कर्णाली प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक/नायिका घोषणा गर्न लागेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक कृषि वस्तु उत्पादन गर्ने दुई जना कृषकलाई नायक/नायिका घोषणा गर्न लागेको हो ।
अर्गानिक वस्तु उत्पादनमा कृषकहरूलाई हौसला दिन उत्कृष्ट उत्पादन गर्ने कृषक नायक/नायिका घोषणा गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्ने प्रदेश सरकारको लक्ष्य भएकोले अर्गानिक खेतीमा निरन्तर लागेका अर्गानिक उत्पादक कृषक नायक/नायिका घोषणा गरी पुरस्कृत गर्ने तयारी गरिएको उनले बताइन्।
अर्गानिक खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसले थप सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्री केसीले बताइन्।
यसका लागि मन्त्रालयले उत्कृष्ट आर्गानिक कृषि वस्तु उत्पादक नायक/नायिका छनोट गर्न कार्यविधि नै बनाएको छ।
सोही कार्यविधि अनुसार प्रतिस्पर्धाबाट प्रदेशबाट दुईजना उत्कृष्ट नायक/नायिका सरकारले घोषणा गरिने छ ।
‘मापदण्डमा रहेर जिल्लास्थित ज्ञान केन्द्रले प्रदेशका १० जिल्लाबाट एक/एक महिला र पुरुष छनोट गर्नेछन्’ मन्त्री केसीले भनिन्, ‘उनीहरूमध्ये प्रतिस्पर्धाबाट दुई जनालाई प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक/नायिका घोषणा गरेर पुरस्कृत गर्नेछ।’
‘कृषकका नाममा रजाइँ चल्दैन’
कृषिमन्त्री केसीले कृषकको नाम बेचेर अनुदानको रकममा मनपरी गर्नेको दादागिरी अन्त्य हुने दाबी गरेकी छन्।
माथिदेखि तलसम्म सेटिङ गरेजस्तो देखिने तर कृषकले अनुदान रकम कहिल्यै नपाउने संस्कारको अन्त्य गर्न लागेको उनले बताइन्।
‘कृषकको नाम बचेर अनुदान रकममा मोज गर्नेको रजाइँ अब चल्दैन’ उनले भनिन्, ‘मन्त्रालयले अबदेखि वास्तविक कृषककै हातमा अनुदान रकम दिनगरी काम गरिरहेको छ।’
कृषकबीच व्यवसायिक प्रतिस्पर्धा गराएर उत्पादन क्षेत्रमा आकर्षण बढाउन सस्तो ऋणको व्यवस्था गर्न लागेको उनले जानकारी दिइन्। कृषक पेशामा लागेकै भरमा अपमानित हुनुपर्ने अवस्थाको अन्त्य गर्न र श्रमप्रतिको सम्मान बढाउने मन्त्रालयले कार्यक्रम सञ्चालन गर्न लागेको मन्त्री केसीले बताइन्।