राजधानीका अपार्टमेन्टमा फ्ल्याटको मूल्य कति ?


राजधानीमा अपार्टमेन्टमा फ्ल्याट किनेर बस्ने प्रचलन विस्तार हुँदै गएको छ। विभिन्न क्षेत्रमा ठूला ठूला अपार्टमेन्टहरु बनेका देखिन्छन्। घर बनाउने झन्झट नगर्नेको लागि अपार्टमेन्टको बसाई उपयुक्त हुन सक्छ।
भूकम्पलगत्तै नेपालमा अपार्टमेन्टमा बस्न सर्वसाधारण डराए पनि अहिले यसको व्यवसाय केही फस्टाउन थालेको डाउनटाउन अपार्टमेन्टका असिस्टेन्ट फाइनान्स म्यानेजर लोकेश अमात्य बताउँछन्। अपार्टमेन्टमा एउटै बेडरुम किनेर बस्दा पनि घरको भन्दा बढी सुविधाहरु प्रयोग गर्न पाइने भएकाले यसको प्रयोग बढ्दै जाने उनको भनाइ छ।
 ‘एउटा बेडरुम किनेर बस्नेलाई छुट्टै ट्वाइलेट तथा बाथरुम हुन्छ, सहज पार्किङ पनि हुन्छ’ उनले भने त्यसमाथि स्वीमिङ पुलको आनन्द लिन पाइन्छ, काठमाडौंका साधारण घरमा पनि यी सुविधा छैनन्।’
चोरी डकैती वा अन्य सुरक्षाका दृष्टिकोणले पनि अपार्टमेन्टको बसाई उपयुक्त रहेको उनको भनाइ छ। राजधानीमा बनेका अपार्टमेन्ट भूकम्प प्रतिरोधी भएकाले बस्नलाई डर मान्नुपर्ने अवस्था नरहेको उनले बताए।
विभिन्न अपार्टमेन्टले परिवारको आवश्यकता अनुसार साना ठूला कोठाहरुको यूनिट छुट्याएर बिक्री गर्ने गरेका छन्। अपार्टमेन्ट कम्पनीहरुले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सहज पार्किङ, स्विमङ पुल, सुरक्षा, फिटनेस क्लव, मिनी थिएटर लगायतका सुविधाहरु पनि दिइरहेका छन्।
हेरौँ रहेका केही अपार्टमेन्टको फ्ल्याट मूल्य 
डाउनटाउन अपार्टमेन्ट, धापासी 
योे अपार्टमेन्टमा एक बेडरुमदेखि ३ बेडरुमसम्मका फ्ल्याट किन्न पाइन्छ। एक बेडरुम किन्ने हो भने ४५ देखि ९५ लाख रुपैयाँसम्म पर्दछ। बेडरुमको आकारअनुसार मूल्य बढी तिर्नुपर्छ। ४५० देखि ६ सय स्क्वायर फिटसम्मको बेडरुम यहाँ किन्न पाइन्छ। ४५० स्क्वायर फिट बेडरुमको मूल्य ४५ लाख पर्छ।
त्यस्तै दुई बेडरुमको मूल्य ६५ देखि ७५ लाखसम्म पर्दछ। ८ सयदेखि ९ सय स्क्वायर फिटमा यी रुम उपलव्ध हुन्छ। त्यस्तै तीन बेडरुम किन्ने हो भने ८० लाखदेखि १ करोडसम्म पर्दछ। ११ सयदेखि १३ सय स्क्वायर फिटसम्मको क्षेत्रफल यी रुमले ओगटेको हुन्छ।
प्रत्येक युनिटमा डाइनिङ तथा लिभिङ रुम, ट्वाइलेट तथा बाथरुम उपलव्ध रहने र बाहिर लौण्ड्रि हल, स्वीमिङ पुल, पार्किङको सुविधा रहने छ।
वीस्टार रेसिडेन्सी बालकुमारी 
यो अपार्टमेन्टमा २ देखि ४ बेडरुमका यूनिट बनाई बिक्री गर्ने गरिएको सेल्स म्यानेजर सविना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार यो अपार्टमेन्टमा ९ सय स्क्वायर फिटका २ बेडरुम किन्दा ८२ लाख रुपैयाँ पर्दछ। त्यस्तै १०९८ देखि १५२० स्क्वायर फिटका ३ बेडरुम किन्दा १ करोड रुपैयाँदेखि १ करोड ४५ लाख रुपैयाँसम्म पर्दछ।
२३२४ स्क्वायर फिटको ४ बेडरुम किन्दा २ करोड रुपैयाँ मूल्य पर्ने श्रेष्ठले बताइन्। अपार्टमेन्टमा बेडरुम किन्दा छुट्टाछुट्टै ट्वाइलेट बाथरुम उपलव्ध हुने छ। त्यस्तै अपार्टमेन्टमा सिनेमा हल, क्लव, मिनी थ्रीयटरको सुविधा रहेको उनले जानकारी दिइन्।
सन सिटी अपार्टमेन्ट, पेप्सीकोला
सांग्रिला हाउजिङ प्रलिको सन सिटी अपार्टमेन्टमा अहिले चार र तीन बेडरुम फल्याटको बिक्री भइरहेको छ। अपार्टमेन्टको फेस र आकारको आधारमा मूल्य निर्धारण गरिएको मार्केटिङ हेड अरिना तुलाधरले जानकारी दिइन्।
यो अपार्टमेन्टमा चार बेडरुमको पmल्याट खरिद गर्नेले सस्तोमा ६७ लाख ३५ हजार तिर्नुपर्नेछ। यसको मूल्य प्रति स्क्वायर फुट ५ हजार रुपैयाँ पर्दछ। चार बेडरुमकै मध्यम मूल्य ७१ लाख २ हजार पर्दछ। जसको प्रति स्क्वायर फुट ५ हजार ३ सय रुपैयाँ पर्न जान्छ। यसको सबै भन्दा महँगो फ्ल्याटलाई ८० लाख ३७ हजार पर्दछ, यसको मूल्य प्रतिस्क्वायर फुट ५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
३ बेडरुम फ्ल्याटको सबै भन्दा महँगो ६७ लाख ६५ हजार ९ सय मूल्य तोकिएको छ। यसको प्रति स्क्वायर फुट ५ हजार ७ सय रुपैयाँ पर्दछ।
क्लासिक टावर, सातदोबाटो
सातदोबाटो चोकबाट करिव ४०० मिटर भित्र अवस्थित क्लासिक टावर अपार्टमेन्टमा दुई बेडरुम र तीन बेडरुमका फल्याटहरु बिक्री भइरहेका छन्। यो अपार्टमेन्टले ९ रोपनी क्षेत्रफल ओगटेको कम्पनीका चेयरमेन बाबुराजा महर्जनले जानकारी दिए।
यो अपार्टमेन्टको दुई बेडरुम फ्ल्याटको मूल्य सस्तोमा ६० लाख पर्दछ। यो ७ सय ४३ स्क्वायर फुटको छ। दुई बेडरुको महँगोमा ७६ लाख सम्मको छ र यो ९ सय ६५ स्क्वायर फुटको छ।  त्यसैगरी तीन बेडरुम फल्याटको सस्तोमा ७२ लाख ५२ हजार पर्दछ, यो ९ सय १८ स्क्वायर फुटको छ। त्यस्तै महँगो तीन बेडरुम फ्ल्याटको १ करोड १३ लाख पर्दछ। यो १३ सय ४० स्क्वाएर फुटको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.