कमल रेग्मीले काठमाडौंको थानकोट र धादिङमा गरी झण्डै ७५ रोपनी क्षेत्रमा तरकारी खेती गरेका छन्। ८ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि उनले तरकारी खेती सुरू गरेका हुन्।
उनी पर्यटन व्यवसायी पनि हुन्। तर कोभिडले गर्दा पर्यटन क्षेत्र ठप्प भयो। त्यसपछि उनको कुनै काम भएन।
'कोभिडको कारण लकडाउन भएपछि मैले तरकारी खेती बढाएको हो। तरकारी खेतीमै पूरै लागेको छु। अर्को सालदेखि पर्यटनमा पनि होला भन्ने लागेको छ,'उनले भने,'अर्को सालदेखि फेरि पर्यटन क्षेत्रमा पनि फर्किन्छु। यो दुवै पेशालाई सँगै लैजान्छु। कृषिमा पनि धेरै राम्रो छ।'
थानकोट निवासी कमलले तरकारी खेतीसँगै बिरूवा पनि उत्पादन गर्छन् र बेच्छन्। वर्षमा ५ देखि ६ लाख तरकारीका बिरूवा बेच्छन्।
गोलभेंडा,काउली,खुर्सानी लगायतका बिरूवा बेच्छन्। तरकारीको बजार राम्रै भएको उनको अनुभव छ। तर बजारलाई औसतमा हेर्नुपर्ने उनको भनाइ छ। 'कोही बेला गोलभेंडा २० रुपैयाँ थियो, अहिले सयमा बिक्री हुन्छ। हामीले औसतमा हेर्नुपर्छ,'उनले भने,'बजारको समस्या छैन। काठमाडौं आसपासका किसानलाई समस्या छैन। बाहिर गर्नेहरूले त कोही बेलामा सडकमै फाल्नुपर्छ।'
सरकारले कृषि अनुदान दिए पनि प्रक्रिया भने झन्झटिलो भएको उनको बुझाइ छ।
'सरकारले कृषिमा अनुदान दिए पनि त्यो धेरै झन्झटिलो छ। ५ लाख अनुदान लिँदा साढे २ लाख त बीचकैले खाइदिन्छन्। त्यही भएर मैले त ब्याजमा आउने अनुदानको ऋण मात्रै लिएको छु।'
उनले अकबरे खुर्सानी विदेशमा समेत पठाउन सुरू गरेका छन्।
तरकारी खेती गर्दा कीरा फट्याङ्ग्राको प्रकोप बढेकोले तरकारीको बिरूवा जोगाउन कठिन भएको उनको अनुभव छ।
'नेपाल सरकारले किसानको हितमा सोच्न सकेको छैन। कोरिया, इजरायल र भारतमा किसानलाई समस्या छैन। उनीहरूले उत्पादन गरेमात्रै पुग्छ तर नेपालमा यस्तो हुन सकेको छैन।'
तरकारी खेती गर्नेहरूले एउटामात्रै खेती गर्नु हुँदैन। त्यस्तो भएमा एउटाको मूल्य नआए अर्कोको मूल्य आउने उनको अनुभव छ।
भिडिओ: