घर किन्न ऋण चाहियो? यस्तो छ बैंकिङ प्रक्रिया


नयाँ घर किन्न ऋण चाहिएमा बैंकहरुले डेढ करोड रुपैयाँसम्म दिने गर्दछन्। काठमाडौं उपत्यकामा घरको कुल मूल्याङ्कन रकमको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्मको ऋण बैंकहरुले प्रदान गर्दछन्।

तर घर किन्दा आवश्यक प्रक्रिया र कागजातबारे जानकारी नहुँदा ऋणीले अनावश्यक झन्झट व्यहोर्ने मात्रै होइन, केही दिनमै हुने काममा महिनौंको समय खर्चिनुपर्ने हुन्छ। आवश्यक प्रक्रिया नबुझ्दा कर्जा लिन मात्रै होइन, अन्य धेरै कारोबारमा ढिलासुस्ती र समस्या व्यहोर्नुपर्ने हुन्छ।

यदी घर किन्नका लागि आवश्यक सबै कागजात जुटाएर प्रक्रियामा जाने हो भने पाँच दिनभित्रै प्रक्रिया पुरा हुने एनएमबि बैंकका कन्जुमर लेन्डिङ म्यानेजर सुशेनलाल श्रेष्ठ बताउँछन्। ‘धेरैले अपुग कागजात ल्याउने र अरु पनि चाहिने भएपछि बल्ल खोज्न वा बनाउन थाल्ने हुँदा समय लाग्ने गरेको हो’ उनले भने।

आवश्यक कागजात र प्रक्रिया नबुझ्दा ऋणीहरुले आफूलाई बैंकले अनावश्यक दुःख दिएको आरोप समेत लगाउने गरेको पाइन्छ।

घर किन्न ऋण लिन परेमा के के कागजात जुटाउने ?
आवासीय घर किन्दै हुनुहुन्छ, भने सबैभन्दा पहिले घर सम्पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेको हुनुपर्दछ। त्यसका लागि व्यक्तिगत कागजात, सम्पत्ति (घर)को कागजात र आयस्रोत खुल्ने कागजात बैंकमा बुझाउनुपर्ने श्रेष्ठले जानकारी दिए।

नयाँ घर बनाउनका लागि ऋण लिँदै हुनुहुन्छ भने सम्पन्न कामअनुसार बैंकले ऋण दिने गर्दछ। अर्थात नयाँ घर बनाउनका लागि एकमुष्ट सम्पूर्ण रकम बैंकहरुले दिँदैनन्। श्रेष्ठका अनुसार जति घर निर्माण सम्पन्न हुँदै जान्छ, सोही आधारमा ऋणलीले रकम पाउँदै गर्छ।  बैंकबाट ऋण लिनका लागि व्यक्तिगत कागजातअन्तर्गत व्यक्तिको नागरिकता तथा आफू कार्यरत रहेको संस्थाको परिचयपत्रको प्रतिलिपी बैंकमा चाहिन्छ।

ऋणीबाहेक अर्को ज्ञारेन्टी बस्ने व्यक्तिको पनि आफै उपस्थितिमा नागरिकताको प्रतिलिपी बुझाउनुपर्दछ। ऋणीको मुख्य आम्दानीको स्रोत खुल्नेगरी आयश्रोतको विवरण पनि बैंकमा बुझाउनुपर्दछ।

घर भाडामा दिएकाको हकमा घरबहाल करको प्रतिलिपी, कर्मचारीको हकमा तलव पुष्टि हुनेगरी कार्यालयले गरेको सिफारिस, आफ्नै व्यापार व्यवसाय भएको खण्डमा व्यवसायका प्रमाणपत्र तथा आम्दानीको विवरण खुलाउनुपर्ने हुन्छ।

त्यस्तै सम्वन्धित घरको चार किल्ला खुल्ने प्रमाणपत्र, नक्सा पास भएको प्रमाणपत्र र नगर तथा गाउँपालिकाले दिएको इजाजत पत्र र लालपूर्जा आवश्यक पर्दछ।कागजात सबै जुटाइसकेपछि भ्यालुएटरको टिमबाट घरको मूल्याङ्कन गराइने श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सरकारी र चलनचल्तीमा रहेको मूल्यलाई मध्यनजर गर्दै सो टिमले नयाँ मूल्य निर्धारण गर्दछ र सोको आधारमा बढीमा डेढ करोड रुपैयाँसम्म ऋण दिन भ्यालुएटर टिमले स्वीकृति दिन्छ।

व्याजदर भने फरक फरक
एउटै बैंकले एकै प्रकृतिको यो ऋणका लागि पनि व्याजदर भने न्यूनतमदेखि अधिकतमसम्म कायम गरेका छन्। अधिकांश बैंकको अहिले घरकर्जा १२ देखि १८ प्रतिशतसम्मको बीचमा छ। एउटै बैंकबाट घर कर्जा लिँदा पनि कसैले १२ प्रतिशत व्याज तिरेका हुन्छन् त कसैले १६ प्रतिशत पनि तिर्नुपरेको हुन्छ।

उच्च मूल्यको सम्पत्ति धितो राखेर थोरै ऋण लिएका, पहिले ऋण लिएर समयमै भुक्तानी गर्दै गएकालाई सम्वन्धित बैंकले लिने व्याजदर केही कम हुन्छ। धितो सुरक्षा तथा जोखिम, ऋणको च्यानल, विगतको कारोबार तथा विश्वास लगायत कुरालाई आधार बनाई ऋणीलाई वर्गीकरण गरी प्राइम र नर्मल व्याजदर तय हुने गरेको सम्वद्ध बैंकहरु बताउँछन्।

एनएमबि बैंकका श्रेष्ठ भन्छन् ‘यदी धितोको मूल्य उच्च छ र ऋण कम चाहिएको भए त्यस्तालाई पनि व्याजदर कम पर्न जान्छ।’ यदी बैंकलाई ‘कस्ट अफ फण्ड’ बढी पर्यो भने पनि व्याजदर बढ्न सक्छ। ‘हामीले फण्डको जोहो गर्दा जति महँगो पर्न जान्छ, त्यसबाट बेस भ्यालू पनि प्रभावित हुन्छ र ऋणको व्याजमा पनि असर पर्दछ’ उनले भने।

ऋण लिइसकेपछि कसरी भुक्तानी गर्ने ?
इएमआई प्रणालीबाट व्याजदर तय भइसकेपछि व्याजसँगै साँवाको निश्चित अंश तिर्दै ऋणीले रकम घटाउँदै लैजान्छ। महिनैपिच्छे कति रकम घटाउँदै जाने भन्ने कुरा लिएको ऋण, व्याजदर र समयावधिमा भर पर्दछ।

विभिन्न बैंकहरुको वेबसाइटमार्फत नै इएमआई आफैले क्याल्कुलेसन गर्न सकिन्छ। एउटै रकम निश्चित व्याजदरमा लिँदा भुक्तानी हुने समयावधिअनुसार तिर्नुपर्ने ‘इन्स्टलमेन्ट’ फरक फरक हुन जान्छ।

उदाहरणका रुपमा हेरौँ, इएमआईमार्फत १ करोड र २० लाख रुपैयाँको क्याल्कुलेसन !

१ करोड रकम ऋण लिँदा, निम्न व्याजदर र समयावधिमा महिनैपिच्छे बुझाउनुपर्ने ‘इन्स्टलमेन्ट’ यस्तो हुन आउँछ।

व्याजदर (प्रतिशतमा)  १० वर्षे अवधिको  १२ वर्षे अवधिको १५ वर्षे अवधिको
१२ १,४३,४७१ १,३१,३४२ १,२०,०१७
१३ १,४९,३११ १,३७,४६३ १,२६,५२४
१४ १,५५,२६६ १,४३,७१३ १,३३,१७४
१५ १,६१,३३५ १,५०,०८८ १,३९,९५९
१६ १,६७,५१३ १,५६,५८३ १,४६,८७०
१७ १,७३,७९८ १,६३,१९२ १,५३,९००
१८ १,८०,१८५ १,६९,९१२ १,६१,०४२

५० लाख रुपैयाँ रकम लिँदा माथि उल्लेखित इन्स्टलमेन्ट रकमको आधा रकम महिनैपिच्छे बुझाउनुपर्दछ।

२० लाख रुपैयाँ ऋण लिँदा निम्न व्याजदर र समयावधिको महिनैपिच्छे बुझाउनुपर्ने ‘इन्स्टलमेन्ट’ यस्तो हुन आउँछ।

व्याजदर (प्रतिशतमा)  १० वर्षे अवधिको  १२ वर्षे अवधिको १५ वर्षे अवधिको
१२ २८,६९४ २६,२६८ २४,००३
१३ २९,८६२ २७,४९३ २५,३०५
१४ ३१,०५३ २८,७४३ २६,६३५
१५ ३२,२६७ ३०,०१८ २७,९९२
१६ ३३,५०३ ३१,३१७ २९,३७४
१७ ३४,७६० ३२,६३८ ३०,७८०
१८ ३६,०३७ ३३,९८२ ३२,२०८

१० लाख रुपैयाँ ऋण लिँदा माथि उल्लेखित व्याजदर र अवधिको रकमको ठीक आधा रकम भुक्तानी गर्दै जानुपर्दछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.