यो वर्ष झापामा धान उत्पादन घटेको छ। समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा धान उत्पादन घटेको हो।
तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषी ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत निलकमल शिहले जानकारी दिए।
यो वर्ष साउनको दोश्रो सातादेखी मात्र खेति गर्न योग्य वर्षा भएको थियो। अघिल्ला वर्षमा असार १५ देख नै धान रोपाई हुने गरेको थियो। ढिलो तर पर्याप्त पानी परेकाले खेतियोग्य जमिन बाँझो नरहे पनि धान उत्पादन केही घटेको उनले बताए।
मनसुन लगायत धानलाई आवश्यक मलखादको अभाव हुँदा जिल्लामा धानको उत्पादन केही मात्रामा घटेको हो।
यो वर्ष जिल्लामा ८४,८७५ हेक्टर क्षेत्रमा विभिन्न जातका धानको खेती भएको थियो। केन्द्रका प्रमुख शिहकाअनुसार जिल्लामा ३,८१,९३७.५ मेट्रिकटन धान उत्पादन भएको छ।
समग्र जिल्लामा प्रतिहेक्टर ४.५ मेट्रिकटन धान उत्पादन भएको शिहले बताए।
गत वर्ष जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो।
त्यसताका प्रतिहेक्टर ४.६ मेट्रिकटनका दरले कुल ४,०२,५०० धान उत्पादन भएको थियो। उनले भने, ‘यो वर्ष २,६२५ हेक्टरमा धान खेती भएन। समयमा वर्षा नहुँदा कम्तिमा ५ सय हेक्टर धान खेती निजी वनमा परिणत भए।’
त्यति नै क्षेत्रमा बाटो र स्थायी प्रकृतिका संरचना निर्माण भए।
बाँकी रहेको जग्गामा किसानले मत्स्य पालन, उखु खेती, केरा खेती लगायत वेमौसमी तरकारीबाली लगाएकाले धानको उत्पादन अघिल्ला वर्षको तुलनामा घटेको हो।
गत वर्षको तुलनामा यो वर्ष प्रतिहेक्टर ०.१ मेट्रिक्टनका दरले धान उत्पादन घटेको छ। सबैभन्दा धेरै रञ्जित धानको खेती हुने गरेको झापामा वास्मती, सावा मन्सुली, स्वर्णसव वान, सुख्खा ३, राम धान लगायतका जातको रोपाई हुने गरेको छ।
यद्यपी, रञ्जीत धान नेपालमा सिफारिस भएको छैन। भारतीय धान सोही मुलुकमा समेत प्रतिवन्धित रहेको कृषी विज्ञले बताएका छन्।
जिल्लामा धान उत्पादन घटे पनि शिवसताक्षी नगरमा गत वर्षको तुलनामा वृद्धि भएको छ।
नगरको ५६५६.३३ हेक्टर खेतिमा धान रोपाई हुने गरेको छ। नगरकी कृषी विकास शाखाकी प्रमुख जानुका श्रेष्ठकाअनुसार २७,६१२.६५ मेट्रिकटन धान शिवसताक्षी नगरमा उत्पादन भयो।
उनले भनिन्, ‘प्रतिहेक्टर ४.८८ मेट्रिकटन धान शिवसताक्षी नगरमा उत्पादन भएको छ। गत वर्ष प्रतिहेक्टर ४.७८ मेट्रिकटन धान उत्पादन भएको थियो।’
नगरको वडा नम्बर ३,४, ५, ६ र ७ मा कनकाई सिचाई प्रणालीको नहरबाट पानी सिचित हुने गरेको छ। यस्तै, वडा नम्बर २, ९ र १० मा आंशिक सिचाई हुने गरेको छ।
बाँकी ११, ८ र १ आकासे भरमा खेति हुने वडा हुन्। शिवसताक्षी नगरमा पनि रञ्जित धानको सर्वाधिक रोपाई हुने गरेको छ।