विदेश जाने नेपाली घटे, देश भित्रिने आम्दानी घट्यो


केही अघिदेखिनै विदेशमा काम गर्ने नेपालीले मुलुकमा पठाउने रकम वृद्धिदर निरन्तर घट्दै थियो। यसपालि भने यो अघिल्लो वर्षको तुलनामा  नकारात्मक नै भएको छ। अर्थात् गत वर्ष भदौदेखि मंसिरसम्म जति पैसा नेपालीले घर पठाएका थिए, यो वर्ष त्योभन्दा थोरै पठाए।

अघिल्लो वर्ष २ खर्ब ३२ अर्ब रुपैयाँ आएको थियो भने यो वर्ष सोहीअवधिमा २ खर्ब २८ अर्ब रुपैयाँ आएको छ।

दशैं तिहारजस्ता चाडपर्वको मुखमा सबैभन्दा धेरै आउनुपर्ने त्यस्तो विदेशी मुद्रा यो वर्ष यही समयमा कम आयो।

आर्थिक वर्ष २०७१/०७२ देखि निरन्तररूपमा रेमिट्यान्सको वृद्धिदर घटिरहेको छ। २०७०/ ०७१ मा सबैभन्दा बढी २५ प्रतिशतले बढेको उक्त आय त्यसपछिका वर्षमा उकालो लागेको छैन।

विदेशमा कमाएर पठाउने त्यस्तो रकम घट्नुको मुख्य कारण कामको खोजीमा विदेशिने संख्यामा कमी आउनु हो। विगत तीन वर्षदेखि त्यस्ता कामदारको संख्या घटिरहेको छ।

चार वर्षअघि काम खोज्दै विदेश जानेको संख्या ५ लाख २७ हजार थियो भने तीन वर्षअघि त्यो घटेर ५ लाख १२ हजारमा झर्‍यो। दुई वर्षअघि ४ लाख १८ जना कामका लागि विदेश गएका थिए भने पछिल्लो वर्ष यो संख्या थप घटेर ३ लाख ९८ हजारमा झर्‍यो।

काम गर्न जाने नै लगातार घट्न थालेपछि विदेशबाट आउने आम्दानी पनि घट्ने नै भयो।

आगामी दिनमा रेमिट्यान्स अझै घट्न सक्ने सम्भावना बलियो हुँदै गएको छ। डलर बलियो हुँदै गएकोले मात्र रेमिट्यान्स धेरै घटेको नदेखिएको हो। डलर कमजोर हुने बित्तिकै नेपाल आउने आय झनै कम हुनेछ।

राष्ट्र बैंकका अधिकारीहरू भने अब रेमिट्यान्स यो भन्दा तल नझर्ने बताउँछन्।

माथिबाट तल झर्नुसम्म झरिसकेको र अब यही नै अन्तिम विन्दु भएको राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाको तर्क छ।

‘रेमिट्यान्स र वैदेशिक रोजगारबाट नेपाल र नेपालीले लिनसक्ने लाभको उच्चविन्दु हामीले पार गरिसक्यौं’ उनले भने, ‘अब, यो बढ्दैन, स्थिरतातिर जान्छ।’

रेमिट्यान्स घट्दै जाँदा यसले अर्थतन्त्र र समाजमा धेरै प्रभाव पार्नेछ। तत्काल प्रमुख प्रभाव भने मुलुकको विदेशी मुद्राको संचितमा हो। मुलत: रेमिट्यान्सबाट कमाएको विदेशी मुद्रा नै खर्च गरेर हामी सामान आयात गर्छौं। नेपालले अार्जन गर्ने विदेशी मुद्राको २६ प्रतिशत रेमिट्यान्सले धान्छ। यो निरन्तर घट्दै जाँदा त्यसले अर्थतन्त्रमा प्रभाव पार्ने डा. शंकर शर्माको भनाइ छ।

‘गरिबी निवारणमा ५० प्रतिशत भूमिका रेमिट्यान्सकै हो’ शर्माले भने,‘रेमिट्यान्सले उपभोग बढायो, त्यसबाट आयात बढ्यो अनि राजस्व पनि। यो घटेपछि ति सबै क्षेत्र प्रभावित हुन्छन्।’

तर पूर्व अर्थसचिव रामेश्वर खनाल रेमिट्यान्स र वैदेशिक रोजगारीको संख्या सरकारले घटाउँदै लिनुपर्नेमा आफैं घटेर राम्रो भएको बताउँछन्।

‘रेमिट्यान्स घटेर खुसी पो हुनुपर्छ’ खनालले भने,‘यसले गर्दा स्वदेशकै उत्पादकत्व बढ्छ। स्वरोजगारी उत्तिकै बढ्छ। अनि यसबाट घाटाभन्दा फाइदा धेरै छन्।’

रेमिट्यान्सकै कारण धेरैमा उपभोगको लत लागेको छ। त्यसको कारण विदेशमा रोजगारी नपाए पनि स्वदेशमै जे पनि गर्न ऊ तयार हुन्छ। त्यसैले ऊ उत्पादनमा सहभागी हुन्छ भन्ने उनको धारणा छ।

‘विदेश जान पाएन तर उसले हिजो बोर्डिङ पढाउन राखेको छोरी त निकाल्दैन’ उनले भने,‘बरु उसले चिनियाँ जुत्ताको साटो गोल्डस्टार लगाउँछ, अनि यसबाट महँगा विदेशी वस्तुको खपत पनि कम हुन्छ।’

रेमिट्यान्सको प्रभाव कति थियो? त्यो कसरी घट्दै छ र त्यसले कस्तो प्रभाव पार्नसक्छ? भन्ने विषयमा सरकारले अनुसन्धान गरेर नीति बनाउनुपर्ने शर्माको सुझाव छ।

‘रेमिट्यान्स घट्दै छ भन्ने कुरा विगत केही वर्षदेखि संकेत देखिएकै थियो। त्यसको अहिलेसम्म अध्ययन भएको छैन’ उनले भने,‘यसमा अबको काम भनेको देशभित्रै रोजगारी र वैदेशिक लगानी हो।’

शोधानन्तर स्थिति स्वस्थ राख्न पनि वैदेशिक लगानी, आयात प्रतिर्स्थापन जस्ता काममा सरकारको ध्यान हुनुपर्ने खनालको भनाइ छ।

घट्दो रेमिट्यान्सको अर्को प्रभाव सरकारले प्राप्त गर्ने राजस्वमा पर्नेछ। रेमिट्यान्सको ठूलो हिस्सा विदेशबाट भित्रिने सामान आयातमा खर्च हुन्छ। अायातमा लाग्ने कर राजस्वको ठूलो स्रोत हो।

अर्थ मन्त्रालयका अनुसार २०७१/७२ को कूल राजस्वमा भन्सार राजस्व हिस्सा १७ प्रतिशत थियो। त्यसपछिका वर्षमा उक्त हिस्सा कम हुँदै गएको छ। पछिल्ला दुई वर्षमा १६ र १४ प्रतिशत थियो।

पछिल्ला केही वर्षदेखि आयात वृद्धिदरमा कमी आएबाट पनि यस्तो सम्भावनालाई नकार्न सकिन्न।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.