नेपाली बजारमा विष्फोट अवरोधी सिलिण्डर


फलामे ग्यास सिलिण्डर अत्यधिक गर्मीको समयमा विष्फोट हुन थालेपछि त्यसको विकल्पमा विष्फोट अवरोधी सिलिण्डर नेपाली बजारमा भित्रिएको छ ।
वीरगञ्जको कर्मम भाग्यम कम्पनी प्रालिले भारतबाट यस्ता सिलिण्डर स्वदेशी बजारमा भित्र्याएको हो । कम्पनीले भारतको द सुप्रिम इण्डष्ट्रीज लिमिटेडले उत्पादन गरेका कवज ब्राण्डका कम्पोजिट सिलिण्डर आयात गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक किशोरीलाल टिवडेवालले भने ,‘अहिले साढे १४ किलो क्षमताका सिलिण्डर बजारमा ल्याएको छौँ, पछि १९ किलोसम्म ग्यास भर्न सकिने सिलिण्डर ल्याउने योजना छ ।’ फलामे सिलिण्डरको तुलनामा कम्पोजिट सिलिण्डर धेरै सुरक्षित हुने कम्पनीको दाबी छ । यो सिलिण्डर फाइबर ग्लासबाट बनेको र आवरण प्लाष्टिकको भएकाले कुनै पनि कारणले विष्फोट नहुने प्रबन्ध निर्देशक टिवडेवालले दाबी गरे । ‘कुनै कारणले आगलागी भइहालेमा यो सिलिण्डर पग्लिएर जान्छ । तर, पड्किदैन,’ उनले भने ।

फाइबरबाट बनेको सिलिण्डर पारदर्शी हुने भएकाले ग्याँसको परिमाण उपभोक्ताले बाहिरबाटै देख्न सक्छन् । जसका कारण ग्यासको तौलमा उपभोक्ता ठगिने सम्भावना पनि नहुने उनको भनाइ छ । कम्पोजिट सिलिण्डरको तौल फलामका सिलिण्डरको तुलनामा आधा मात्र हुन्छ । यसबाट ढुवानी सजिलो हुने पनि उनले बताए । तुलनात्मक कम तौलका कारण नेपालका दुर्गम क्षेत्रमा पुर्‍याउन सजिलो हुने टिवडेवालले बताए । साढे १४ किलो ग्यास अटाउने यस्तो सिलिण्डरको तौल साढे ७ किलोको हुन्छ ।

अहिले चलनचल्तीमा रहेका खाना पकाउने ग्यासका फलामे सिलिण्डर अत्यधिक जोखीमयुक्त भएपछि व्यवसायीले त्यसको विकल्पमा कम्पोजिट फाइबर ग्यास सिलिण्डर आयात गर्न थालेका छन् । फलामबाट बनेका सिलिण्डर पड्किएर दुर्घटना बढ्न थालेकाले सरकारले कम्पोजिट सिलिण्डरको प्रयोगलाई बढावा दिने नीति लिएअनुसार नयाँ ग्यास सिलिण्डर भित्र्याउन थालिएको हो ।

सरकारले निजी क्षेत्रलाई गुणस्तरको मापदण्ड पूरा गर्ने यस्ता सिलिण्डर आयातको अनुमति दिएको छ ।

  

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.