रूपन्देही, भैरहवाकी पुनम अग्रवाल भैरहवा मेडिकल कलेज र देवदह मेडिकल कलेजमा जागिरे थिइन्। माइक्रो बायोलोजीमा स्नातकोत्तर गरेकी पुनमको पारिश्रमिक पनि राम्रो थियो।
उनका श्रीमान सिद्धार्थ अग्रवाल 'चितवन सिमेन्ट उद्योग' का सञ्चालक थिए। नेपालमा विकास निर्माणले तीव्रता पाइरहँदा उद्योगबाट राम्रो आम्दानी भइरहेको थियो।
तर २०७६ सालमा पुनमले मेडिकल कलेजको जागिर छाडिन्। सिद्धार्थले पनि सिमेन्ट उद्योग छाडे।
डेढ वर्षयता अग्रवाल दम्पती अर्कै काममा लागेको छ। उनीहरू अहिले अर्गानिक मल उत्पादन गर्छन्।
रूपन्देहीको रोहिणी गाउँपालिका-४ छिपागढमा छ उनीहरूको 'ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालि'। यसले 'रत्नम' ब्रान्ड नाममा दानेदार अर्गानिक मल उत्पादन गर्दै आएको छ।
सिद्धार्थ कम्पनीका अध्यक्ष छन् भने पुनमले प्रबन्ध निर्देशकको जिम्मेवारी लिएकी छन्।
सिमेन्ट उद्योगको संख्या बढ्दै जान थालेपछि फरक काम गरौं भन्ने सोचेर मल उद्योग खोलेको सिद्धार्थले बताए।
'रासायनिक मल आयात गर्दाको समस्या त छँदैछ, यसले माटो र बालीमा नकारात्मक प्रभाव पारेको बुझेपछि अर्गानिक मल उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो। १२/१३ वर्ष पहिलेको त्यो सोच बल्ल पूरा भएको छ,' सिद्धार्थले भने, 'रासायनिक मल कृषि उत्पादनका लागि ठूलो समस्या हो। तैपनि त्यही मलका लागि हरेक वर्ष किसानले धेरै दुःख पाउँछन्। माटोको सुरक्षा र मल अभावको समस्या कम गर्ने उद्देश्यले यो काम थालेका हौं।'
अग्रवाल दम्पतीले यो उद्योगमा ३० करोड रूपैयाँ लगानी गरेको छ। उनीहरूले बीस करोड रूपैयाँ सिमेन्ट उद्योग बेचेर जम्मा गरेका हुन् भने बाँकी १० करोड रूपैयाँ बैंकको ऋण हो।
पाँच बिघा क्षेत्रफलमा फैलिएको उद्योगले दैनिक २ सय टन मल उत्पादन गर्न सक्छ। तर सुरूआती चरण भएकाले दैनिक सय टन हाराहारी उत्पादन हुँदै आएको छ। नयाँ उत्पादन भएकाले बिस्तारै बजार विस्तार भइरहेको सिद्धार्थले बताए।
फलफूल, तरकारी तथा खाद्यबालीसँगै कौसी र करेसाबारीका लागि समेत लक्षित गरी हाल ५ किलो, २५ किलो र ५० किलो तौलको प्याकेटमा मल उपलब्ध छ। रत्नम अर्गानिक मल किलोको ३० रूपैयाँ पर्छ जबकि रासायनिक मल डिएपी ४५ रूपैयाँ किलोभन्दा धेरै पर्ने उनले जानकारी दिए।
सरकारले कृषि क्षेत्रका लागि खासै योजना र लगानी नगरेका कारण मल उद्योग स्थापना क्रममा धेरै झन्झट र समस्या बेहोर्नुपरेको सिद्धार्थले बताए।
'सुरूमा त मल उद्योग भनेपछि बैंकले ऋण दिन पनि मानेनन्। धेरैपछि साइन रेसुंगा डेभलपमेन्ट बैंकले विश्वास गरेर दस करोड रूपैयाँ लगानी गर्यो र उद्योग स्थापना गर्न सहज भयो,' सिद्धार्थले भने।
यति मात्र होइन, मल उत्पादन र बिक्री वितरणको अनुमति लिन पनि एक वर्षभन्दा बढी समय मन्त्रालय र सरकारी निकाय धाउनुपरेको उद्योगकी प्रबन्ध निर्देशक पुनमले बताइन्।
'एक वर्ष धाएर, ढिलै भए पनि अनुमति लिएपछि आफ्नै पालिका र उद्योग परिसरमा लगाएको धान खेतीमा मल परीक्षण गरी बजार पठाएका हौं,' उनले भनिन्, 'किसानले उत्पादन राम्रो भएको प्रतिक्रिया दिएपछि थप उत्साहित भएका छौं।'
हाल भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा रत्नम मल प्रयोग भइरहेको छ। त्यस्तै रूपन्देहीका विभिन्न सहकारी र कृषि ज्ञान केन्द्र गरी एक सयभन्दा बढी बिक्री केन्द्रमार्फत बिक्री-वितरण भइरहेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी, बागमती र मधेस प्रदेशमा पनि बजारीकरण भइरहेको उनले बताइन्।
उद्योगमा रहेको र सरकारी प्रयोगशालामा परीक्षण गरेपछि मात्र हरेक पटकको उत्पादन बजार पठाइने पनि पुनमले जानकारी दिइन्।
'रत्नम अर्गानिक मल भएकाले यसको प्रयोगबाट उत्पादित वस्तुबाट मानिसको स्वास्थ्यमा असर नपर्ने परीक्षणबाट देखिएको छ। माटो र बालीका लागि चाहने सबै पोषक तत्व भएकाले कृषि उत्पादन र उत्पादकत्व क्षमता पनि बढ्छ,' उनले दाबी गरिन्, 'त्यस्तै यो रासायनिक मलको विकल्प भएकाले किसानलाई ठूलो राहत पुग्ने छ।'
उनले यो मलको कच्चा पदार्थबारे पनि जानकारी दिइन्। यसको मुख्य कच्चापदार्थ रक फोस्फेट र डेन्टोनाइट रहो। बोनमिल, निमखली, एसिडोभेट, चिकेन लिट, पोटासियम लगायत मिश्रण पनि छ। जमिनमा पानीको मात्रा घट्दै गएको अवस्थामा डेन्टोनाइटले माटोमा पानीको मात्रा जोगाइराख्छ। रक फस्फेट बालीका लागि अत्यावश्यक मानिन्छ। निमखलीले किटनाशकको काम गर्छ भने बोनमिलले मर्न लागेको बाली जगाउने काम गर्छ। त्यस्तै नाइट्रोजन, पोटास, फस्फोरस, कार्बनसँगै माइक्रो न्यूट्रिन भएकाले यो मल हालेपछि डिएपी र पोटास हाल्न नपर्ने उनले बताइन्।
'रासायनिक मलको प्रयोग नरोकिने हो भने भविष्यमा उत्पादन नै नहुने गरी माटो बिग्रिन्छ। जबकि अर्गानिक मलले उत्पादन मात्र होइन, माटोको गुणस्तर पनि बढाउँछ,' उनले भनिन्।
सरकारले विशेष नीति ल्याएर स्वदेशी मल उद्योगको उत्पादन बढाउन सके किसानले अभाव खेप्नुनपर्ने सिद्धार्थ बताउँछन्।
'स्वदेशी मलको विश्वास गरेर केही समय प्रयोग गरेर हेरौं। राम्रो र गुणस्तरीय परिणाम आउँछ,' उनले भने।
आयातीत रासायनिक मल विस्थापित गर्दै जाने अग्रवाल दम्पतीको लक्ष्य छ। उत्पादन सुरू भएको छोटो समयमै सीमावर्ती भारतीय किसानले समेत मल माग गर्न थालेको उनीहरूले बताए।
हाल उद्योगमा दक्ष र अर्धदक्ष गरी ४० जनाले रोजगारी पाएका छन्। पूर्ण स्वचालित (अटोमेटिक) मेसिनहरू भएकाले थोरै जनशक्तिले काम भइरहेको छ। उद्योगले पूर्ण क्षमतामा उत्पादन थाल्दा भने १५० जनाले रोजगारी पाउनेछन्।
'उद्योगमा एक अर्ब लगानी पुर्याउने र जग्गा थपेर कृषि पार्क बनाउने योजना छ,' उनीहरूले भने।