बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्ने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बाँडफाँट निर्देशीका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको एक वर्ष पछि धितोपत्र बोर्डले यसको लागि बाटो खुलाउँदै निर्देशीका संशोधन गरेको हो।
अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई अंग्रेजीमा पर्पेचुअल नन क्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ। पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएको भन्ने हुन्छ।
नन क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ।
त्यस्तै, अग्राधिकार भन्नाले अन्य सेयरधनीलाईभन्दा पहिलो प्राथमिकता राखिएको भन्ने हो।
अर्थात् बैंकहरूले सबैभन्दा पहिले यस्तो अग्राधिकार सेयरधनीको लागि लाभांश छुट्याउँछन्। त्यसपछि मात्रै अन्य सेयरधनीले पाउँछन्।
यो अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा पनि अन्य ऋणपत्रमा जस्तो बैंकहरूले ब्याजदर वा भनौ लाभांश तोकेका हुन्छन्।
लामो समयदेखि नबिल बैंक, एनआइसी एसिया, एनएमबी बैंक र कामना सेवा विकासलगायतका संस्थाहरूले यस्तो सेयर जारी गर्ने तयारी गरिरहेका छन्।
धितोपत्र बोर्डले यस्तो अग्राधिकार सेयरको अंकित मूल्य एक सय रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, बैंकहरूले परिपत्र विधिबाट ५० भन्दा कम संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
नेप्सेमा सूचीकृत हुन सक्ने भएपनि यस्तो अग्राधिकार सेयर सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले किनबेच गर्न पाउने छैनन्।
यस्तो अग्राधिकार ऋणपत्र जारी गर्न पाएमा बैंकहरूको पुँजी कोषमा दबाब कम हुने बताइन्छ।राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धमा विभिन्न १२ मापदण्ड तोकेको छ।
यसमा कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने व्यवस्था समेत छ।
यस्तो अनुपात ५.१२५ प्रतिशतमा पुग्दा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ।
यस्तो अग्राधिकार सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न सक्ने, लाभांश वितरण गर्दा नाफा नोक्सान बाँडफाँट
हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने र यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने लगायतका व्यवस्था गरिएको छ।
यो पनि: लाभांश सुनिश्चित नहुँदा आउन लागेको अग्राधिकार सेयरमा केले बढाउला आकर्षण?