सागर विश्वकर्माको सानैदेखि एउटा सपना थियो — विदेश गएर कुनै ठूलो होटल वा रेस्टुरेन्टमा काम गर्ने।
त्यही सपना पूरा गर्न उनले होटल व्यवस्थापनमा प्लस-टूसम्म पढे।
तर नियतिले यस्तो खेल खेल्यो, न उनले थप पढ्न पाए, न विदेश गएर होटलमा कामै गर्न।
रूपन्देहीको सैनामैना नगरपालिका-२, सोरौलीका सागर चार वर्षदेखि पशुपालन गर्दै छन्।
भयो के भने, उनका बुबा रूपेशले चार जना साझेदारसहित पशुपन्छी तथा कृषि फार्म सञ्चालन गरेका थिए। नयाँ व्यवसाय सुरू गरेको वर्षदिन नबित्दै साझेदारहरू बाहिरिएपछि रूपेश एक्लै परे। यस्तोमा आफ्नो सपनाका लागि बुबालाई एक्लै छाडेर विदेश हिँड्न सागरको मन मानेन।
उनी आफ्नो सपना त्यागेर बुबाले सुरू गरेको पशुपालनमा नयाँ भविष्य कोर्न थाले।
यो आजभन्दा चार वर्षअघिको कुरा हो। त्यति बेला सागर १७ वर्षका थिए।
सुरूमा गोबर सोहोर्न र भैंसी दुहुन अप्ठ्यारो लागे पनि अहिले बानी परिसकेको उनी बताउँछन्।
'घरमा एक-दुइटा बाख्रा पालिन्थ्यो, तर भैंसी नै पालेर बसिन्छ भन्ने सोचेकै थिइनँ,' उनले भने, 'जिन्दगीमा गोबर-सोत्तर गरेर बसिन्न होला भन्ने लाग्थ्यो। गर्दै गएपछि बानी पर्दो रहेछ।'
पछिल्ला चार वर्षमा सागरले पशुपालनबाट राम्रो प्रगति गरेका छन्। घरनजिकै दुई बिघा जग्गा भाडामा लिएर २० वटा भैंसी र दुइटा गाई पालेका छन्।
उनको फार्म तीनवटा भैंसीबाट सुरू भएको थियो। एक-दुइटा थप्दै १० वटा माउ भैंसी पुगेका छन्। गोठमै जन्मिएका १० वटा पाडापाडी हुर्कँदै छन्। उनको योजना कम्तिमा २० वटा माउ भैंसी पाल्ने छ। त्यसका लागि अहिलेको फार्ममा ठाउँ नभएकाले अर्को गोठ बनाइरहेका छन्।
सानो बजार रहेको रानीबगियामा पाँचवटा डेरी सञ्चालनमा रहेकाले दूधको माग प्रशस्त छ। हरेक डेरीले दैनिक ३-४ सय लिटर दूध बेच्छन्। स्थानीय उत्पादनले माग पूरा नभएपछि कहिलेकाहीँ अन्यत्रबाट पनि ल्याउनुपर्छ।
सागरले बाख्रा, हाँस र कुखुरा पनि पालेका छन्। बाख्रा अहिले दुई-चारवटा मात्र छन्। कम्तिमा २० वटा पाल्न मिल्ने गरी नयाँ गोठ बनिरहेको उनले बताए।
उनका अनुसार करिब २५ लाख रूपैयाँ लगानीमा सुरू गरिएको पशुपालन फर्मबाट मासिक डेढ लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको छ। बर्खा याममा दूध उत्पादन कम भए पनि वर्षको आठ महिना दैनिक ९० लिटरसम्म उत्पादन हुन्छ। केही भैंसी ब्याउने समय भएकाले अहिले उत्पादन घटेको छ। एक-डेढ महिनामै फेरि बढ्ने उनले जानकारी दिए।
'दूध बेचेरै महिनाको १ लाख ७० हजार रूपैयाँसम्म आम्दानी हुन्छ। सबै खर्च कटाएर मासिक ८०-९० हजार सजिलै बचाउन सकिन्छ,' सागरले भने।
बिहान ४ बजे उठेर गाईभैंसीलाई दानापानी खुवाउन सुरू गर्ने सागर गोबर फाल्ने, दूध दुहुने र घाँस काट्ने काममा दिनभर व्यस्त हुन्छन्। केही काममा उनका बुबाले सहयोग गर्छन्। पराल ल्याउने, थन्क्याउने, गोबर सम्याउने लगायत काम गर्न कामदार राखेका छन्।
भाडामा लिएको जग्गाको केही हिस्सामा उनी वर्षामा धान रोप्छन्। अरू बेला नेपियर, वर्षिम लगायत उन्नत जातका घाँस लगाएका छन्।
विदेश गएर होटलमा काम गर्ने सपना देखेका भए पनि परिवारसँगै बसेर मिहिनेत गर्न पाउँदा सागर खुसी छन्। स्वदेशमै केही गर्न चाहनेका लागि कृषि र पशुपालन राम्रो विकल्प भएको उनको सुझाव छ।
'विदेशको तातो घाममा गर्ने दुःखको केही अंश मात्र स्वदेशमा गर्ने हो भने कृषि र पशुपालनबाट राम्रो आम्दानी हुन्छ,' उनले भने, 'मलाई त अचेल लाखौं खर्च गरेर विदेशमा श्रम गर्नुभन्दा आफ्नै माटोमा आत्मनिर्भर बन्नु राम्रो जस्तो लाग्छ। वैदेशिक रोजगारभन्दा स्वरोजगार नै उत्तम विकल्प हो जस्तो लाग्छ।'
यो सागरको भनाइ मात्र होइन, उनको परिवारका सबै सदस्यले यसलाई चरितार्थ गरेर देखाएका छन्।
सागरका बुबा, आमा र हजुरआमा तीनै जना अलग अलग व्यवसाय गर्छन्। बुबा रूपेश पशुपालनमा सघाउनुका अतिरिक्त सैनामैना क्षेत्रमा अटोरिक्सा चलाउँछन्। आमा रिममायाले रानीबगियामा तरकारी र फलफूल पसल खोलेकी छन्। हजुरआमा र बहिनी घरमै किराना पसल चलाउँछन्।
'घरमा त्यत्तिकै बसेर के गर्नु भनेर परिवारका सबै आ-आफ्नै काममा व्यस्त छौं,' सागरले भने, 'सबै व्यवसायबाट मासिक डेढ लाखभन्दा बढी बचत हुन्छ।'
उनले अगाडि भने, 'काम गर्नेलाई नेपालमै प्रशस्त अवसर छन्। हामी परिवारमा ५ जना छौं। सबैले अलग अलग व्यवसाय चलाएका छौं, राम्रै चलेको छ।'
पशुपालनमा राम्रो भविष्य भए पनि बैंकहरूले सजिलोसँग ऋण नदिँदा समस्या परेको उनको भनाइ छ।
ऋणका लागि धेरै बैंक धाए पनि कसैले दिन नमानेपछि आफै सदस्य बनेको सहकारीबाट १५ लाख रूपैयाँ लिएको उनले जानकारी दिए।
'बल्लतल्ल ऋण लिएर पशुपालन गरे पनि बिमा कम्पनीले पशुबिमा गर्न नमान्दा जोखिम उठाउनुपर्छ। गाईभैंसीलाई कति बेला कुन रोग लाग्छ थाहा हुँदैन। सजिलै उपचार पाइँदैन। लगानी सबै डुब्न सक्छ। भैंसीमा त्यति धेरै जोखिम नभए पनि गाई र बाख्रामा एक्कासि रोग लाग्ने जोखिम हुन्छ,' उनले भने।
तीन तहमा रहेका सरकारले पनि पशुपालन र कृषि गर्ने युवाहरूलाई खासै प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ।
'किसानले जति उत्पादन गर्छ, त्यहीअनुसार अनुदान दिने हो भने मात्र वास्तविक किसानको खल्तीमा पुग्छ। उनीहरूलाई उत्पादन बढाउनुपर्छ भन्ने हौसला हुन्छ। अहिले त वास्तविक किसानभन्दा जसले कागज र झोलामा फार्म बोकेर हिँडेका छन्, उनीहरूले अनुदान पाइरहेका छन्,' सागरले भने।
'अनुदान दुरूपयोग गर्नेलाई भविष्यमा सरकारबाट कुनै सहयोग हुन्न भन्ने हो भने दुरूपयोग गर्ने आँट कसैमा आउने थिएन,' उनले भने।