेको छ। आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ९१ करोड रूपैयाँको पाम तेलको भएको थियो। गत वर्ष भने १० अर्ब ५९ करोड रूपैयाँको मात्रै आयात भएको छ।
भटमास र पामको आयात घट्नुको कारण भने भारतमा निर्यात हुन कम भएकोले हो। आर्थिक वर्ष २०७९/८० मा पाम र भटमासको तेलको निर्यात २९ अर्ब रूपैयाँ बराबरको भएको थियो। गत वर्ष भने सात अर्ब २३ करोड रूपैयाँको मात्रै भएको छ।
पाम तेलको उत्पादन नेपालमा हुँदैन भने भटमास उत्पादन नगन्य हुन्छ। यी तेल मलेसिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, चीन, टर्की, युक्रेन लगायत देशबाट आयात गरिने गरेको छ।
यी वस्तुको सामान्य मूल्य अभिवृद्धि गरी भारत निर्यात गरिने गरेको थियो। नेपालले गर्ने मूल्य अभिवृद्धिको मात्रा नपुगेको शंकामा बेलाबेलामा गैर–भन्सार अवरोधहरू पनि गर्दै आएको थियो। दुई देशीय वाणिज्य सन्धिअनुसार यस्तो वस्तुमा कम्तीमा ३० प्रतिशतको मूल्य अभिवृद्धि हुनु पर्छ।
तर, आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो भएपछि नेपालबाट यस्तो तेलको माग आउन छोड्यो र आयात पनि घट्न गएको हो।
यो तथ्यांकले भारतले निर्यातमा महसुल बढाउँदा तथा आयातमा महसुल घटाउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको अन्तर्राष्ट्रिय व्यापारमा हुने गरेको देखाउँछ।
विगतमा प्याज, धान, चामाल तथा तेल जस्तै यो वर्ष सुनमा पनि असर पुग्ने व्यवसायीको भनाइ छ।