सरकारले सूर्यविनायक रत्नपार्क द्रुत बस सञ्चालनमा ल्याउने तयारी गरेको छ।
आगामी असोज १ गतेदेखि पहिलो चरणमा 'पाइलट प्रोजेक्ट'का रूपमा द्रुत बस सञ्चालन गर्न लागिएको हो।
पाइलट प्रोजेक्ट सफल भए दोस्रो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म यस्तो बस सञ्चालन गर्ने योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ।
त्यसपछि उपत्यकाका अन्य स्थानमा पनि यस्तो बस सञ्चालन गर्ने तयारी सरकारको छ।
उपत्यकामा बढ्दो ट्राफिक जाम व्यवस्थापन तथा सार्वजनिक सवारीमा सहज र छिटो यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो अवधारणा ल्याएको हो।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सरकारले उपत्यकामा 'मास ट्रान्सपोटेशन' ठूला सवारी साधन सञ्चालनमा जोड दिने अवधारणा अघि सारेको बताए।
उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ।
यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभागलगायत सरोकारवालालाई छलफलका लागि बोलाएको थियो।
'छलफलमा मास ट्रान्सपोटेशन चाहिन्छ भन्नेमा हामी पुग्यौं। ६० वटा कारले जति ठाउँ ओगट्छ, त्यति दुइटा सार्वजनिक गाडीले ओगट्दैन। सार्वजनिक गाडी सहज हुने हो भने जाम पनि घट्छ, ट्राफिक व्यवस्थापनमा सहज हुन्छ।,' महानिर्देशक ढकालले भने।
मास ट्रान्सपोटेशन कसरी चलाउन सकिन्छ, यस्तो सेवा उपत्यकाका लागि उपयुक्त होला कि नहोला भनेर विचारका लागि सुरूमा पाइलट प्रोजेक्टका रूपमा अवधारणा अघि सारिएको उनको भनाइ छ।
सार्वजनिक सवारी प्रयोग गर्ने यात्रु गन्तव्य पुग्न निकै कठिन हुन थालेपछि यस्तो बस सञ्चालन गर्न लागिएको हो। अत्यधिक जाम हुँदा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक बसमा डेढ घण्टा समय लाग्ने गरेको छ। द्रुत बस सञ्चालन भएपछि सूर्यविनायकबाट ४५ मिनेटमा रत्नपार्क पुगिने मन्त्रालयले बताएको छ।
यस्तो बस अत्यधिक जाम हुने समय 'अफिस आवर' बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिनेछ।
द्रुत बस चलाउन छुट्टै लेन बनाइनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सचिवालयले यस्तो सेवाका लागि मोबाइल एप पनि बनाइने जनाएको छ।
यात्रुहरूले बस कुन समयमा कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी एपमार्फत् नै पाउँछन् जसले बसको समयअनुसार यात्रुलाई बस स्टप पुग्न सहज बनाउनेछ। पहिलो चरणमा २५ देखि ३० वटा ४० सिटे बस चलाइनेछ। यस्तो बसको रङ समेत फरक हुने मन्त्रालयले जनाएको छ।
बस तथा रोड पर्मिटको काम यातायात व्यवस्था विभागले गर्नेछ।
बस व्यवस्थापनका लागि यातायात व्यवसायीहरूसँग कुरा भइसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले बताए। सडक विभागले द्रुत बसका लागि आवश्यक लेन बनाइसकेपछि बस सञ्चालनका लागि आफूहरू तयारी अवस्थामा रहेको पनेरूको भनाइ छ।
'सुरूमा त सडक विभागले आवश्यक सडक मार्किङ गर्न पर्यो। बस पार्किङका लागि ठाउँ बन्नुपर्यो, हामी त तयारी अवस्थामा छौं,' उनले भने।
सडक विभागले लेनको काम सुरू गरिसकेको महानिर्देशक ढकालले बताए। विभागले द्रुत बसका लागि पनि अहिलेको सडकमा भइरहेकै लेन नै प्रयोग गर्नेछ।
विभागले सूर्यविनायकबाट तीनकुनेसम्म मुख्य लेनको एक लेनलाई द्रुत बस सञ्चालनका लागि छुट्याउने छ। तीनकुनेदेखि रत्नपार्कसम्म सर्भिसलेनको एउटा लेनबाट बस चलाइने योजना बनाएको ढकालको भनाइ छ।
'तर सडक विभागले काम गरेर मात्रै यो सम्भव छैन, यातायात व्यवस्था विभागलगायत सम्बन्धित सरोकारवालाको आफ्नो– आफ्नो जिम्मेवारी छ, हामी डेडिकेटेड बसका लागि चाहिने पूर्वाधार निर्माण गर्छौं,' उनले भने।
सम्बन्धित सबैले आफ्नो-आफ्नो जिम्मेवारी पूरा गरेपछि असोज १ गतेबाट द्रुत बस चलाउन सकिने उनले बताए। सडकमा भएका अन्य संरचना नबिग्रिने गरी काम गरिने उनको भनाइ छ।