पवन मगर दमक बहुमुखी क्याम्पसको स्नातक तह दोश्रो वर्षका विद्यार्थी हुन्। आमाबुवाले खेतीपाती गरेरै उनलाई पढाइरहेका छन्।
उनको कृषिमा चाँसो त घरैबाट बनेकाे हाे। कक्षाकोठामा सैद्धान्तिक ज्ञान पनि पाए। त्यति मात्रले नपुग्ने ठानेर व्यावहारिक ज्ञानका लागि गाँउकै मैनाचुली कृषक समूहमा आबद्ध भई तरकारी खेती सुरू गरेका छन्।
समूहमा झापाका विभिन्न क्याम्पसमा अध्ययन गर्ने २५ पुरूष विद्यार्थी समावेश छन्।
ग्लोबल बहुमुखी क्याम्पस दमकमा कक्षा १२ मा अध्ययन गर्ने सुदिप मगर पनि मैनाचुली कृषक समुहका सदस्य हुन्। बिहान क्याम्पस जाने, दिउँसो सामुहिक तरकारी खेतीमा समावेस हुने र बेलुका क्याम्पसको गृहकार्यसहित अध्ययन गर्ने तालिका उनले बनाएका छन्।
शनिबार र सार्वजनिक बिदाका दिन कपडा धुने र तरकारी बारीमै रमाउने उनले बताए।
दमक बहुमुखी क्याम्पसमै स्नातकोत्तर अध्ययन गर्दे गरेका सागर राइ उक्त कृषक समुहका अध्यक्ष हुन्। कोरोना महामारीले शैक्षिक संस्था बन्द भएपछि घरमा अध्ययन गर्ने समय बचाएर कृषि समुह गठनको योजना उनैले अघि सारेका थिए।
मैनाचुली गाँउका कक्षा ११ देखि अध्ययन गर्ने अधिकांश युवालाई उनले समुहमा समेटेका छन्। लकडाउनका बेला घर बाहिर निस्कन सरकारले गरेको बन्देजको फाइदा उनीहरूले समूह गठन गरेर उठाए।
समूहका अध्यक्ष सागर भन्छन्, ‘हामीले कागजमा मात्र होइन, स्थानीय शिवसताक्षी नगरमा पनि समूह दर्ता गरेका छौंं। नगरको कृषि शाखाको निर्देशनअनुसार नै सिजनका तरकारी खेती गरिरहेका छौं।’
उनीहरूले स्थानीय एक व्यक्तिको ७ कठ्ठा जग्गा वार्षिक १२ हजार तिर्नेगरी भाडामा लिएका हुन्। उक्त जग्गामा यतिबेला गोलभेडा, घ्यु बोडी, खोर्सानी, लौका, करेला, बन्दाकोभी, फर्सी, भिन्डी लगायतका तरकारी फलेका छन्।
‘बजारसम्म पुर्याउनै पर्दैन, गाउँमै खपत हुन्छ,’ समुहका उपाध्यक्ष दिनेश राइले भने, ‘गएको साउनदेखि सुरू भएको तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिने रहेछ।’
समूहमा २५ जना भए पनि १० जना विद्यार्थीले मात्र दामसहित लगानी गरेर तरकारी खेती सुरू गरेको उपाध्यक्ष दिनेश बताउँछन्।
गाउँमा विद्यार्थीले सामुहिक तरकारी खेती गर्न थालेपछि अग्रज र जनप्रतिनिधिले पनि नगरका अन्य ठाउँमा मैनाचुलीकै विद्यार्थीको उदाहरण दिन थालेका छन्।
सुरूमा २ लाख रूपैयाँ खर्चेर सुरू गरेको तरकारी खेती परम्परागत शैलीमा हुने गरेको छ। गाँउमा खेत जोत्नका लागि रागा-गोरू नभएका कारण ट्याक्टरले एकसरो जोतेपछि विद्यार्थी आफैले कुटो, कोदालो खन्ने गर्छन्।
मैनाचुलीका विद्यार्थी किसानले लगाएको तरकारी बाली शुद्ध अग्र्यानिक हो। गौमुत्र, गोबर लगायतका जैविक मल प्रयोग गरेर बाली सपार्ने गरेको मिलन मगरले बताए।
उनले भने, ‘यो फसलमा जग्गा थोरै भएकाले उत्पादन पनि थोरै भएको हो। दुइ बिगाह जग्गा थपेका छौं। अर्को फसल बजारसम्म पुग्ने गरी हामी तरकारी उत्पादन गर्ने योजनामा छौं।’
शिवसताक्षीका विद्यार्थीमा श्रम गर्नुपर्छ भन्ने भावनाको विकास भएको स्थानीय अभिभावक बताउँछन्। घरका खेतबारीमा बेलाबेला काम गर्ने छोराहरू समूहमा बाँधिएर काम गर्दा उनीहरूका अभिभावक पनि मख्ख छन्।
छोराको कुशलता हेरेर मख्ख परेका पवनका बुवा गणेश पिठाकोटे मगरले भने, ‘छोराले जाँगरका साथ तरकारी खेतीमा काम गरेको देख्दा हाम्रो शेषपछि पनि बेरोजगार भएर भोकै नबस्ने प्रमाणित भयो।’
ज्ञान र सीप भयो भने छोराछोरी कुलतबाट पनि टाढै रहन सक्ने बताए।
तरकारी खेतीमा काम गरिरहेका अधिकांश विद्यार्थीले रोजगारीकै लागि विदेश नजाने बताएका छन्। शैक्षिक योग्यता अनुसारको सीप र क्षमताका लागि विदेश गए पनि साधारण काम र कमाइका लागि विदेश नजाने उनीहरूको भनाइ छ। ८ घन्टा आफ्नै बारीमा काम गर्यो भने विदेशको कमाइलाई जित्ने उनीहरूको अनुभव छ।
‘हामी सबै मिलेर तरकारी लगाएका छौँ, कलेजबाट छिटो आएको बेला तरकारी बारीमै हुन्छौँ। आफूले लगाएको तरकारी गोडमेल र हेरचाह त गर्नै पर्याे नी,’ समुहका अर्का सदस्य सन्दिप मगरले भने, ‘पहिला तरकारी लगाउनेमा खासै चाँसो थिएन। अग्रज दाइ सागरले सामुहिक खेतीमा उत्साहित बनाएपछि आजभोलि फुर्सद भएको समयमा घरमा पनि तरकारी बालिको हेरचाह गर्ने गरेको छु।’
'पढे-लेखेकाले कलम मात्र होइन, कुटो-कोदालो पनि चलाउन जान्नुपर्छ। आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी आफैं उत्पादन गर्नुपर्छ' भन्ने भावना विद्यार्थीमा विकास गराएको मनकामना कलेज बिर्तामोडका शिक्षक नारायणप्रसाद भट्टराईले बताए।
ग्रेड बृद्धि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा आर्जन गर्न गाँउका विद्यार्थी अग्रसर भएकोमा खुसी हुँदै भट्टराइले भने, ‘यस्ता कर्मठ विद्यार्थी किसानलाई सरकारले सहयोग गर्ने कार्यक्रम ल्याउन जरूरी छ।’
पढाइसँगै व्यावहारिक शिक्षामा समेत गाउँका विद्यार्थी अभ्यस्त हुन थालेपछि गाउँमा उनीहरूको चर्चा बढेको छ। उनीहरूको लगाव र परिश्रम गर्ने बानी देखेर अभिभावकसमेत खुशी भएका छन्। सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन गाँउका विद्यार्थीमा आउन थालेको छ।
उनका अभिभावकले भने स्थानीय सरकारसँग गुनासो गरेका छन्। कलेज पढ्ने विद्यार्थीले गाउँमा सामूहिक तरकारी खेती गरेर नगरलाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास गरिरहँदा उनिहरूलाई हौसला र प्रेरणाको अभाव भएको अभिभावकले महसुस गरेका छन्।