धुलाम्य र हिलाम्य भएका गाडी उपत्यका छिर्दा धोएरमात्र छिर्नुपर्ने


धुलाम्य र हिलाम्य भएका सवारी साधन उपत्यका भित्र्न नपाउने नयाँ नियम लागु हुने भएको छ। यातायात ब्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतका सरोकारवाला संस्थाहरु हिलो र धुलैधुलो भएको गाडी उपत्यका प्रवेशमा रोक लगाउन सहमत भएका छन्।

हिलो र धुलो पखाल्न उपत्यकाका ४ वटा नाका नागढुंगा, फर्पिङ, जगाते र मुड्खुमा वास सेन्टर राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए।

ट्रक, बस, कार जीप, मोटरसाइकल उपत्यका प्रवेश गर्ने अघि हिलो र धुलो छ कि छैन भनेर नाकामा ट्राफिक प्रहरीले जाँच गर्ने लामाले बताए।
नाकाहरुमा राखिन लागेको वास सेन्टरमा पैसा तिरेर आफ्नो गाडी धुनुपर्नेछ। नाकाहरुमा बनाइन लागेको वास सेन्टरमा एक पटकमा १० वटा गाडी धुन सक्ने सुविधा हुनेछन्।

उपत्यका बाहिरबाट आएका सवारी साधन धोएरमात्र भित्र प्रवेश गराउँदा प्रदुषणमा धेरै कमी आउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उपत्यका भित्रका सवारी साधन पनि हिलाम्य र धुलाम्य भए प्रहरीले कारबाही गर्ने भएको छ।

यस्तो नियम लागु गर्नुभन्दा अधि काठमाडौं उपत्यकामा सडक पुर्वाधार पनि निमार्ण गरिने ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौंमा धुलो र प्रदुषण रोक्न नयाँ नियम लगाइन लागेको हो। प्रदुषण रोक्न ट्राफिक प्रहरी महाशाखाले ‘अन द’ स्पट सवारी साधनको प्रदुषण पनि मापन गर्ने भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.