वित्तीय स्थिति कमजोर भएका जलविद्युत कम्पनीको सेयर निश्कासनमा कडाइ


नेपाल धितोपत्र बोर्डले वित्तीय स्थिति कमजोर भएका जलविद्युत कम्पनीहरुको सार्वजनिक निश्कासनमा कडाइ गरेको छ।

त्यस्ता कम्पनीहरुले सञ्चालन अवधि तीन वर्ष व्यतित भैसकेको अवस्थामा सोही अवधिको र तीन वर्ष नपुगेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति तथा आम्दानी खुलाउनु पर्नेछ।

प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि, क्रेडिट रेटिङ्गको ग्रेड पनि स्पष्ट खुलाउनुपर्ने व्यवस्था बोर्डले गरेको छ।

संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनको तालिकामा प्रस्तुत गर्नुपर्ने छ।
साथै प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई बार्षिक प्रतिवेदनमा प्रस्तुत गर्नुपर्नेछ।

सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्नुपर्नेछ।

क्रेडिट रेटिङ्ग कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्यभन्दा कम भएमा त्यस सम्बन्धी विवरण निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनको लागि प्रकाशन गर्ने आह्वानपत्र लगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.