तीन सातापछि नेप्से परिसूचक हरियो, ४४ अंकको सुधार


सेयर बजारको परिसूचक नेप्से करिब तीन सातापछि हरियो अंकमा देखिएको छ।

सोमबार एकै दिन नेप्से परिसूचक ४४. २२ अंकले बढेर १४३४ अंकमा कायम भएको छ। यसअघि मंसिर २७ यता नेप्से परिसूचक रातो अंकमा रहँदै आएको थियो।

तीन सातासम्म घटेको बजारमा सेयरको मूल्य सस्तो हुँदा एकै पटक लगानीकर्ताले लगानी बढाए। जसका कारण परिसूचकमा भारी अंकको वृद्धि हुन गयो। कारोबार सुरु हुँदादेखि नै बढेको बजार अन्तिम समयसम्म कायम रह्यो।

यसअघि लगानीकर्ता संघका प्रतिनिधी तथा बैंकर्स एसोसिएसनबीच भएको छलफलमा सेयर बजार प्रतिकुल पर्नेगरी व्याजदर नबढाउने सहमति भएको थियो। सोहीअनुसार बैंकर्स एसोसिएसनमा १२ प्रतिशतभन्दा बढी व्याजदर नदिने भद्र सहमति समेत भएको थियो।

त्यस्तै मार्जिन कर्जाको सीमा बढाउन पहल गर्न पनि एसोसिएसन सहमत भएको थियो। अर्कोतर्फ राष्ट्र बैंकले तरलताको चापलाई कम गर्न पुनः १० अर्ब बैंकिङ प्रणालीमा पठाउने भएपछि बजार सुधारमा टेवा पुग्यो।

राष्ट्रपतिले हालै अध्यादेश जारी गरिसकेकाले सरकार गठनको प्रक्रिया सहज हुने अनुमान लगानीकर्ताको छ। जसले गर्दा पनि बजार वृद्धिमा टेवा पुगेको लगानीकर्ता बताउँछन्।

यस दिन बजारमा ४९ करोड ४३ लाखको कारोबार भयो। अन्यबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक १ अंकमुनि रातो रह्यो। बिमा २७०, होटल १११, बैंकिङ ४२, व्यापार २, विकास बैंक ४५, जलविद्युत ५९, फायनान्स १३, उत्पादन २५ र माइक्रोफाइनान्स उपसूचक ६९ अंकले बढे। बजारको पुँजीकरण १६ खर्ब ६९ अर्ब पुगेको छ।

कारोबारका आधारमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। शतप्रतिशत बोनसपछि कम्पनीको आइतबार मात्रै मूल्य समायोजन भएको थियो। समायोजित मूल्य सस्तो भएपछि मध्यम लगानीकर्ता समेत सो कम्पनीमा तानिए। जसले गर्दा २ करोड ८८ लाखको कारोबार भयो।

उसको सेयर मूल्य प्रतिकित्ता १०३३ रुपैयाँ कायम भएको छ। २ करोठ ६७ लाखको कारोबार भएको प्रभु बैंकको मूल्य प्रतिकित्ता ३२५ कायम भएको छ। नेपाल लाइफ इन्स्योरेन्स, बुटवल पावर संस्थापकको कारोबार पनि उच्च रह्यो।

राष्ट्रिय बिमा कम्पनी संस्थापक तथा साधारणतर्फको सेयर मूल्य सबैभन्दा धेरै साढे ८ प्रतिशतले बढेको छ। वर्ल्ड मर्चेन्ट बैंकिङ, मिथिला लघुवित्त, हिमालयन बैंकका लगानीकर्ता नाफाका आधारमा अगाडि रहे।

समग्र बजार बढ्दा पनि पूर्णिमा विकास बैंकका लगानीकर्ताले ३ प्रतिशत गुमाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.