नियम लत्याउँदै टिप्पर व्यवसायी, सोझा व्यवसायी मारमा


 

केही टिप्पर व्यवसायीले नियम पालना नगर्दा कानून मानेका व्यवसायी भने मारमा परेका छन्।

केही व्यवसायीले यातातात व्यवस्था विभागले कायम गरेको मापदण्ड पुरा नगरेको र ट्राफिक प्रहरीले समेत त्यसबारे चासो नदेखाएको पीडित व्यवसायीको आरोप छ।

विभागले ६ चक्के टिप्परको लागि ढालाको आयातन ७.५ घनमिटर, १० चक्के टिप्परको लागि १२ घनमिटर निर्धारण गरेको छ।

तर केही व्यवसायीले मनलाग्दी ठूला ढाला राख्दा अफ्नो व्यवसाय नै धरापमा परेको दाङका टिप्पर व्यवसायी हिमाल पोखरेल बताउँछन्।

‘हाम्रो टिप्पर सरकारको मापदण्ड अनुसार छ, तर प्रयोगकर्तालाई उही भाडा दरमा धेरै सामान अट्ने भएपछि हाम्रा टिप्पर प्रयोग गर्न चाहन्नन्, नियम त सबैले मान्नु पर्ने हो नि’ उनले भने।

यो समस्याप्रति प्रशासनले समेत ध्यान नदिएको उनले गुनासो पोखे। यसको लागि यातायात ब्यवस्था विभागको टोली अनुगमनमा जाँदा ढाला घटाउने तर पछि बढाउने कार्य मौलाएको पोखरेलले जानकारी दिए। यस्तो काम दाङ, इटहरी, बुटवल लगायतका क्षेत्रमा धेरै मौलाएको बताइएको छ।

सरकारको मापदण्डले दुर्घटना तथा टिप्परको टुट्फुटमा कमी अएपनि धेरै ब्यवसायीले नियम पालना नगर्दा पालना गर्नेहरु समस्यामा परेकोे ब्यवसायी कैलाश ओली बताउँछन्।

‘टिप्परको काम गिट्टी बालुवा बोक्न धेरै प्रयोग हुन्छ, प्रयोगकर्ताले पनि धेरै बोक्न सक्ने टिप्पर प्रयोग गर्ने हो, यसरी नियम कायम नहुँदा कानुनको अधिनमा रही काम गर्नेलाई मर्का परेको छ’ उनले सेतोपाटीसँग भने।

यो सँगै खानीबाट सामान हाल्दा क्षमताभन्दा धेरै हाल्ने र उपभोक्तालाई दिँदा ढाला काटेर दिने जस्ता ठगी संगठित रुपमै हुँदै आएको पीडितहरुको आरोप छ।

यातायात व्यवस्था विभागले भने यस्तो कार्य रोक्न र कारवाही गर्न तुरुन्त सम्बन्धित ठाँउका कार्यालयलाई निर्देशन दिने प्रतिबद्धता जनाएको छ। विभागका महानिर्देशक रुपनारायण भट्टराइले पीडित ब्यवसायीहरुबाट लिखित रुपमा निवेदन आएमा विशेष टोली नै पठाउने जानकारी दिए।

‘यो समस्या समाधानका लागि हामीले पहिलेदेखि नै लिखित रुपमा निर्देशन दिएका थियौँ, अब हामी त्यहाँका लोकल ट्राफिक प्रहरीसँग सहकार्य गर्छाँै’ उनले भने।

यस्तो कार्य भेटिएको खण्डमा ढाला काट्न लगाई १५ हजार जरीवाना गर्ने भट्टराइले जानकारी दिए।

त्यस्तै भारतीय मालवाहक गाडीहरुले नियम विपरित ओभरलोड सामान बोकेको भेटिएपछि २ गाडीलाई यसअघि जरीवाना गरिएको उनले जानकारी दिए।

‘शुक्रबार बिहान १० बजे नै मेचिदेखी नारायणीसम्मका हाकिमहरुलाई १ हप्तासम्म प्रत्येक भारतीय गाडीहरुलाई तौल पुलमा जाँच्न र बढी लोड भएको सामान झार्न लगाउने तथा लोड काटेर छुट्याउन नमिल्नेलाई पटके दिएर पठाउन निर्देशन दिएको छु’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.