सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो कक्षामा ४७ जना साथीहरू छन्। कोही खतिवडा, कोही पनेरू, कोही अधिकारी, कोही श्रेष्ठ, कोही गुरुङ आदि थरका। छिमेकमा पनि कोही सापकोटा, कोही भट्टराई, कोही तिवारी, कोही चापागाईं, यस्तै यस्तै।
गएको मंसिरमा तीन दिन स्कुल बिदाको मौका पारेर गोरखा पालुङटारस्थित घर गएँ। ठूलोबुबाले बडडाँडा गाउँमा एउटा पूजामा लैजानुभयो। पूजामा बुबा, आमा, काका, ठूलोबुबा, हजुरबुबाको साथ लागेर मजस्तै बालबालिका पनि आएका रहेछन्। उनीहरूसँग खेल्न पाइने भएपछि मलाई रमाइलो लाग्यो।
ठुला मान्छेहरू कोही मन्दिरमा पूजा गर्न थाल्नुभयो, कोही सेलरोटी, खिर, अचारलगायत परिकार पकाउन थाल्नुभयो। हामी बालबालिका त मिलेर फुटबल खेल्न थाल्यौँ।
खेल्दाखेल्दै एकअर्काको नाम सोध्यौँ। स्कुलमा त विभिन्न थरका साथीहरू थिए, त्यहाँ त सबै देवकोटा। पूजामा जम्मा हुनुभएका सबै नै देवकोटा हुनुहुँदो रहेछ। यति धेरै देवकोटा एकै ठाउँमा जम्मा भएको मैले पहिलो पटक देखेको हुँ।
मैले ठूलोबुबालाई सोधेँ– ‘यहाँ सबै देवकोटा कसरी भए ठूलोबुबा?’
उहाँले भन्नुभयो– ‘यो हाम्रो कुलपूजा हो, हामी सबै एउटै पुर्खाका सन्तति हौँ, हामीहरू हरेक वर्ष यसरी नै जम्मा भएर यहाँ कुलको पूजा गर्छौँ।’
पहिलो पटक कुलपूजामा सहभागी भएर मैले नयाँ कुरा थाहा पाएँ। हामीहरू एउटै कुलभित्र कति धेरै हुँदारहेछौँ।
पूजामा हामी केटाकेटीमध्ये अनिस देवकोटा सबैभन्दा ठुलो हुनुहुन्थ्यो। उहाँ कक्षा ८ मा पढ्नुहुँदो रहेछ। खेलिरहँदा मैले उहाँलाई दाइ, दाइ भन्दै बोलाउँथेँ। उहाँले मलाई भाइ भन्नुहुन्थ्यो।
हामीले एकअर्कालाई दाइ र भाइ भनेर खेलिरहेको एकजना हजुरबुबाले ध्यान दिइरहनु भएको रहेछ। उहाँले मलाई बोलाएर भन्नुभयो– ‘अनिस तिम्रो दाइ होइन नि, ऊ त तिम्रो भतिज हो। तिमीले अनिसलाई होइन, अनिसले तिमीलाई तपाईं भन्नुपर्छ’।
म त अचम्ममा परेँ!
मभन्दा चार/पाँच वर्ष जेठो पनि मेरो भतिज? अनि उल्टै मैले पो तिमी भनेर बोलाउने? उहाँ हजुरबुबालाई तत्कालै जिज्ञासा राखेँ। उहाँले फेरि भन्नुभयो– ‘उमेरभन्दा नाता ठुलो हो नि बाबु, नाताले जो माथि छ उही ठुलो हो।’
मभन्दा पनि भतिज जेठो? यो कसरी हुन्छ? कुलपूजा सकाएर ठूलोबुबासँग घर फर्किँदै गर्दा पनि मनमा कुरा खेलिरह्यो। घर पुग्ने बित्तिकै मैले हजुरआमालाई दिउँसोको सबै बेलिबिस्तार लगाएँ। म त काका भइसकेको रहेछु नि पनि भनेँ। तर भतिज नै मभन्दा जेठो रहेको पनि सुनाएँ। हजुरआमा हाँस्नुभयो।
काकाभन्दा भतिज जेठो कसरी हुन्छ? म जिज्ञासा मेट्न चाहन्थेँ। मैले हजुरआमालाई यो कुरा सोधेँ।
हजुरआमाले भन्नुभयो– ‘पहिले अहिलेजस्तो १/२ जना मात्रै सन्तान जन्माउने चलन थिएन। ५/६ जनाभन्दा धेरै सन्तान जन्माउने चलन थियो। कतिपयको त पहिलो सन्तानले बिहे गरेर सन्तान पनि जन्माइसकेपछि बाबु–आमाबाट अर्को सन्तान जन्मिएका हुन्थे। छोराबाट जन्मिएको सन्तानभन्दा आमाबाट जन्मिएका सन्तान उमेरले साना भए पनि नाताले ठुला हुन्छन्। पुर्खाको पालादेखि यसरी बनेको नाताभित्र वृद्धि हुँदै गएका सन्तानमा पनि यस्तो नाता देखिन्छ। अनिस तिमीभन्दा जेठो भए पनि नातामा भतिज भएको यस कारण हो।’
आमाले दिनुभएको यो उदाहरणबाट मैले नाता सम्बन्धबारे नयाँ जानकारी पाएँ। अनिस भतिजलाई फेरि भेट्न मन लागेको छ। मिस यु भतिज! धन्यवाद हजुरआमा।
(आर्जन देवकोटा एलआरआई स्कुलमा कक्षा ४ (ए) मा अध्ययनरत छन्।