६ अर्ब बढीको म्यूचुअल फण्ड आउँदै, यसरी गर्नुहोस् लगानी


विभिन्न ६ वटा बैंकका सहायक कम्पनीहरुले ६ अर्ब १० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी गर्ने भएका छन्। ती कम्पनीहरुले यसै आर्थिक वर्षभित्र म्युचुअल फण्डका योजनाहरु जारी गर्न लागेका हुन्।

सिद्धार्थ बैंकको कोष प्रवद्र्धनमा सिद्धार्थ इक्वीटी फण्ड, ग्लोबल आइएमई बैंकको व्यालेन्स फण्ड १, सिटिजन्सको म्युचुअल फण्ड १, एनआइसी एसियाको ग्रोथ फण्ड, नेपाल इन्भेष्टमेन्टको सहभागिता फण्ड नामका योजना जारी हुने भएका छन्।

ती योजना स्वीकृतिका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

हाल विभिन्न ११ वटा म्युचुअल फण्डका योजना जारी भइसकेका छन्। सिद्धार्थ बैंकको कोष प्रवद्र्धनमा दुई वटा, एनएमबि बैंकको दुई, नबिलको दुई, इन्भेष्टमेन्ट बैंकको दुई, लक्ष्मीको दुई र ग्लोबल आइएइमई बैंकको एउटा म्युचुअल फण्ड योजना सञ्चालनमा छन्। ती मध्ये लक्ष्मीको इक्वीटी फण्ड बजारमा सूचीकृत हुन बाँकी छ। केही दिनमै सो योजना बजारमा सूचीकृत हुने लक्ष्मी क्यापिटलले जनाएको छ। अन्य १० वटा योजनाहरु सूचीकृत भइ कारोबार हुने गरेका छन्।

सर्वसाधारणको उपस्थिति बढेकै कारण म्युचुअल फण्ड जारी गर्न कम्पनीहरु पनि आकर्षित भएको पाइन्छ। सेयर बजारमा भन्दा कम जोखिम हुने भएकाले म्युचुअल फण्डमा आकर्षण बढेको सम्वद्ध विज्ञहरु बताउँछन्। सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिम्सिनाले सेयरको विषयमा धेरै ज्ञान नहुने र बजारका गतिविधिलाई हेरिरहने फुर्सद नभएकालाई म्युचुअल फण्डको लगानी उपयुक्त हुने बताउँछन्।

विज्ञहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गर्दै ‘पोर्टफोलियो व्यवस्थापन गर्ने हुँदा लगानीकर्ताको थोरै रकम पनि धेरै कम्पनीमा बाँडिएर व्यवस्थित हुने उनले बताए। ‘एउटा व्यक्तिले गरेको १ हजारको लगानी पनि धेरै कम्पनीको सेयर खरिद हुन्छ’ तिम्सिनाले भने ‘लगानी विविधीकरण हुँदा जोखिम पनि कम हुन जान्छ।’

म्युचुअल फण्डले प्राथमिक सेयर निश्कासन (आइपिओ)मा आरक्षण समेत पाउने गरेका छन्। अर्थात सर्वसाधारणलाई आइपिओ जारी गर्नुअघि नै प्रत्येक कम्पनीले म्युचुअल फण्डलाई निश्चित सेयर संख्या छुट्याइएका हुन्छन्। यसले गर्दा सेयर बजारमा भन्दा म्युचुअल फण्डका योजनामा जोखिम न्युन हुन्छ। प्रति युनिट अंकित मूल्य १० मै जारी हुने भएकाले यस्ता फण्डले साना लगानीकर्तालाई पनि समेट्न सक्छ।

म्युचुअल फण्डले पनि सानो सानो रकम सर्वसाधारणबाट उठाएर लगानी गर्ने सेयर बजारमै हो। समग्र सेयरको बजार मूल्य घट्दा म्युचुअल फण्डको नेट एसेट भ्यालु (एनएभी) मा असर पर्ने गर्दछ। प्रतिइकाई १० मा लगानी भइसकेपछि सम्पत्ति मूल्य कति पुग्यो भन्ने कुरा एनएभीले जनाउँछ।

सेयर बजारको समग्र ट्रेण्ड जुन गतिमा घटबढ हुन्छ, लगभग त्यस्तै टे«ण्डमा म्युचुअल फण्डको एनएभी घटबढ हुने गरेको पाइन्छ।

म्युचुअल फण्डमा लगानी गर्नुअघि के कुरा ध्यान दिने ?

यस्ता फण्डमा लगानी गर्नुअघि सम्वद्ध कम्पनीहरुले जारी गरेका पहिलेका योजनाहरुको राम्ररी अध्ययन गर्नुपर्नेमा विज्ञहरु सुझाउँछन्।

पहिलेका योजनाहरुले लगानीकर्तालाई कति लाभांश दिए र ति योजनाको एनएभी कुन गतिमा अघि बढेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने उनीहरुको भनाई छ।

त्यस्तै कोषको नामबाट रकम केमा बढी परिचालन हुन्छ भन्ने विषयमा पनि ध्यान दिनु जरुरी छ। कतिपय कोषको ९० प्रतिशत रकम सेयरमा मात्रै लगानी हुन्छ भने कतिपयको त्योभन्दा कम रकम सेयरमा लगाई बाँकी अन्य क्षेत्रमा लगानी हुन्छ।

इक्रा क्रेडिट रेटिङले प्रदान गर्ने नम्वरलाई पनि ध्यान दिनुपर्नेमा विज्ञहरु सुझाउँछन्। इक्राले म्युचुअल फण्डमा दिने अंक र त्यसमा जोडिएको प्लसले विशेष अर्थ राख्दछ। १, २, ३ अंक पाएका योजना राम्रा मानिन्छ। १+, २+ र ३+ ले ति अंकभन्दा पनि थप राम्रो जनाउँछ। ४ ले मध्यम र ५ ले कमजोर जनाउँछ। जारी हुन लागेका म्युचुअल फण्डमध्ये सिद्धार्थले ३+ रेटिङ पाएको छ भने एनआइसी एसियाले ३ पाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.