चार पुस्तादेखि दौरा सुरुवाल सिलाउँदै

राजदरबारदेखि झुपडीसम्मले मन पराएको टेलर्स

तस्बिरहरुः नारायण महर्जन


बाङ्गेमुडाको एउटा गल्लीबाट केही भित्रै छिरेपछि एउटा टेलर्समा पुग्न सकिन्छ। सेतो पृष्ठभूमिमा रातो अक्षरमा टेलर्सको नाम लेखिएको छ– राष्ट्रिय दौरा सुरुवाल टेलर्स। गल्लीको मुखमा कुनै जानकारीमुलक बोर्ड नराखिएकाले असम्बन्धित मान्छे त्यो टेलर्ससम्म पुग्दैनन्।

गल्लीभित्रको त्यस टेलर्समा मानिसहरु धाएरै पुग्छन्। धाएरै त्यहाँ पुग्ने मान्छेले टेलर्सलाई गुञ्जायमान बनाइरहन्छन्।

हिरा बहादुर शाक्य त्यही टेलर्सका मालिक हुन्। उनलाई बिहान सखारैदेखि भ्याइनभ्याइ हुन्छ। उमेरले ६९ वर्ष पुगे। तर, रहर र बाध्यता दुवैले उनले २५–३० बर्षे जाँगर देखाउनुपरिरहेको छ। टेलर्सको कामले उनलाई दिनभर व्यस्त बनाइरहन्छ। व्यस्तताले नै उनको लोकप्रियतालाई प्रमाणित गर्छ।

शाक्यको यो लोकप्रियता सजिलै आर्जन भएको भने होइन। यो उनीअघिका दुई पुस्ता र उनीपछिको एक पुस्ताका निरन्तरको मेहनतको प्रतिफल हो।

शाक्यको पुर्ख्यौली घर पाटन हो। उनको अनुसार उनका हजुरबुवाले जुद्ध शमशेर राणाको जावलाखेल दरबारका कर्मचारीहरुको दौरा सुरुवाल सिलाउथेँ।

नारायणहिटी राजदरबारमा पनि उनको परिवारको राम्रो सम्बन्ध भएका कारणले त्यहाँका कर्मचारीहरुको दौरा सुरुवाल सिलाउने जिम्मा पनि उनीहरुकै थियो। राजाको भने पुर्ख्यौलीदेखि कपडा सिलाउने छुट्टै मान्छे हुने भएकोले उनले अबसर पाएनन्। राजा वीरेन्द्रको राज्याभिषेक हुँदा पनि दरबारमा काम गर्ने सम्पूर्णको दौरा सुरुवाल उनीहरुले नै सिलाएको बताउँछन्, हिराबहादुर।

राजदरबारका लागि धेरै वर्ष इमान्दारीपूर्वक काम गरेको हुनाले उनले २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पाँचौले सम्मानित भएका छन्।

पहिले त उनीहरुको पसल वा टेलर्स थिएन। हाते मेसिनबाट कपडा सिलाउनु पथ्र्यो। उनी कहिलेकाहीँ काठमाडौंतिर नापो लिन आउँथे। त्यो बेलामा काठमाडौंमा दौरा सुरुवाल सिलाउन जान्ने मान्छे खासै थिएनन्। त्यसकारण काठमाडौंका केही बासिन्दाले भाडा बिना नै टेलर्स राख्न आग्रह गरेका थिए। त्यसपछि उनी काठमाडौंको भेडा सिंहमा बसेर आफ्नो कपडा सिलाउन थाले।

उनले काठमाडौं र पाटन दुवैतिरको काम भ्याउँथे। घरघरै पुगेर नापो लिन पथ्र्यो र कपडा तयार भएपछि घरमै पुर्‍याउन जानुपर्थ्यो। पछि त्यही काम उनको बुवाले सम्हाले। हिराबहादुरले पनि २१ वर्षको उमेरदेखि त्यही काम गरिरहेका छन्।

हिरा बहादुरका बाबुको तीनवटा श्रीमती थिए। जेठी श्रीमतीको एकमात्र छोरो भएको कारणले पनि उनीमाथि जिम्मेवारी अलि बढी थियो। उनका सौतेनी आमाका छोराहरु भने कपडा सिलाउने पेशामा लागेनन्। उनीहरुले पाटनमा मुर्ती बनाउने काम गरे।

टेलर्सको कमाइ पनि राम्रो छ। सिजनमा उनको टेलर्सबाट महिनामै करिब एक हजार दौरासुरुवाल बिक्री हुन्छ। शाक्यको टेलर्समा सिलाउनेमात्र काम नभइ रेडिमेड दौरासुरुवाल पनि बिक्री हुन्छ।

त्यही पसल र टेलर्सकै भरमा उनले राजधानीको महंगो मानिने बाङ्गेमुडा र नरदेवीमा समेत घर बनाएका छन्। यतिमात्र नभइ उनले २५ जनालाई रोजगारी समेत दिएका छन्।

हिरा बहादुर बृद्ध हुँदै गए पनि उनका जेठो छोरा यो पेशामा लागेका छन्। कान्छो छोराको भने करिब एक वर्ष अगाडी हृदयघातको कारण मृत्यु भयो।

हिरा बहादुरका बुवाले सुरु गरेको दौरा सुरुवाल पसल भएको ठाँउ बाङ्गेमुडामा अहिले ५० वटा भन्दा धेरै दौरा सुरुवाल मात्र सिलाउने पसल छन्। कतिपयले उनको पसलसँग नाम जुधाएका छन्। नाम जुधाएकोमा उनी चित्त दुखाउँछन्।

उनका नाति अहिले कक्षा ५ मा अध्ययनरत छन्। पछि यो क्षेत्रतिर आकर्षित भए पनि, नभए पनि नातिलाई दौरा सुरुवाल सिलाउन सिकाउने उनको इच्छा छ। ‘हजुरबुवा, बुवा, म अनि मेरो छोरो गरी हाम्रो चार पुस्तालाई दौरा सुरुवालले पाल्यो, यसलाई जोगाउनुपर्ने पनि हाम्रो कर्तव्य हो नी’ उनले मुसुक्क हाँस्दै भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.