सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो नाम तारिका बिष्ट हो। म कक्षा ६ मा पढ्छु। म दिउँसो स्कुलबाट घर आएँ। घरमा आएपछि नास्ता खाएर गृहकार्य गर्न थालेँ। त्यसपछि मेरो मम्मीले भन्नु भयो कि हामी भोलि सल्यान जाने हो। आज खजुराबाट दिदी आउँछे।
दिदीको घर खजुरामा पर्दछ। म, मेरी दिदी, मम्मी र मेरो काइँलो बुवाको छोरी अनि उहाँको सानो छोरा सल्यान जाने मम्मीले भन्नुभयो। मेरो बाबाको जन्मथलोले सल्यान हो। हाम्रा सन्तानका सबै सल्यानमा बस्नु हुन्छ।
मेरो बाबाको नेपालगन्जमा काम भएकोले उहाँ नजाने हुनुभयो। सल्यान जानु पर्ने थियो, मेरो दाइले विवाह गर्दै हुनु हुन्थ्यो। मेरो बुवाको माइलो दाइको कान्छो छोरा; मेरो दाइ धिरेन्द्र बिष्टको विवाह थियो।
हामी बिहान सल्यान जान उतैबाट आएको जिप गाडीमा नेपालगन्जबाट सल्यानतर्फ लाग्यौँ। म पहिला पनि सल्यान गएको थिएँ तर मलाई बाटोमा गाडीले घुमाएर बान्ता पनि आयो। हामी नेपालगन्जबाट तराईको भाग सकिएपछि बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्ट पुग्यौँ। त्यहाँ गाडी इन्ट्री भएपछि देउरालीको पहाड अनि ओरालोपछि बबई नदी पुल भएको ठाउँ पुग्यौँ।
त्यो पुल नजिकै नेपालकै पहिलो लामो सुरुङ भएको भेरी बबई डाइभर्सन भएको ठाउँ नजिकैबाट हर्रेको उकालो लाग्यौँ। हर्रेमा फेरि बर्दिया राष्ट्रिय निकुञ्जको चेक पोस्टमा पुग्यौँ। त्यहाँबाट अझै पहाड देखिए। केही समयपछि छिन्चु बजार पुग्यौँ। त्यहाँबाट मेहलकुना, बोटचौर हुँदै सल्लीबजार पुग्दा साँझ भइसकेको थियो।
सल्लीबजारबाट करिब आधा घण्टामा हामी राति ८ बजे शंखपिपल पुग्यौँ जहाँ हामी जानु थियो। हामी पुग्दा सबैले सोधपुछ गरेँ। त्यहाँ काइँलो बुवा र माइलो बुवाको घर छ। त्यही काइँलो बुवाको घरमा बस्यौँ। साँझको खाना चुलोमा पकाएको कोदोको मोटो रोटी मिठोसँग खायौँ। त्यो रात त्यही सुत्यौँ।
अर्को दिन नयाँ बेहुली भित्र्याउने दिन थियो। म, मेरो दिदी र मम्मीसहित सबै जना बेहुली भित्राउन नजिकैको सडक भएको सानो बजार क्षेत्रमा गयौँ। मलाई अचम्म लागेको थियो। त्यहाँ बाजालाई नगारा भन्ने गरिन्छ। हामीभन्दा अगाडि नगारा लागे अनि पछि-पछि हामी बेहुली ल्याएको ठाउँ पुग्यौँ।
मसहित दुलाहा दाइका बहिनी र दिदी सबैले गाडीलाई वरिपरि घुमेर अक्षता छिट्कियौँ। अनि बेहुला र बेहुलीलाई गाडीबाट निकालेर नजिकै खटौली (डोली) मा राख्यौँ। त्यो सबै काममा माइला बुवाले हामीलाई अह्राइरहनु भएको थियो।
खटौलीमा दुलहीलाई राखेर चार जनाले बोके र दुलहालाई उहाँकै दाइ पर्नेले काँधमा बोकेर करिब एक किलोमिटर जति टाढा ल्याएका थिए। अगाडि नगरा बजाउँदै गयौँ। नगरालाई दमाहा भन्दा रहेछन्। ती केही ठुला केही साना थिए।
नगरा बजाउनेले बाटो छेकेर (रुमाल बिछाएर) बाजा बजाउँदा रहेछन्। त्यहाँ जन्तीले पैसा राख्नु पर्ने रहेछ। दमाहा बजाउनेलाई टोपीभित्र पैसा, दमाहाको वित्रा (डोरी) मा पनि पैसा दिने चलन रहेछ। यो मेरा लागि अनौठो थियो। म सायद कहिले पनि बिर्सिन्नँ होला।
यो सबै गर्दा राति भएको थियो। सबै घरमा आएपछि बेहुली भित्राउँदा मूलढोकामा हामी बहिनीहरूले बाटो छेक्नु पर्दो रहेछ। त्यसपछि बेहुलीले पैसा दिएपछि मात्रै भित्र जान पाउने रहेछ। त्यो पनि अनौठो लाग्यो। त्यसपछि घरमा टीका लगाउनु पर्ने रहेछ।
मेरो बाजे, माइलो बुवा, माइली आमाले टीका लगाइदिनु भयो। त्यो राति करिब १२ बजेसम्म सल्यानी टप्पा सबै जना नाचे, म पनि नाचेँ। रमाइलो विवाह भयो तर त्यहाँ सबै मेरा लागि अनौठो थियो। नाकमा लगाउने बुलाकी सबैभन्दा अनौठो थियो।
बेहुला र बेहुलीलाई मैले पनि टीका लगाएँ र मलाई बेहुली (भाउजू) ले पैसा पनि दिनु भयो। त्यसपछि हामीले सबैसँग फोटो खिचायौँ। महिला भर्सेस र अरू नाच खुबै चल्यो। एकातिर महिला मात्रै अर्को तिर युवाहरू नगाराको तालमा नाचेका थिए।
मेरा बाजे जो ९१ वर्षको हुनु भयो, उहाँ पनि मज्जाले कम्मर मर्काई मर्काई नाच्नु भयो। माइलो बुवा, माइली आमा र अरू मैले नचिनेका आमा, अन्टी र दिदीहरू पनि नाच्नु भएको थियो।
अर्को दिन हामीले विभिन्न खानेकुराहरू मध्ये मेरो दिदीले बनाएको अमिलो साँधे मिठोसँग खायौँ। त्यहाँबाट मेरो बजै बस्ने ठाउँ च्यूरा गाउँ गयौँ। गाउँ जाँदा हामीले बाटामा बेलौती खायौँ। त्यहाँ पैसा नतिरेरै खान पाउने रहेछ।
बजैले मलाई पैसा पनि दिनु भयो। मैले मेरो बाबाले कक्षा १ देखि एसएलसीसम्म पढेको विद्यालय, अस्पताल देखेँ। मेरो त्यहाँको घर बाजेले बनाउनु भएको रहेछ। त्यो पुरानो खालको रहेछ। साना ढुङ्गा र माटोले बनाएका अनि माटोको छानो रहेछ।
हामी अन्तिम (पाँचौँ) दिन आफ्नो घर फर्किने भयौँ। माइला बुवाले सबैलाई टीका लगाउँदै दक्षिणा दिनु भयो। मेरो बाजेले मलाई सबैभन्दा धेरै पैसा दिनु भयो। म सबैभन्दा खुसी भएँ। हामी जुन गाडीमा नेपालगन्जबाट गएका थियौँ त्यही गाडीले हामीलाई सल्यानबाट नेपालगन्ज ल्यायो।
(तारिका बिष्ट जीवन ज्योति स्कुल, बाँकेको कक्षा ६ मा अध्ययनरत छिन्।)