दाङ घोराही उपमहानगरपालिका–१३, तेरौटे गाउँ, वरिपरिको खेतबारी बाँझै छ। त्यही बाँझोकै बीचमा स्थानीय एक परिवारले टमाटर र अन्य तरकारीका बोटले जमिन हराभरा बनाएको छ।
बोटमा टमाटर पहेँलपुर छन्। अहिले टमाटर टिप्ने बेला भएको छ, खेतालाहरूलाई धमाधम छ। कोही टिप्दैछन्, कोही टिपेको भारी ओसार्दै छन्।नजिकै चार वटा गाडी तम्तयार छन्। विभिन्न ठाउँका व्यापारी टमाटर खरिद गर्न खेतबारीमै आउँछन्। गाडी तीनै व्यापारीले ल्याउँछन्।
यो खेती हो ३९ वर्षीय महेश पौडेल र उनका दुई बहिनीहरू स्मृति र स्यान्हाको। उनीहरूले कुल ३५ बिघामा टमाटर खेती गरेका छन्। यसमध्ये १३ बिघाको खर्च र आम्दानी महेशको हुन्छ, बाँकी जमिनको खर्च र आम्दानी दुई दिदीबहिनीको भागमा पर्छ।
खर्च र आम्दानीको हिसाब सगोलमा हुन्छ। बिघाको हिसाबले आम्दानी बाँडफाँट हुन्छ।
गत साताको एक दिन महेशले दुई वटा प्लटबाट प्रतिकिलो ५० रुपैयाँका दरले ८ सय किलो टमाटर बेचे। हाल दैनिक कम्तीमा ५ सय किलो बेच्दै छन्।
टमाटर लिन व्यापारीका गाडी बारीनजिकै लाम लागेका हुन्छन्। आसपासका खेत बाँझै बसेका बेला दाजुबहिनीले हिम्मत र मिहिनत गर्दा केही पनि असम्भव छैन भन्ने प्रमाणित गरेका छन्।
उनीहरूले यो सिजनमा ‘कर्मा ९९९’ जातको टमाटर लगाएका छन्। सिजन अनुसार अन्य तरकारी पनि छ।
‘हाम्रो खेतबारीमा दैनिक कम्तीमा पनि एक सयजना काम गर्छन्,’ महेश भन्छन्, ‘बिरुवा रोप्ने र गोड्ने समयमा झन् धेरै कामदार चाहिन्छ।’
अधिकांश कामदार स्थानीय महिला हुन्छन्। पुरुष थोरै हुन्छन्। एक जनाले आठ घण्टा कामको दैनिक साढे सात सय रुपैयाँ पारिश्रिमक पाउँछन्।
उनीहरूले खेती गरेको सबै जग्गा वार्षिक १० प्रतिशले वृद्धि हुने गरी दश वर्षका लागि भाडामा लिएका हुन्। यस वर्ष प्रतिकट्ठा वार्षिक ३ हजार ६५० रुपैयाँ तिर्दै छन्।
टमाटर दाङका बजारका अतिरिक्त बुटवल, नारायणगढ, पोखरा, भैरहवा, कोहलपुर, सुर्खेत, लम्की, अत्तरिया, धनगढी, महेन्द्रनगरसम्म पुग्छ। त्यहाँका व्यापारीले बारीबाटै उठाउँछन्।
महेश बेर्ना बनाउँदैनन्, सबै किनेरै रोप्छन्।
आफैले बेर्ना बनाउँदा सजिलो र सस्तो हुन्थ्यो होला नि?
यसमा उनी प्रष्ट छन्।
भन्छन्, ‘हामी टमाटर उत्पादनमा मात्र केन्द्रित छौं। बेर्नामा लाग्दा अर्कोतिर पुगिएला भनेर एउटै काममा लागेका हौं।’
खर्च कति लाग्छ?
मासिक २४ लाख रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए। जमिनको अधिकांश हिस्सामा टमाटर लगाएका छन्। सिजन अनुसार करेला, बन्दा, काँक्रा, खुर्सानी, भेडे खुर्सानी, भन्टा लगायतका तरकारी लगाउँछन्।
दाजुबहिनी तीनैजना पढालेखा हुन्। महेशले अंग्रेजी विषयमा स्नातकोत्तर तह पूरा गरेका छन्। दुबै बहिनीले उच्च शिक्षा हासिल गरेका छन्।
महेश र जेठी बहिनी स्मृति पूर्णरूपमा खेतीमा खट्छन्। कान्छी बहिनी स्यान्हा विद्यालय शिक्षक हुन्। खेतीमा उनका श्रीमान् नारायण पोख्रेल खट्छन्। नारायणले बेलायतबाट कृषि विषयमा स्नातक तहको पढाइ पूरा गरेका छन्।
खेती कुल ३५ बिघामा भए पनि सबै एकै ठाउँमा छैन। सबैतिर पुगेर हेरचाह गर्ने जिम्मेवारी महेशको छ। भन्छन्, ‘सबैतिर हेरचाह गर्ने मै हुँ। मोटरसाइकल चढेर छिनछिनमा चक्कर लगाइरहन्छु।’
खेती वडा नम्बर १६ को तेरौटेमा छ। महेशको घर साढे सात किलोमिटर टाढा वडा नम्बर १८, मसिनामा छ। उनी हरेक दिन बिहानै तेरौटे आइपुग्छन्। साँझ परेपछि मात्रै घर फर्किन्छन्।
बहिनीहरूलाई खेतीमा प्रोत्साहित गर्ने पनि उनै हुन्। उनी आफू भने बुबाको प्रेरणाले व्यावसायिक खेतीमा आकर्षित भएका हुन्।
बुबा ऋषिराम पनि मसिना गाउँमा ४ बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै छन्। बुबाले यसरी खेती गरेको ४० वर्ष भयो।
महेशका अनुसार मसिना गाउँ टमाटर खेतीको पकेटक्षेत्र जस्तै भएको छ। यहाँ व्यावसायिक रूपमा तरकारी खेतीमा प्रेरित गर्ने पनि ऋषिराम नै हुन्।
उनी भन्छन्, ‘आज मसिनामा प्रत्येक परिवार बाह्रै महिना तरकारी खेती गर्छन्। यो गाउँलाई तरकारीको पकेटक्षेत्र भन्दा फरक पर्दैन।’
मसिनाका सबै घरपरिवार व्यावसायिक तरकारी खेती गर्ने भएकाले भाडामा जग्गा पाउन मुस्किल छ। महेश जग्गा खोज्दै साढे सात किलोमिटर टाढा तरौटे पुगेका हुन्।
महेशले कृषिमा काम सुरु गरेको २० वर्ष हुन लाग्यो। महेन्द्र बहुमुखी क्याम्पस, घोराहीमा पढ्दा नै उनी बुबाका साथमा खेतीमा लागेका थिए। पढाइबाहेकको सबै समय खेतीमै बिताउँथे।
अंग्रेजी विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेपछि कलेजमा पढाउन धेरैतिरबाट आग्रह आइरह्यो तर उनले कृषिमै लाग्ने विचार गरे।
उनले भने, ‘बुबालाई सघाउनु मेरो कर्तव्य थियो। कृषिमै ध्यान थियो, अन्त मन नै गएन।’
बुबा ऋषिरामले सुरुमा दाङकै सिसहनियामा तरकारी खेती गरेका थिए। बाँकेको कोहलपुर र पाल्पामा पनि खेती गरे। यी ठाउँमा महेश पनि पुगे।
उनले भने, ‘बुबाले २० वर्षअघि पाल्पामा खेती गर्नुभएको थियो। अनुकूल हावापानी खोज्दै जाँदा त्यहाँ पुग्नुभएको थियो। कोहलपुर पनि त्यसरी नै पुग्नुभएको थियो।’
अन्ततः ऋषिराम आफ्नै ठाउँ घोराहीको मसिनामै केन्द्रित भए।
कृषक बाबुका छोरा महेश पनि कृषिमै लागे। उनले बहिनीहरूसँग मिलेर व्यावसायिक खेती सुरु गरेको ५ वर्ष भयो। उनीहरूको ‘नवीनतम कृषि फर्म’ दर्ता छ।
कस्तो छ त तरकारी खेतीको कमाइ?
महेशले खर्चको सामान्य हिसाब बताए पनि आम्दानीबारे खुलेर बताएनन्। उनले भने, ‘भाउ राम्रो छैन। यसपालि त बराबरी (खर्च र आम्दानी) मात्रै होला जस्तो छ।’
महेशले पूरै ३५ बिघामा थोपा सिँचाइको प्रबन्ध गरेका छन्। उनका अनुसार यो इजराइली प्रविधि हो। भूमिगत पानी तानेर सिँचाइ गर्छन्।
कृषकका लागि राज्यले तत्कालै गर्नुपर्ने सहयोग के हो?
महेश भन्छन्, ‘सिँचाइ, बिउ, उपकरण र मलमा राज्यको सहयोग आवश्यक छ। लागत घटाउन पनि सहयोग चाहिन्छ।’
उनका अनुसार भारतीय किसानका तुलनामा नेपाली किसानको लागत धेरै छ। लागत बढी भएपछि नेपाली उत्पादन भारतीयभन्दा महँगो हुन्छ। भारतीय तरकारी निर्बाध नेपाल भित्रिन पाउँदा नेपाली किसान मर्कामा परेका छन्।
महेश भन्छन्, ‘भारतीय किसानको भन्दा बढी लागत नहुने हो भने नेपाली किसानलाई तरकारी खेतीबाट राम्रो लाभ हुने थियो।’
अहिलेसम्मको आम्दानी खेतीमै लगानी गरेको उनले बताए। उनले भने, ‘अलिअलि घरखर्च चलाइयो होला, त्यसबाहेक सबै खेतीमै लगानी भएको छ।’
महेशको खेतीनजिकै अर्का किसान छन् प्रतीकराज लोहनी। उनले चार बिघा जमिनमा कागती खेती गरेका छन्।
‘महेशजीले धेरै राम्रो गर्नुभएको छ। कमाइ जेजस्तो भए पनि उहाँको खेतीमा धेरैले रोजगारी पाएका छन्,’ महेशको तरकारी खेतीबारे प्रतीकराज भन्छन्, ‘उहाँले झाडी फाँडेर तरकारीले हराभरा बनाउनुभएको छ। उहाँ प्रेरक कृषक हुनुहुन्छ।’
महेशको उद्देश्य खेती गरेर पैसा कमाउनु मात्रै होइन, कृषिमा धेरै सम्भावना छ भनेर देखाउनु पनि हो। आफ्ना दुईजना बहिनी साथमा लिएर यसैअनुसार अघि बढेका छन्।