२०७५ साल कात्तिक १६ गते साँझपख।
गोरखाका सुमन खड्का पर्साबाट घर फर्किँदै थिए। कृषि तथा माछापालन व्यवसाय हेरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भयो। उनी तीन महिनासम्म आइसियूमा बस्नुपर्यो। दुर्घटनाबाट बाहिर निस्केपछि पनि दुई वर्ष 'बेड रेस्ट' मै बित्यो।
'त्यो घटना सम्झिँदा अहिले पनि मन सिरिंग हुन्छ। कसरी बाँचेँ थाहा छैन,' सुमनले भने, 'दुई वर्षपछि हिँड्न सक्ने त भएँ तर के काम गर्ने, कसरी जीवनयापन गर्ने, टुंगो थिएन।'
दुर्घटनाअघि सुमन ट्रेकिङ गाइड थिए। सिजनमा पर्यटक लिएर विभिन्न गन्तव्यमा पुग्थे। आम्दानी राम्रै थियो। घुम्न र घुमाउन पाउँदा खुसी थिए।
बेड रेस्ट सकेर निस्किँदा देशमा कोरोना भाइरस संक्रमण फैलिएर लकडाउन थियो। एकातिर पर्यटन क्षेत्र ठप्प, अर्कातिर उनी फेरि गाइड भएर ट्रेकिङ जान सक्ने अवस्था भएन।
सुमन घरमै बसे। बाआमालाई खेतीपातीमा सघाए। यही बेला कृषिमा उनको रूचि बढ्दै गयो।
'पहिल्यैदेखि कृषिमै रमाउने सोच थियो। केही लगानी जुटाउँछु र आफ्नै खेतबारीमा खेती गर्छु भन्ने थियो,' उनले भने, 'दुर्घटनाले अलिक चाँडै यो क्षेत्रमा ल्याइदियो।'
करिब ६ वर्ष गाइड भएर काम गरेका उनी पहिले पनि कृषिकर्मबारे सोच्थे। फुर्सदमा विभिन्न जिल्लामा चिनजानका दाइहरूले गरेको कृषि व्यवसाय हेर्न जान्थे। त्यसैअनुसार माछापालन व्यवसाय हेरेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनी धम्पुस र अन्नपूर्ण ट्रेक गएका थिए। उचाइमा पुग्दा स्वास्थ्यमा समस्या देखियो। उनले ट्रेकिङबाट बिदा लिए।
सुमनले २० वटा भैंसी पाल्न सक्ने गरी आधुनिक गोठ बनाए। उनकी आमाले ६ वटा भैंसी पालेकी थिइन्। सुमनले बुटवलबाट थप नौ वटा भैंसी किनेर ल्याए। त्यसमा नौ लाख रूपैयाँ लाग्यो।
त्यसपछि उनको दिनचर्या फेरियो। गोठ र खेतबारीमा दिन बित्न थाल्यो। साँझबिहान दूध बेच्न बजार पनि जान थाले।
'दैनिक ६४ लिटरसम्म दूध हुन्थ्यो तर बजारको समस्या भयो,' उनले भने, 'बाटो राम्रो नभएकाले दूधले बजार पाएन। कसरी व्यवसाय अघि बढाउने भन्ने चिन्तामा परेँ।'
उनका अनुसार त्यति बेला घिउको माग राम्रो थियो। उनी घिउ बनाउनतिर लागे। गोरखा बजार र मनकामना बजारसम्म पुर्याएर बेचे। माग बढ्दै गयो।
गोठ बनाउँदा र भैंसी किन्दा गरेको लगानी अपेक्षा गरेको समयभन्दा पहिल्यै घिउले उठाइदियो।
भैंसीपालनको सफलतापछि सुमनले मौरीपालन थाले।
तीन वर्षअघि जंगल जाँदा उनले रूखको टोड्कामा मौरी भेटेका थिए। त्यही मौरी घरमा लगेर राख्ने सोच बनाए। स्थानीय सहकारी संस्थाबाट एउटा घार ल्याए।
सुरुमा त सुमनलाई त्यो मौरीले अरू मौरी बनाउँछ र घार थप्नुपर्छ भन्ने पनि थाहा थिएन। रहरले जंगलबाट ल्याएको एक घार मौरीले अरू थुप्रै मौरी जन्मायो। सुमनले केही महिनामै पाँच घार बनाए। घर वरिपरि तोरी र अरू फूल फुलिरहने भएकाले मौरीलाई चरनको समस्या थिएन। पछि मौरीपालन सम्बन्धी तालिम पनि लिए।
'मौरीपालन पनि गरूँला जस्तो लागेकै थिएन। जंगलमा मौरी भेटेपछि त्यसलाई लगेर व्यवस्थापन गर्छु भन्ने सोच आयो। त्यसैबाट मौरी थपिँदै गयो, घार थप्दै गएँ,' उनले भने, 'मौरीपालनबारे पहिले त केही थाहा थिएन। मौरीले टोकेर पनि हैरान पार्थ्यो। तालिम लिएपछि व्यवस्थापन गर्न सजिलो भयो, व्यवसाय गर्ने विश्वास पलायो।'
उनले २०७९ सालमा कैजेल मौरीपालन फार्म दर्ता गराए। मौरीपालन सुरू गर्दा लगानी गरेका थिएनन्। बिस्तारै लगानी बढाउँदै ५३ घार पुर्याएका छन्।
उनले उत्पादन गरेको मह स्थानीय बजारमै खपत हुन्छ। मह काढ्ने बेला भएपछि सामाजिक सञ्जाल फेसबुकमा प्रचार गर्छन्। त्यतिकै भरमा सबै मह बिक्री हुन्छ।
'महको बजार धेरै राम्रो छ। मैले अर्डरअनुसार पुर्याउन सकेको छैन। गाउँघरमा अरूले उत्पादन गरेको मह पनि बेच्ने गरेको छु,' सुमनले भने।
उनी आजकाल मौरीपालन प्रशिक्षकका रूपमा चिनिएका छन्। अहिले विभिन्न ठाउँमा तालिम दिन पुग्छन्। गोरखामा धेरै जनालाई तालिम दिएको उनले बताए।
सुमनले तरकारी खेती पनि सुरू गरेका छन्। आफ्नै जमिनमा विभिन्न थरीका तरकारी उब्जाउँछन्। अहिले टनेलमा गोलभेँडा पाकेको छ।
आत्मविश्वास प्रकट गर्दै उनी भन्छन्, 'मेहनत गरे के हुन्न र भन्थे, साँच्चै हो रहेछ!'
आफ्नो जीवनको एउटा दुष्कर घटनाबाट कृषक बनेका सुमन ३० वर्षका भए। अहिले उनी दही, दूध, घिउ, मह, तरकारी र अन्न बेचेर सरदर मासिक एक लाख रुपैयाँ बचत गर्छन्।
कृषिकर्ममा उनी एक्लै छैनन्, सिंगो परिवार लागिपरेको छ। उनका ५४ वर्षीय बुबा कृष्णबहादुरले पनि कृषिसम्बन्धी तालिम लिएका छन्।
'आफ्नै घरमा बसेर, आफ्नै जमिनमा काम गरेर महिनामा लाख कमाइरहेका छौं, योभन्दा खुसी र सन्तुष्टि अरू के हुन्छ र,' सुमन गर्वका साथ भन्छन्, 'पैसा कमाउन विदेश जानुपर्दैन। मेहनत गर्नुपर्छ, यहीँ मनग्य कमाउन सकिन्छ।'
उनी कृषिकर्ममा लागेको करिब पाँच वर्ष भयो। आफ्नो स्थानीय तहमा उनले उत्कृष्ट किसान पुरस्कार पनि पाएका छन्। किसानको कर्म मूल्यांकन गरेर दिएको पुरस्कारले आफ्नो हौसला बढेको उनले बताए।
अब आफ्नो बाटो कृषिकर्म नै भएको उनी बताउँछन्।
भन्छन्, 'कृषि पुरानो पेसा हो तर आधुनिक तरिकारले काम गर्दा धेरै सम्भावना छ।'