कलेजका साथीहरूसँग भेट हुँदा हामी प्राय: श्रीघः घुम्न जान्छौं।
हरेकचोटि त्यहाँ जाँदा सबैको मुखबाट एउटै कुरा निस्किन्छ — बरफ खाऔं!
तपाईं सोच्नुहुन्छ होला, जाडोमा पनि बरफ!
जसरी चिया पारखीहरू गर्मीमा पनि तात्तातो चिया पिउँछन्, हामी बरफ लभर्सलाई त्यस्तै हो। हाम्रा लागि बरफ खान न जाडो, न गर्मी!
त्यसमाथि श्रीघ:मा पाइने लोकल बरफको त कुरै अर्को! सम्झिनेबित्तिकै मुखमा पानी रसाउँछ!
यहाँको बरफ पसल पहिले जाडोमा बन्द हुन्थ्यो। पुस लागेपछि हामी बरफ खान कहाँ जाने होला भनेर भुट्भुटिन्थ्यौं। यसपालि चाहिँ अचम्मै भयो। आधा पुस बितिसक्दा पनि श्रीघ:को बरफ पसल बन्द भएन।
मैले त्यहाँका साहुजीलाई उत्सुक हुँदै सोधेँ, 'दाइ यसपालि त पसल बन्द गर्नुभएको छैन नि! कहिलेदेखि बन्द गर्ने?'
उनको जबाफ सुनेर म लगायत मेरा साथीहरूको खुसीको सीमा रहेन।
उनले भने, 'यो वर्ष जाडोमा पनि खुल्लै हुन्छ बहिनी।'
उनको नाम सुरज महर्जन हो। उनी पसल सञ्चालक हुन्। उनका अनुसार गत वर्षसम्म यो पसल पुस र माघभरि बन्द हुन्थ्यो। जाडोमा पनि बरफको क्रेज देखेर यो वर्षबाट सधैं खोल्ने निर्णय गरेको उनले बताए।
त्यसो त फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले 'श्रीघः बरफ पसल' लाई जाडोमा पनि काठमाडौंको 'हट केक' बनाएको छ। तैपनि मुख्य सडकबाट अलि भित्र पर्ने यो लोकल पसल कतिपयले नदेखेका हुन सक्छन्।
तपाईंले पनि देख्नुभएको छैन भने आउनुस्, म तपाईंलाई पसलसम्मै लिएर जान्छु।
इन्द्रचोकबाट किलागल हुँदै छत्रपाटी जाँदा श्रीघ: भन्ने ठाउँ आउँछ। मूल सडकबाट विहारभित्र छिर्नासाथ बीचमा स्तुप र दायाँबायाँ केही बौद्ध गुम्बा र साना रेस्टुरेन्टहरू देख्नुहुन्छ। स्तुपलाई आधा फन्को मार्दामार्दै तपाईंको आँखामा पर्नेछ, काठमाडौंको एक पुरानो सामुदायिक स्कुल प्रभात माध्यमिक विद्यालय।
ठ्याक्कै त्यही विद्यालयको छेउमा एउटा सानो भर्याङ छ, जसले तपाईंलाई सिधै बरफ पसल पुर्याउँछ।
मैले केही दिनअघि त्यहाँका सञ्चालक सुरज महर्जनसँग पसल स्थापना, बजार, व्यापार र चुनौतीबारे लामो कुराकानी गरेकी थिएँ।
उनको बारेमा एउटा कुरा भनिहालूँ, दिनैजसो बरफ खान जाने भए पनि म उनलाई सुरज महर्जनका रूपमा चिन्दिनथेँ। हामी साथीहरू उनलाई 'बरफ साहु' भन्थ्यौं। वरपरका अरू पनि त्यही नामले बोलाउँथे। यही कुराकानीका क्रममा मैले पहिलोपटक उनको नाम थाहा पाएँ।
अब लागौं कुराकानीतिर।
सबभन्दा पहिला चर्चा गरौं, यो पसलको सुरूआत कसरी भयो?
२०५८ सालमा सुरजको परिवारले यहाँ घर बनाएपछि भुइँतल्ला कसरी प्रयोग गर्ने भन्ने भयो। उनी घरको भुइँतल्लामा आफै पसल खोल्न चाहन्थे। पसल चाहे जेसुकैको होस्!
यही इच्छाअनुसार उनले आमासँग मिलेर खाजा पसल सुरू गरे। छेउमै स्कुल भएकाले हाफ-टाइम वा छुट्टीमा केटाकेटीहरू खानेकुरा किन्न आइरहन्थे। एक रूपैयाँमा एउटा आलुचप बेच्ने गरेको सुरज सम्झन्छन्।
उनका बुबा पहिलेदेखि नै लैनचौरको दुग्ध विकास संस्थानमा दही व्यापार गर्थे। उनीहरूको दही दरबारमा पनि बिक्री हुन्थ्यो। दही बेचेबापत् राजाबाट पुरस्कार पाएको सुरज बताउँछन्।
'बुबाले दही व्यापार गर्दै आउनुभएकाले मलाई खाजा पसलमा दही पनि बेच्नुपर्छ कि भन्ने विचार आयो,' उनले भने, 'तर दही व्यापार त यसै पनि चलेकै छ, नयाँ ठाउँमा नयाँ चिजको व्यापार गर्नुपर्छ भनेर म अनेक सोच्न थालेँ।'
निकै सोचविचारपछि उनलाई एउटा आइडिया आयो — बरफ पसल खोल्ने।
स्कुल सँगै भएकाले जसरी खाजा पसल चल्यो, त्योभन्दा राम्ररी बरफ पसल चल्छ भन्ने उनलाई लाग्यो। हुन पनि केटाकेटीको रूचि खाजामा भन्दा बरफमा बढी हुने नै भयो!
सुरजले २०६० सालमा बरफ पसल सुरू गरे।
जति बेला सुरजले बरफ पसल थापे, उनलाई कसैले पनि 'सही निर्णय गरिस्' भनेका थिएनन्। जो पनि जिस्क्याउँदै भन्थे, 'यस्तो ठाउँमा पसल खोलेर को आउँछ?'
सुरजले भने कसैको कुरा सुनेनन्।
उनले सुरूआत एउटा सानो फ्रिजबाट गरेका थिए। त्यही फ्रिजमा विभिन्न जुस र चिनीपानी जमाएर बरफ बनाउँथे। त्यसलाई प्रतिगोटा १ रूपैयाँमा बेच्थे।
बरफ पसल राम्रै चले पनि लोडसेडिङका कारण व्यापार गर्न गाह्रो भएको उनी सम्झन्छन्।
'जेनेरेटर राखेर पसल चलाउने हैसियत थिएन। निकै महँगो पर्थ्यो,' उनले भने, 'अर्कातर्फ गर्मीमा बत्ती गएपछि सबै बरफ तुरून्तै पग्लिहाल्थ्यो।'
यही समस्याबाट आजित भएर उनले १ लाख ४० हजार रूपैयाँको जेनेरेटर किने। एकैचोटि चुक्ता गर्न नसकेकाले सुरूमा २० हजार तिरेर बाँकी किस्ताबन्दी बुझाएको उनी बताउँछन्।
जेनेरेटर चलाउन थालेपछि बरफ बनाउन सजिलो भयो। बजार प्रतिस्पर्धामा टिक्न भने धेरै मिहिनेत गर्नुपरेको उनको भनाइ छ।
हरेक कामको सही समय आउँछ। त्यो समय नआउञ्जेल जो नथाकी अघि बढिरहन्छ, ऊ नै गन्तव्यमा पुग्छ। सुरजले पनि त्यस्तै गरे।
लोडसेडिङ, बजार प्रतिस्पर्धा लगायत चुनौती खेप्दै अथक मिहिनेतबाट उनले बरफ पसललाई आजको अवस्थामा ल्याइपुर्याएका छन्।
अहिले चमतिमा उनको आफ्नै बरफ कारखाना छ। कारखाना खुलेको पाँच वर्ष भयो। उनको पसलमा बिक्ने सबैजसो बरफ आफ्नै कारखानामा उत्पादन हुन्छ।
सुरजको धेरैजसो समय कारखानामै बित्छ। उनले त्यहाँ १२ जनालाई रोजगारी दिएका छन्। यता पसलमा भने परिवारका अरू सदस्य बस्छन्। हामी जाँदा कहिले उनकी आमा हुन्छिन्, कहिले बुबा। धेरैजसो चाहिँ उनकी श्रीमती बस्छिन्।
उनी आफ्नो कारखानाबाट ब्लुबेरी, खुवा, चकलेट, म्याङ्गो, कोकाकोला, गुआभा, ओरियो लगायत थुप्रै स्वादका बरफ उत्पादन गर्छन्। खुवाको बरफ बनाउन पनौतीबाट खुवा मगाउने गरेको उनले बताए।
उनले उत्पादन गर्ने बरफको मूल्य १५ देखि ५० रूपैयाँसम्म पर्छ। यो बजारमा पाइने अन्य आइसक्रिमको दाँजोमा सस्तो हो। ग्राहकहरूलाई विभिन्न स्वादको बरफ चखाउन सुरज नयाँ नयाँ प्रयोग गर्न पनि पछि पर्दैनन्।
'बजारमा पाइने महँगा आइसक्रिमहरूकै स्वादमा हामी लोकल बरफ बनाउँछौं,' उनले भने, 'स्वाद उस्तै हुन्छ, मूल्य सस्तो पर्छ।'
'सबभन्दा बढी बिक्ने चाहिँ कुन हो?'
'बढी बिक्ने त पाउँ बरफ हो,' सुरजले भने, 'काठमाडौंका विभिन्न ठाउँबाट पसलेहरू नै यो बरफको अर्डर दिन आउँछन्।'
मैले अगाडि सोधेँ, 'तपाईंहरू बरफ बनाउँदा त्यसको गुणस्तर कसरी जाँच्नुहुन्छ?'
जबाफमा उनले गुणस्तर जाँच्ने दुइटा तरिका बताए।
नयाँ स्वादको बरफ उत्पादनपछि सबभन्दा पहिला त उनीहरू आफै चाखेर परीक्षण गर्छन्। आफूलाई मिठो लागे मात्र अरूलाई मिठो लाग्ने उनको भनाइ छ। जुन चिजको स्वाद आफैलाई मनपर्दैन, त्यो अरूले पक्कै मनपराउँदैनन् भन्ने उनको बुझाइ छ।
बरफ मात्र होइन, बरफ बनाउन प्रयोग गरिने दूध पनि पहिला आफूहरूले नै चाखेर हेर्ने उनले बताए।
गुणस्तर जाँच्ने दोस्रो तरिका हो — सधैं किन्न आइरहने स्कुल-कलेजका केटाकेटीलाई चाख्न दिएर केही कमी-कमजोरी छ कि भनेर सोध्ने।
यो जबाफ सुनेपछि पो म झल्याँस्स भएँ। उनले हामीलाई पनि बेला बेला नयाँ स्वादको बरफ चाख्न दिन्थे।
'सधैं आइरहने ग्राहकलाई खान दिएर प्रतिक्रिया बुझ्नु सबभन्दा राम्रो उपाय हो,' सुरजले भने, 'केही कमी-कमजोरी छन् भने त्यस्ता ग्राहकले सिधै भन्छन्। उनीहरूको प्रतिक्रिया सुनेर गल्ती सच्याउन पाइन्छ।'
ग्राहकहरूसँग प्रतिक्रिया बुझेर नै बरफमा कोको पाउडर र दूधको पाउडर प्रयोग गर्न थालेको उनले बताए।
सुरजले केही समययता व्यवसायमा आएका चुनौतीहरू पनि हामीसँग बाँडे।
उनका अनुसार कोभिड महामारीले व्यापारमा धेरै घाटा भयो। महामारीका कारण दुई वर्ष व्यापार ठप्प भएको र विदेशी ब्रान्डका आइसक्रिम पार्लरहरूले पनि प्रतिस्पर्धा दिइरहेको उनले बताए।
तर हरेक समस्या सँगसँगै त्यसलाई हल गर्ने बाटो पनि निस्कन्छ।
महामारीले व्यापार घटेको र विदेशी ब्रान्डले कडा टक्कर दिइरहेका बेला केही फुड भ्लगरले श्रीघ:को यो बरफ पसलबारे युट्युबमा कार्यक्रम बनाए। ती कार्यक्रमपछि काठमाडौं बाहिरका मान्छेमा पनि बरफ पसल लोकप्रिय हुन पुग्यो। युट्युब कार्यक्रम हेरेकाहरू खोजी खोजी यहाँ बरफ खान आउन थाले।
यसरी बढ्दै गएका ग्राहकलाई सन्तुष्ट पार्न सुरजले निकै मिहिनेत गरे।
बजारमा चलेका आइसक्रिमको स्वादलाई उनले स्थानीयकरण गरे र आफ्नै लोकल बरफ बनाए। स्वाद उही, मूल्य चाहिँ सस्तो भएपछि ग्राहकहरू झन् बढी धुइरिए।
खासगरी स्कुल-कलेजका विद्यार्थीमाझ श्रीघ:को बरफ खाने ट्रेन्ड नै चल्यो। बिदाको दिन वा अरू बेला श्रीघ:मा जमघट गर्न आउने हामीजस्ताको त बरफको स्वाद जिब्रोमै झुन्डियो।
सुरजका अनुसार यहाँ अरू दिनभन्दा शनिबार बढी भिड हुन्छ। गर्मी बेला रातको १० बजेसम्म पसल खुल्छ। कहिलेकाहीँ ग्राहकको चापले ११ बजेसम्म खोल्नुपरेको उदाहरण पनि छ।
जाडो याममा पसल खोलेको भने यसपालि पहिलोपटक हो। पहिले पुस लागेपछि पसल र कारखाना बन्द गरेर सरसफाइको काम गरिन्थ्यो। यसपालि भने ग्राहकको मागकै कारण जाडोमा पनि खुल्लै राख्ने निर्णय गरेको सुरजले बताए।
अहिले हामी मध्य पुसको चरम जाडोमा छौं। यति ठन्डीमा पनि श्रीघ: बरफ पसलमा ग्राहकहरू कम भएको मैले देखेको छैन।
जसरी हामी जुजू धौ (दही) खान भक्तपुर जान्छौं, जनकपुरको लस्सी खान इन्द्रचोक जान्छौं, छ्वेला-च्यूरा खान पाटन मंगलबजारको होनचा जान्छौं, त्यस्तै काठमाडौंको लोकल बरफ खान मान्छेहरू श्रीघ: आउँछन्। अझ स्थानीय जात्राहरूका बेला त यहाँ ठूलै भिड लाग्छ।
'मकहाँ बनेपादेखि पनि बरफ खान आउँछन्,' सुरजले खुसी हुँदै भने, 'टाढा टाढाबाट मान्छे आउँदा मलाई आनन्द लाग्छ। नयाँ नयाँ स्वादको बरफ उत्पादन गर्ने जाँगर चल्छ।'
उनी अबको गर्मी सिजनका लागि कुन नयाँ स्वादको बरफ ल्याउने तयारी गर्दै छन्, कुन्नि!
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***