यसरी हुँदैछ पेट्रोल–डिजेल गाडी युगको अन्त्य


विश्वकै ठूला अटोमोबाइल कम्पनीमध्येको एक भोल्भोले यही असार २१ गते गरेको निर्णयले समग्र अटोमोबाइल क्षेत्रलाई चकित पार्‍यो। स्विडेनको उक्त कार कम्पनीले घोषणा गर्यो— सन् २०१९ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडी उत्पादन नगर्ने।

संयोगले त्यसको भोलिपल्टै युरोपको अर्को मुलुक फ्रान्सले सन् २०४० देखि पेट्रोल-डिजेल कारमा प्रतिबन्ध लगाउने घोषणा गर्‍यो।

खनिज इन्धनले चल्ने सवारी उत्पादनमा रोक लगाउने फ्रान्स पछिल्लो देश हो।

यसअघि जर्मनी, नेदरल्यान्ड्स र नर्वेले २०३० अघि नै त्यस्ता गाडीमा प्रतिबन्ध घोषणा गरिसकेका छन्। नर्वे र नेदरल्यान्ड्सले त सबैलाई उछिन्दै २०२५ देखि नै त्यस्ता कार नचलाउने बताएका छन्।

स्तरीय अटोमोबाइल उत्पादनमा अग्रणी मानिने जर्मनीले पनि २०३० सम्म मात्र पेट्रोल-डिजेल गाडी उत्पादन गर्ने सीमा तोकेको छ। बिएमडब्लु, मर्सिडिज, अडी, फक्सवागन, पोर्सेजस्ता चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादक जर्मनीमा २०३० पछि त्यस्ता गाडी आयात, निर्यात वा बिक्री गर्न पाइने छैन।

यति मात्र होइन, जर्मनीको संसदले युरोपियन युनियनमै यो नियम लागू गर्न अनुरोध गरिसकेको छ। यसमा सबै सदस्य राष्ट्र सकारात्मक छन्।

यसले के देखाउँछ भने खनिज इन्धन बालेर धुवाँ फाल्दै गुड्ने गाडीका दिन अब धेरै छैनन्। यहाँसम्म कि भारतले पनि चाँडै नै २०३० देखि लागू हुने गरी पेट्रोल-डिजेल गाडीमा प्रतिबन्ध घोषणा गर्ने अनुमान गरिएको छ।

त्यसो हो भने के अब पेट्रोल-डिजेल गाडीको युग अन्त्य हुँदैछ? अनि करिब १० वर्षभित्रै पेट्रोल-डिजेल गाडीको अन्त्यका लागि अटोमोबाइल उद्योग तयार भइसक्यो?

सबभन्दा पहिला, विकल्पको कुरा गरौं।

अबको १० वर्षपछि गाडीहरु विद्युत, हाइड्रोजन वा धुवाँ नफाल्ने अन्य हरित ऊर्जाले चल्नेछन्। यीमध्ये सबैभन्दा सरल र अहिल्यै प्रयोगमा आइसकेको मुख्य विकल्प विद्युतीय ऊर्जा नै हो। विद्युतीय कारको अनुसन्धान र उत्पादनमा अटोमोबाइल उद्योग धेरै अघि बढिसकेको छ।

त्यसैको पछिल्लो उदाहरण हो, भोल्भो।

भोल्भोले पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गरेसँगै विद्युतीय गाडीमा केन्द्रित हुने बताएको छ। महँगा विद्युतीय कार उत्पादन गर्दै आएको अमेरिकी कम्पनी टेस्लाले अहिलेको भन्दा आधा सस्तोमा ‘मोडल–थ्री’ उत्पादन गर्दैछ।

टोयोटा, बिएमडब्लु, सेब्रोले, फियाट, होन्डा, किया, मर्सिडिज बेन्ज, मित्सुबिसी, निसान, रेनो र फक्सवागनजस्ता संसारकै अग्रणी अटोमोबाइल उत्पादक पनि विद्युतीय कार उत्पादन गर्ने सूचीमा पर्छन्। यसको मतलब, पहिले जुन कम्पनीहरू खनिज इन्धनमा आधारित गाडी बनाउँथे, उनीहरु नै नयाँ युगको पनि नेतृत्व लिने होडबाजीमा छन्।

यसरी हेर्दा पेट्रोल–डिजेल कारलाई विद्युतीय कारले पहिलोपटक विस्थापित गर्न लागेजस्तो देखिन्छ। तर, यो त विद्युतीय कारले पेट्रोल-डिजेल कारसँग बदला लिन लागेको हो। कुनै समय विद्युतीय इन्जिनलाई विस्थापित गरेर जसरी पेट्रोल–डिजेल गाडी युगको सुरुआत भयो, आज त्यही कथा उल्टो दिशामा घुमेको मात्र हो।

संसारमा सबैभन्दा पहिले त विद्युतबाट चल्ने गाडी नै बनेका थिए। सन् १८३७ मै रोबर्ट डेबिडसनले पहिलो विद्युतीय कार बनाएका थिए। उनले बनाएको सरसामान बोक्ने रिक्साजस्तो कार बिजुलीबाट चल्थ्यो।

पहिलो व्यवहारिक चारपांग्रे विद्युतीय सवारी उत्पादनको श्रेय भने अमेरिकी नागरिक थोमस ड्याभेनपोर्टलाई जान्छ। विद्युतीय सवारीलाई खुला रूपमा अपनाउने पहिलो देश पनि अमेरिका हो।

सन् १९१२ को तथ्यांक हेर्ने हो भने अमेरिकामा गुड्ने सवारीमध्ये स्टिम इन्जिन ४०, विद्युतीय ३८ र ग्यास २२ प्रतिशत थिए।

विद्युतीय सवारीप्रति त्यतिबेला हलक्कै चासो बढ्यो, जब सन् १८९७ मा न्यूयोर्क सहरमा विद्युतीय ट्याक्सी चल्न थाले। त्यस्तै ट्याक्सी लन्डनमा पनि त्यसै वर्ष गुडेका थिए।

विद्युतीय इन्जिनको विकासक्रम त्यतिखेर पछि पर्‍यो, जब खनिज इन्धनको प्रयोग सस्तो, सुलभ, तीव्र र किफायती साबित भयो। यसले पेट्रोल–डिजेल गाडी उत्पादनको रफ्तार बढायो, विद्युतीय कार विस्तारै ओझलमा परे।

त्यो बेलाका विद्युतीय सवारी धेरै महँगा थिए। बढीमा ३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा मात्र चल्थे। लामो दुरी पार गर्न असम्भवझैं थियो।

खनिज इन्धन सहज उपलब्ध हुन थालेपछि द्रुत गतिमा चल्ने, लामो दुरी पार गर्न सक्ने, किफायती कार बन्न थाले। यस्ता किफायती पेट्रोल–डिजेल गाडीले विद्युतीय गाडीलाई सर्लकै पन्छाइदियो।

अहिले इतिहास दोहोरिने क्रममा छ। विद्युतीय गाडी पेट्रोल–डिजेल गाडीलाई विस्थापित गर्ने क्रममा छन्।

विद्युतीय सवारीको प्राविधिक विकास पनि तीव्र गतिमा अघि बढेको छ। गति र सुविधाको हिसाबले यसमा विकास र अनुसन्धानका थुप्रै काम बाँकी छन्, तर पेट्रोल–डिजेल गाडीलाई टक्कर दिनसक्ने गरी विकास भएका विद्युतीय कार सडकमा ओर्लिसकेका छन्।

अहिलेका अधिकांश विद्युतीय गाडीमा हामीले चलाउने स्मार्टफोन, ट्याब्लेट, ल्यापटपमा जस्तै लिथियम आयन ब्याट्री प्रयोग हुन्छन्। यी ब्याट्रीको मूल्य पहिलेभन्दा ८० प्रतिशतले कमी आएको छ। यति कम हुँदा पनि यो सर्वसुलभै हुने गरी सस्तिएको भने छैन। त्यही भएर अहिलेसम्म अधिकांश ग्राहकको पहिलो रोजाइ विद्युतीय कार बनेको छैन।

तर, सधैं यस्तो रहने छैन।

टेस्ला, भोल्भो लगायत अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनीहरूले जुन रफ्तारमा अनुसन्धान अघि बढाउँदैछन्, त्यसले विद्युतीय गाडीको भविष्य फेरिँदै छ भन्ने देखिएको छ। थोरै मात्रामा विद्युतीय कार उत्पादन गर्दै आएका प्रमुख कम्पनीले पनि केही समयभित्रै ठूलो परिमाणमा उत्पादन थाल्ने योजना बुनिसकेका छन्।

पछिल्लो समय तीव्र गतिमा चल्ने र लामो दुरी तय गर्न सक्ने विद्युतीय कारमा सेब्रोले करभेट, लोला ड्रेसन रेसिङ बी १२–६९, टेस्ला मोडल–एस९०डी, रिम्याक कन्सेप्ट वान, सेभी भोल्ट, टेस्ला रोडस्टर, डिट्रोइट इलेक्ट्रिक एसपी पर्छन्। यी कारले शक्तिशाली पेट्रोल–डिजेल इन्जिनसँग सिधै प्रतिस्पर्धा गर्न सक्छन्।

उदाहरणका लागि, हामीले देखेको शक्तिशाली गाडी टोयोटाको ल्यान्डक्रुजर प्राडोलाई लिउँ। पछिल्लो मोडलको प्राडोको अधिक गति १८० किलोमिटर प्रतिघन्टा छ। यसले १०.९ सेकेन्डमै शून्यबाट १०० किलोमिटरको रफ्तार पक्रन सक्छ भन्ने कम्पनीको दाबी छ।

त्यस्तै, २९८२ सिसीको यो इन्जिनले १७०.३० हर्सपावरसम्म शक्ति र ४१० न्यूटन मिटरको टर्क उत्सर्जन गर्छ। ८७ लिटरको इन्धन ट्यांकी भएको प्राडो एक लिटरमा ७ किलोमिटर कुद्छ। यस हिसाबले पूरै इन्धन सकिँदा हामी प्राडोबाट सामान्य अवस्थामा करिब ६०९ किलोमिटर दुरी तय गर्न सक्छौं।

अब यत्तिकै स्तरको विद्युतीय कार टेस्ला मोडल–एक्सको यही फिचर हेरौं।

सन् २०१६ को मोडल–एक्स प्राडोभन्दा करिब ३५ प्रतिशत सस्तो छ। यसको इन्जिन शक्ति पनि प्राडोको भन्दा झन्डै दोब्बर छ। ४१७ देखि ५१८ हर्सपावरसम्मको मोडल–एक्समा प्राडोमा हुने अधिकांश सुविधा समावेश छन्।

यसले प्राडोभन्दा छिटो २.९ सेकेन्डमै शून्यबाट ९६ किलोमिटरको रफ्तार समात्न सक्छ। एकपटकको चार्जमा यसले ४६५ किलोमिटरसम्म दुरी पार गर्न सक्छ। कम्पनीले यसको ब्याट्री आधा चार्ज हुन २० मिनेटभन्दा कम समय लाग्ने र पूरा चार्ज सकिएको बेला करिब १० घन्टामा हुने बताउँदै आएको छ।

ब्याट्री चार्ज गर्न कतिसम्म सहज बन्दै गएको छ भने, विद्युतीय कारको बजार राम्रो भएका देशमा ठाउँठाउँमै ‘चार्जिङ प्वाइन्ट’ राखिन थालेका छन्। चार्ज सकिएर ठाउँ–कुठाउँ अलपत्र पर्ने समस्या नआओस् भनेर सम्बन्धित कम्पनीहरूले नै यस्ता प्वाइन्टहरू विस्तार गरिरहेका छन्। अमेरिकाले आगामी १० वर्षमा देशभरि २ देखि ३ हजारवटा चार्जिङ प्वाइन्ट थप्ने योजना सार्वजनिक गरिसकेको छ।

यसरी २० मिनेटमै आधा चार्ज हुनसक्ने टेस्ला मोडल–एक्स जस्ता कार नै नयाँ युगका प्रतिनिधि कार हुनेछन् भन्नेमा वैज्ञानिकहरू सहमत छन्।

मोडल–एक्स एक उदाहरण मात्र हो, योभन्दा निकै शक्तिशाली विद्युतीय कार उत्पादन भइसकेका छन्। र, विश्वका केही देशका चिल्ला सडकमा कुद्न थालिसकेका पनि छन्।

केही यस्ता शक्तिशाली विद्युतीय कारका उदाहरण हेरौं।

मोडल हर्सपावर अधिक गति (किलोमिटर प्रतिघन्टा)
सेब्रोले कोरभेट ४६० २८१
लोला ड्रेसन रेसिङ बी १२/६९ ८५० ३२०
रिम्याक कन्सेप्ट वान १००८ ३५५
ब्लड सेड जम्बी २२ ८०० २८०
डिट्रोइट इलेक्ट्रिक एसपी १ २०४ २५०

यस्ता विद्युतीय कारको प्रवेशपछि पेट्रोल–डिजेल इन्जिनमा केही देशले प्रतिबन्ध लगाउन सुरु गर्नु अब अनौठो रहेन। र, त्यत्तिकै अनौठो रहेन भोल्भोजस्तो कम्पनीले पेट्रोल–डिजेल इन्जिन उत्पादन बन्द गर्ने निर्णय गर्नु।

भोल्भोका दुई मोडलका विद्युतीय कार अहिले नै ग्राहकको रोजाइमा परिसकेका छन्। अबका दुई वर्षमा उसले ५ नयाँ मोडल उत्पादन गर्ने घोषणा गरिसकेको छ।

जर्मन सरकारले बिहीबार नै आफ्ना अग्रणी अटो कम्पनीहरुलाई कसरी प्रदूषण कम गर्न सकिन्छ भन्नेबारे छलफल गर्न बोलाइसकेको छ। उसले यो बैठक आगामी महिना बस्ने निर्णय गरेको छ।

यी सबै हेर्दा अब धुवाँ फाल्ने गाडी छाडेर प्रदूषणरहित कारमा सफर गर्ने दिन धेरै टाढा देखिँदैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.