सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो गाउँ चितवन जिल्ला, माडी नगरपालिका २ मा पर्दछ। मेरो गाउँको नाम शितलपुर हो। म अहिले वार्षिक परीक्षा सकेर गाउँ आएको छु। अब म केही दिन बसेर काठमाडौँ फर्किन्छु।
माडीलाई चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडले चारैतिरबाट घेरेको छ। म घर आउँदा यही निकुञ्जको बाटो हुँदै आउँछु। हात्ती, गैँडा, मृग, जरायो र बँदेल जस्ता जनावरहरूलाई मैले गाडीमा बसेर नजिकबाटै देख्न पाएको छु। हाम्रो माडीमा पाँच पाण्डव, अयोध्या राम मन्दिर, विक्रम बाबा र सोमेश्वर कालिका पर्दछन्।
हाम्रो घरमा दादा–दिदी र हजुरआमा हुनुहुन्छ। म चाडपर्व, वार्षिक परीक्षा दिएर अनि कहिले–कहिले काम परेको बेला गाउँ आउँछु। नजिकै चिताई खोला र घर वरिपरि फलफूलका बोटहरू भएर होला हाम्रो घरमा शीतल हुन्छ।
रातो र सेतो रङले भरिएको मेरो घर धेरै सुन्दर छ। घर अगाडि ठुलो आँगन छ। यही आँगनमा म घर आउँदा साथी र दाइहरूसँग खेल्छु। मेरो गाउँको मिल्ने साथीको नाम नवराज हो। उसले मलाई धेरै माया गर्छ मलाई पनि उसको धेरै माया लाग्छ।
आँगनमा एउटा तुलसीको मोठ र ठुलो चौको छ जहाँ बसेर हजुरआमाले पूजा गर्नुहुन्छ। घर अगाडि अलि पर हाम्रो कुल देवताको र नागको गरी दुई वटा मन्दिर छन्। हजुरबासँग कुल पूजामा रमाइलो गरेको मलाई अझै सम्झना छ।
घरको छेउमा एउटा गोठ छ। गोठमा एकातिर काठको गोदाम छ जहाँ हजुरआमाले धान राख्नु हुन्छ। कहिलेकाहीँ यहाँ मौरी पनि बस्छन् र हामीले मह पनि खाएका छौँ। अर्कोतिर बाख्रा र भैँसी पाल्नु भएको छ।
मलाई बाख्राका स–साना पाठापाठी र भैँसीका पाडापाडीसँग खेल्न रमाइलो लाग्छ। हाम्रो काली भैँसीले डल्ली पाडी पाएकी छ। पहिलाकी रुपा अहिले ठुली भइसकेकी रहिछ।
हाम्रो घरको चोकको नाम ‘देवीलाल चोक’ हो जुन हाम्रो हजुरबुबाको नामबाट राखिएको रहेछ। चोकमा एउटा प्रतीक्षालय छ जहाँ हाम्रो हजुरबुबा र उहाँको पनि हजुरबुबासम्मको जन्म र मृत्युको मिति छ। हामी प्रतीक्षालयमा पनि भाँडाकुटी र लुकामारी खेल्छौँ।
हाम्रो घर नजिकै मन्दिर पनि छ, दसैँमा यहाँ ठुलो पूजा हुन्छ। त्यहाँको चउरमा हामी फुटबल र क्रिकेट खेल्छौँ। यही मन्दिर नजिकै साइलाबाको घर छ। साइलाबाले मन्दिरमा पूजा गरेर प्रसादी हामीलाई मिस्री दिनु हुन्छ।
दसै र तिहारमा आउँदा ढिकीमा पिठो कुटेर हजुरआमाले सेल रोटी पकाउनु हुन्छ। अरू बेला गोठको माथि जाँतोमा पिस्नु हुन्छ। काली भैँसीले एक बाल्टी दूध दिन्छिन्। हामी दूध–दही र घिउ खान्छौँ। काठमाडौँमा डेरीबाट किनेको दूध–दहीभन्दा मलाई माडी घरको मिठो लाग्छ। कान्छी दिदीले कहिले–कहिले त कुराउनी पनि बनाउनु हुन्छ।
यसपालिको नयाँ वर्षको दिनमा मित दाइको घरमा घोगी र ढिक्री पनि चाख्ने मौका मिल्यो। म गाउँमा आउँदा हजुरआमा र दिदीले मिठा–मिठा खानेकुरा बनाउनु हुन्छ। तसर्थ मलाई मेरो गाउँ र मेरो घर धेरै सुन्दर अनि रमाइलो लाग्दछ।



(समाज पाण्डे केएमसी स्कुल बुद्धनगर, काठमाडौँको कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन्।)