यति कार्पेटको उद्योगमा आगो लाग्दा ‘नेपालकै ठूलो औद्योगिक क्षति’, ६ महिना उत्पादन बन्द

यति कार्पेटको उद्योगमा आगो लाग्दा ‘नेपालकै ठूलो औद्योगिक क्षति’, ६ महिना उत्पादन बन्द


शनिबार रातिदेखि लगातार आठ घण्टासम्म आगलागीको सिकार भएको नेपालको ठूलो कार्पेट उत्पादक कम्पनी यतिको फ्याक्ट्री आगोले जलेर नष्ट भयो।

८ वटा दमकलले निरन्तर आगो निभाउने प्रयास गर्दा पनि उद्योगमा लागेको आगो निभ्न आठ घण्टाभन्दा बढी समय लाग्यो। भक्तपुरमा रहेको उक्त उद्योग पूर्णरुपमा जलेर नष्ट भएको उद्योगकका संचालक अनिल केडियाले जानकारी दिए।

जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अगो नियन्त्रणमा खटेका थिए।२५ वर्ष पुरानो उक्त उद्योगमा विद्युतको सर्किट सर्ट हुँदा आगलागी भएको केडियाले जानकरी दिए। वार्षिक १० लाख लिटर कार्पेट उत्पादन गर्ने र नेपाली कार्पेट बजारमा ६० प्रतिशत हिस्सा ओगट्ने यति कार्पेटको उत्पादन अबको ६ महिनासम्म नहुने भएको छ।

औद्योगिक क्षेत्रमा यो सबैभन्दा ठूलो क्षति भएको हुनसक्ने आँकलन गरिएको छ। यो आगलागीबाट कम्तीमा पनि ६० देखि ७० करोड रुपैयाँ बराबरको नोक्सानी भएको केडियाको आँकलन छ।‘यसअघि चौधरी ग्रुपको इलेक्ट्रोनिक्स पार्कमा आगालागी हुँदा पनि ठूलो क्षति भएको थियो’ केडियाले भने, ‘तर उद्योगमा भएको क्षतिको हिसाबले हाम्रो उद्योगमा सबैभन्दा बढी क्षति हो।’

उद्योगमा रहेका कच्चा पदार्थ, उत्पादनको क्रममा रहेका सामान, गाडी तथा अन्य भौतिक वस्तु जलेर नष्ट भएको केडियाले जानकारी दिए। कूल भौतिक सम्पत्ति नष्टको हिसाबले ६०÷७० करोड रुपैयाँ भएपनि ६ महिनासम्मको उत्पादन बन्द हुँदा व्यापारमा हुने क्षति जोड्दा अर्बभन्दा माथिको आँकडा आउने केडियाको भनाइ छ।

केडियाका अनुसार दुई वटा भवन, पाँच टहरा, पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, तेल स्टोर जस्ता संरचना नष्ट भएको छ। जुद्ध बारुण यन्त्रका प्रमुख किशोरकुमार भट्टराई पनि यो आगालागीबाट औद्योगिक क्षेत्रमा भएको सबैभन्दा ठूलो क्षति भएको हुनसक्ने आँकलन गर्छन्।नेपालमा यस्ता क्षतिको विवरण राख्ने प्रचलन नभएपनि औद्योगिक क्षेत्रमा यो ठूलो क्षति हुनसक्ने उनको अनुमान छ।

‘मैले गरेको अनुभव, थाहा पाएसम्म नेपालको औद्योगिक क्षेत्रको सबैभन्दा बढी क्षति भएको आगलागी हो’ भट्टराईले सेतोपाटीसँग भने।

शनिबार राति ११ बजे विद्युत सर्ट भएर आगलागी हुनेवित्तिकै उपत्यकाका सबै दमकल परिचालन भएपनि आगलागी नियन्त्रणमा आउन आठ घण्टा समय लाग्दा क्षति बढी भएको उद्योगका अधिकारीहरुको भनाइ छ।

आगलागी तथा उद्योगमा हुने यस्ता दुर्घटनाहरु संसारभर हुने भएपनि नियन्त्रणमा उच्च प्रविधि भएमा कम क्षति हुन्छ। तर नेपालको प्रविधि पानीले निभाउनेमात्र भएकोले यो समस्या आएको केडियाले जानकारी दिए।

‘हामीसँग भएको आगो निभाउने पानीको प्रविधि पुरानो हो जसले प्रभावकारी भूमिका खेल्न सक्दैन’ केडियाले भने, ‘तर यसको ठाउँमा फाम प्रविधि भएको भए तत्काल नियन्त्रण हुनसक्थ्यो।’

तर जुद्ध बारुण यन्त्राका प्रमुख भट्टराई भने अगो नियन्त्रणको लागि सबै सम्भव प्रयास गरिएको बताए। आगो नियन्त्रणमा पानीको विकल्प नभएको उनको भनाइ छ। आगो र केमिकल पनि समाणुपातिक प्रयास गरिएको अधिकारीहरुले बताएका छन्।

तर उद्योग आफैले पनि अपनाउनुपर्ने सुरक्षा नअपनाएको, र प्रज्वलनशिल पदार्थको भण्डारण पनि त्यत्तिकै भएकोले पनि अगो फैलिएको प्राविधिकहरुले बताएका छन्। फाइबर, डिजेलजस्ता पदार्थको कारणले आगो अनियन्त्रित भएको उनीहरुको भनाइ छ।

अग्नी सुरक्षाका सावधानी सबैले अपनाउनुपर्ने र त्यसमा पनि ठुला उद्योगहरुले त संवेदनशिल भएर सोच्नुपर्ने प्राविधिकहरुको सुझाव छ।सरकारले पनि यसमा पहल गर्नुपर्ने उनीहरुको भनाइ छ।

नोक्सानीको वास्तविक विवरण भने बिमा कम्पनी, कम्पनी तथा प्रशासनको संयुक्त एसिसमेन्टपछि मात्र पत्ता लाग्ने अधिकारीहरुले बताएका छन्।

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.