मन्त्रीको निर्देशनपछि चिनी उद्योगीले बनाए किसानलाई पैसा तिर्ने कार्यतालिका


उद्योग,  वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निर्देशनपछि चिनी उद्योगीले किसानलाई दिन बाँकी रकम भुक्तानी गर्ने कार्यतालिका  बनाएका छन्।

चिनी उद्योगीले लामो समयदेखि पैसा नदिएको भन्दै देशभरका उखु किसानहरू आन्दोलित छन्।

कतिपय ठाउँमा चिनी उद्योगमै किसानहरूले अनसन सुरु गरेपछि मन्त्री यादवले किसान  र उद्योगीलाई बोलाएर शनिबार छलफल गरेका थिए।

छलफलमा मन्त्री यादवले तत्काल किसानलाई भुक्तानी दिन उद्योगीहरूलाई निर्देशन दिएका थिए। औपचारिक कागजी सहमति नभए पनि उनले तत्काल भुक्तानीको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको उद्योग सचिव यमकुमारी खतिवडाले जानकारी दिइन्।

‘शनिबार भएको छलफलमा उद्योगीलाई मन्त्रज्यूले तत्काल किसानलाई उखुको मोल दिन निर्देशन दिनुभएको थियो’  उनले भनिन् ‘उद्योगीहरुले भुक्तानीको समयतालिका बनाएर क्रमश: तिर्दै जाने र त्यस्तो तालिका मन्त्रालयलाई पनि जानकरी गराउन भन्नुभएको थियो।’

कार्यतालिकाबारे उद्योगीले मन्त्रालयमा भने जानकारी गराएका छैनन्। मन्त्रीले तत्काल किसानलाई भुक्तानी नदिए कारबाही गर्ने चेतावनीसमेत दिएका थिए। मन्त्रीको निर्देशनपछि उद्योगीहरुले भुक्तानी तालिका सार्वजनिक गरिरहेको चिनी मिल्स एसोसिएसनका महासचिव राजेश केडियाले जानकारी दिए। मन्त्रीसँग भएको छलफलअनुसार सरकारले आयातित चिनीमा भन्सार दर बढाउन सरकारले पहल गर्ने र उद्योगीहरुले तत्काल भुक्तानी दिँदै जाने केडियाले बताए। देशभरका उद्योगीले आजदेखि भुक्तानी दिने समयतालिका सार्वजनिक गरिरहेको उनले उनको भनाइ छ।

‘मेरो इन्दु शंकर चिनी मिलले आज नै भुक्तानी तालिका सार्वजनिक गरेको छ’  उनले भने, ‘भुक्तानी बाँकी भएका किसानलाई चैत २२ गतेदेखि क्रमशः हामी भुक्तानी गर्छौं।’

चिनी उद्योगहरुले अनुकुलता रकमको उपलब्धताअनुसार भुक्तानी तालिका बनाएको र पछि एकमुष्ट रुपमा मन्त्रालयमा जानकारी गराइने उनले जानकारी दिए।

यो वर्ष उखुको नयाँ मूल्य निर्धारण भएको छैन। अघिल्लो वर्षकै मूल्यमा उद्योगहरुले उखु लिए पनि किसानहरुलाई पाँच महिनादेखि भुक्तानी दिएका छैनन्। भारतबाट आएको चिनी सस्तो भएकोले नेपालको चिनी बिक्री नभएको भन्दै उद्योगीहरुले भुक्तानी दिन नसकिएको बताउँदै आएका थिए। आयातीत चिनीमा भन्सार बढाएर स्वदेशी चिनीको बजार सुनिश्चित गर्नपर्ने उनीहरूको माग छ

नेपालमा उत्पादित चिनी किन्दा अहिले एक किलोको ७५ रुपैयाँभन्दा माथि पर्छ। भारतबाट आउने चिनी ५५ रुपैयाँमै पाइन्छ। त्यसैले नेपाली उद्योगीको चिनी गोदाममा थन्किएको उद्योगीको गुनासो छ।

नेपाली चिनी उद्योगमा साढे ३ अर्बको लगानी रहेको चिनी उत्पादक संघले जानकारी दिएको छ। संघका अनुसार हाल १ लाख किसानले उखु खेती गरिरहेका छन्। विदेशको चिनी सस्तो भएका कारण नेपालका उखु किसानलाई भुक्तानी दिन नसकिएको संघको भनाइ छ। यो वर्ष ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन्। तीमध्ये अधिकांसले भुक्तानी भने पाएका छैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.