बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दिपनगरका गौरव आचार्य सानैदेखि सिर्जनशील काममा रूचि राख्थे। आमा कमलाले सानोतिनो रेस्टुरेन्ट चलाएर गौरव र छोरीलाई पढाइन्।
पढाइमा अब्बल गौरवको आकर्षण सूचना-प्रविधि क्षेत्रमा थियो।
रूचि पछ्याउँदै उनले बुटवलको सिसिटी कलेजबाट बिसिआइएस (ब्याचलर इन कम्प्युटर इन्फरमेसन सिस्टम) पढे।
पछिल्लो १० महिनादेखि भने उनी 'चिया बगान' चलाइरहेका छन्। दीपनगर सामुदायिक वनभित्र सञ्चालित चिया बगान अहिले चिया पारखीमाझ लोकप्रिय छ। चिया बगान गौरवले खोलेको चिया पसलको नाम हो।
२७ वर्षीय गौरव आफै पनि चियाका पारखी हुन्। उनी चिया पिउन विभिन्न पसल जान्थे। त्यो क्रममा पाको उमेरका मानिसभन्दा धेरै युवायुवती चियाप्रेमी भेटे। चियाको चुस्की लिँदै साथीभाइसँग गफिन टाढा टाढाबाट समेत युवाहरू पसलमा आएको देखे।
'धेरै नेपालीको दिनको सुरूआत चियाबाट हुन्छ। साथीभाइसँग गफिँदै चिया खाएर मुड फ्रेस बनाउनेहरू पनि धेरै भेटेँ,' गौरवले भने, 'अनि मलाई चिया पसलको सोच आयो।'
उनको घर नजिकै सामुदायिक वन छ। गर्मीमा शीतल हुने भएकाले उनले त्यहीँ पसल खोल्ने सोचे। तर सुरूमा उनकी आमा कमला यसमा सहमत थिइनन्। पढेलेखेको छोराले ऋण खोजेर जंगलभित्र चिया पसल चलाउने कुरा उनलाई चित्त बुझेन। आमा सहमत नभएपछि गौरवले पैसा जुटाउन दुई-तीन महिना पर्खिनुपरेको थियो।
चिया पसल खोल्ने सोचेपछिको एक दिन उनी बाटोमा हिँड्दै थिए। उनले कबाड पसलमा थोत्रिएर फालेको अटो-रिक्सा देखे। त्यसलाई बार लगाएर ट्यांकी बनाउन सके पसल चलाउन सकिन्छ भन्ने उनलाई लाग्यो। बहिनी र बुबाले विदेशबाट घरखर्चका लागि पठाएको २० हजार रूपैयाँ उनको बैंक खातामा थियो। उनले आमालाई नसोधी ७ हजार रूपैयाँ निकाले र त्यो अटो-रिक्सा किने।
![chiya-bagan5-1733735753.jpg](https://www.setopati.com/uploads/posts/chiya-bagan5-1733735753.jpg)
![chiya-bagan3-1733735753.jpg](https://www.setopati.com/uploads/posts/chiya-bagan3-1733735753.jpg)
रिक्सा ग्रील उद्योगमा लगेर चारैतिर फलाम र टिनको बार हाल्न लगाए। भित्री भागमा सामान राख्न र्याक बनाए। त्यहाँ बुझाउन उनीसँग पैसा थिएन। आमालाई त यसबारे भनेकै थिएनन्। त्यसैले हजुरबुबा दुर्गाबहादुर आचार्य र अस्ट्रेलियामा रहेका साथी विशाल आचार्यसँग २०/२० हजार रुपैयाँ सापटी मागेर ग्रील उद्योगमा बुझाए।
यता पुरानो अटो-रिक्सा ट्यांकी स्वरूपमा बन्दै थियो, उता गौरव चिया पसलको नाम जुराउँदै थिए।
'चियासँग जोडिएको नाम जुराउनै धेरै दिन घोत्लिनुपर्यो। पसलको नाम अलग हुनुपर्छ भन्ने थियो। दुई दिनसम्म त हिँड्दा, खाँदा, सुत्दा पनि नाम सोचेरै बित्यो,' उनले भने, 'धेरै सोचेपछि बगान राम्रो होला भनेर चिया बगान रोजेँ।'
नाम जुर्यो, ठाउँ पनि बन्यो। तर गौरवको चुनौती अझै थियो, उनलाई चिया पकाउन आउँदैन थियो। घरमा पनि कहिल्यै चिया नपकाएका उनले दिनभर युट्युब चहारे। भिडिओ हेर्दै चिया र कफी पकाउन सिके। चाख्दै, पकाउँदै गए।
'यत्तिको पकाउन सके ग्राहकलाई पनि मनपर्छ भन्ने भएपछि म ढुक्क भएँ,' गौरवले भने।
भोलिपल्ट उनले सानो ग्यास सिलिन्डर र चुह्लो किने। चिया पकाउने ताप्के, जाली, केही दर्जन गिलास, कप, चिनी, चियापत्ती र दूध किने। जंगलमा पानीको सुविधा नभएकाले घरबाटै तीन-चार जार पानी मोटरसाइकलमा राखेर पुर्याए।
अनि चिया पकाउन थाले।
त्यहाँ नजिकै ब्याडमिन्टन कोर्ट थियो। हरेक बिहान बुटवलका उद्योगी, व्यवसायी, चिकित्सक, इञ्जिनियर समेत ब्याडमिन्टन खेल्न जान्थे। नजिकै चिया पसल देखेपछि उनीहरू आए।
'पहिलो दिन नै बाह्र सय रूपैयाँको बिक्यो। त्यसपछि त ब्याडमिन्टन खेल्न पुगेकाहरु हरेक बिहान चिया पिउन आउन थाल्नुभयो,' उनले भने, 'पैसाभन्दा पनि बुटवलका प्रवुद्ध व्यक्तिहरु चिया पिउन आउँदा मेरो हौसला बढ्यो। मेरो निर्णय सही रहेछ भन्ने लाग्यो।'
गौरव हरेक बिहान सात बजे सामान बोकेर जानेदेखि, पकाउने, माझ्ने लगायत सबै काम एक्लै गर्थे। सामुदायिक वनको बीचमा चिया पसल खुलेको खबर दीपनगरमा फैलिँदै गयो। ग्राहक बढ्दै गए।
'पहिलो दिन बाह्र सय रूपैयाँको बेचेको थिएँ। एक महिनामै दैनिक पाँच/छ हजार रूपैयाँसम्मको बिक्न थाल्यो,' उनले खुसी हुँदै सुनाए, 'अहिले दस महिना भयो। दैनिक १० हजार रूपैयाँभन्दा बढीको कारोबार हुन्छ।'
छोराको काम देखेपछि आमा कमलाको मन पनि फर्किएको छ। अहिले त पसल कमलाले नै धानिरहेकी छन्।
![chiya-bagan6-1733735753.jpg](https://www.setopati.com/uploads/posts/chiya-bagan6-1733735753.jpg)
![chiya-bagan1-1733735752.jpg](https://www.setopati.com/uploads/posts/chiya-bagan1-1733735752.jpg)
'अहिले त आमाले कति सहयोग गर्नुभएको छ भन्ने कुरै नगरौं। सुरूमा कुरा बुझाउन नसकेर केही दिन रिसाउनुभयो। उहाँको नजरबाट हेर्ने हो भने त्यो स्वाभाविक थियो। ऋण गरेर आइटी पढाएको छोराले चिया पसल चलाउँछु भन्दा पिर लाग्यो होला,' उनले भने।
अहिले बिहान ७ बजेदेखि नै चिया पिउनेहरू आइपुग्छन्। दिउँसो दुई बजेदेखि ७ बजेसम्म अत्यन्त भिड हुन्छ। ग्राहक बढेपछि चिया/कफीसँगै गौरव र कमलाले चटपटे पनि बेच्न थालेका छन्। पकौडा र चुकौनीको पनि माग छ। तर जंगलमा खानेपानी अभाव भएकाले बनाउन नसकिएको उनले बताए।
बरू यसैको शाखाको रूपमा बुटवलभित्रै जग्गा भाडा लिएर अर्को पसल खोल्ने र परम्परागत खाजाका परिकार राख्ने योजना छ।
यसरी गौरवले थोरै लगानीमा, पुराना फालिएका सामग्रीबाट सुरू गरेको पसल नयाँ पुस्ताका लागि आकर्षण बनिरहेको छ। यहाँ कुर्सी र टेबल लगायत अधिकांश सामग्री पुराना र फालिएका वस्तुबाटै बनाइएका छन्।
'नयाँ पुस्ताका लागि फेन्सी कन्सेप्ट पुरानो भइसक्यो। उनीहरूलाई हजुरबुबा-आमाले प्रयोग गर्ने सामान नयाँ लाग्छ। त्यही नयाँपन दिन यहाँ धेरैजसो वस्तु पुराना राखिएको छ,' गौरवले भने।
पसलमा पुरानो सुपो (नाङ्लो) र डोको रंग्याएर सजाइएको छ। फालिएका काठबाट बनेका बेन्च, मुडा र टायरको टेबल छ। दसकौं पुरानो टेलिफोन सेट, टेपरेकर्डर, चिया पकाउने कित्ली र उनकी हजुरआमाको सानो बाकस पनि छ।
'यहाँ आउने धेरैजसोले यो टेलिफोन सेट र टेपरेकर्डर देखेकै थिइनँ भन्नुहुन्छ। अचम्म मानेर हेर्नुहुन्छ। त्यो बेला मलाई पनि आनन्द आउँछ,' उनले भने।
गौरव यहाँ ६० वर्ष उमेर माथिका व्यक्तिहरूलाई सित्तैमा चिया खुवाउँछन्। बालबालिकाले दस रूपैयाँमा पाउँछन्।
यसरी छुट दिनुको कारण खुलाउँदै उनले भने, 'अघिल्लो पुस्ता र अहिलेको पुस्ताको बीचमा ठूलो अन्तर छ। चिया पिउने बहानामा दुई/तीन पुस्ताको जमघट भयो भने भावना र अनुभव आदानप्रदान हुन सक्छ।'
चिया बगानको दस महिने अनुभव सँगालेका गौरव योजना बुन्न सके थोरै लगानीबाट पनि राम्ररी व्यवसाय चलाउन सकिने बताउँछन्।
'नेपालमा बसेर केही हुँदैन भनेर हुँदैन। लाज हटाएर आँट गर्नुपर्छ,' उनले भने।