नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ।
यस सम्झौताले बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ।
सो कार्यमा बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए।
नेपालभर २२८ शाखा, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत् करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ प्रविधिमार्फत् सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।