मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ झापामा पनि मनाइएको छ।
बेठी लगाएरै खेतमा धान रोपाइँ गर्दै रोपाहार बीच आपसमा हिलो छ्यापाछ्यापका साथ धान दिवस मनाइएको हो।
असार १५ मा दही चिउरा खाने गरिन्छ। खेतमा आली लगाउने, वाउसे गर्ने, पानी पटाउने जस्ता कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास छ।
खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही च्यूरा खाइ असार १५ मनाउँदैछन्। १६ औं राष्ट्रिय धान दिवस जिल्लाका शिवसताक्षी, कमलगाउँपालिका, कनकाई नगरपालिका, विर्तामोड, दमक, गौरादह, झापा गाउँपालिका लगायतका स्थानीय तहमा मनाइएको छ।
झापाको शिवगञ्जमा स्थानीय नारायणप्रसाद दाहालले १ विगाह ९ कठ्ठा जग्गामा बेठी लगाएर धान रोपे। उनले दही च्यूराको सहभोज समेत गराएका थिए। लोपोन्मुख नौमती बाजा बजाउँदै सयौं संख्याका स्थानीयले दाहालको खेतमा धान रोपाइँ गरे। लोप हुन लागेको बेठी संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले शिवगञ्ज क्षेत्रमा संभवत पहिलो पटक बेठीसहितको धान रोपाइँ आयोजना गरिएको हो।
सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापती पर्शुराम ढुंगाना, केदारनाथ काफ्ले लगायतले बोलेका थिए।
कनकाई नगरपालिकामा आयोजित धान दिवस कार्यक्रममा संघीय सांसद एलपी सावा लिम्वु, प्रदेश सांसदद्वय झलकबहादुर दर्लामी मगर र हिरा थापाले कृषि पेसालाई आधुनिकीकरण गरेर व्यवसायकै रूपमा विकास गर्न सके कुनै पनि नेपाली परनिर्भर हुन नपर्ने बताए।
सो कार्यक्रम झापा गाउँपालिका, कनकाई नगरपालिका र स्थानीय प्रगतीपथ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेका थिए।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ। धान दिवसको अवसरमा झापामा विशेष रोपाइँ महोत्सव गर्ने गरिएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ।
तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ।
शिवसताक्षीको शिवगञ्जमा नौमती बाजाका साथ रमाइलोका साथ धान रोप्दै रोपाहार। तस्वीर : विनोद सापकोटा/सेतोपाटी