सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो नाम टासी लामा हो। म ८ वर्षको भएँ। हाल म अमेरिकाको टेक्सास भन्ने ठाउँमा बस्छु। अमेरिकामा बसे पनि यहाँ हामी नेपाली भाषामा नै कुरा गर्छौँ। नेपाली खाना नै खान्छौँ। कहिलेकाहीँ मात्र बाहिरको खाना खान्छौँ।
मेरी आमाले मिठो खानेकुरा बनाउनुहुन्छ। हामी यहाँ धेरै नेपाली परिवार छौँ। सबै मिलेर चाडपर्व पनि सँगै मनाउँछौँ।
हामी लामा-तामाङ जाति बौद्ध धर्मावलम्बी हौँ। हाम्रो ठुलो चाड ल्होसार हो तर पनि हामी दसैँ, तिहार सबै चाडपर्व मनाउँछौँ।
म नेपालमा नै जन्मेको हुँ। मलाई किन किन नेपाल धेरै मन पर्छ। नेपालका हिमाल र नदी निकै मन पर्छ। २०२२ को समर बिदामा म मेरो परिवारसँग नेपाल आएको थिएँ। त्यही बेला मेरो छेवर (व्रतबन्ध) पनि भएको तियो। मलाई अझै पनि याद छ त्यो दिन, निकै रमाइलो भएको थियो।
अहिले म अमेरिका बसेर पनि नेपाली भाषा पढिरहेको छु। नेपाली पाठशालाले नेपाली भाषा पढाउने काममा मलाई सहयोग गरिरहेको छ। यति लेख्न र पढ्न सक्ने बनाउन पनि नेपाली पाठशालाले गर्दा नै भएको हो।
मलाई नयाँ-नयाँ किताबहरू पढ्न मन पर्छ। पढ्ने बाहेक मलाई खेलकुद पनि मन पर्छ। फुटबल मलाई मन पर्ने खेल हो। तेक्वान्दोमा मैले हाफ ब्ल्याक बेल्ट पाएको छु। अबको केही महिनापछि ब्ल्याक बेल्टको पनि ग्र्याजुएट हुने छु।
भविष्यमा मेरो डेन्टिस्ट बन्ने चाहना छ। असल र इमानदार नागरिक बन्ने मेरा चाहना छ।
यी कुराहरू लेख्न मलाई बुबाको सहयोग लिएको हुँ। टाइप गर्न चाहिँ नेपाली पाठशालामा म र मेरा साथीहरूलाई पढाउने गुरुले सहयोग गर्नुभएको हो।
(टासी लामा अमेरिकाको टेक्ससमा नेपाली समुदायद्वारा सञ्चालित नेपाली पाठशालाको कक्षा ४ मा नेपाली भाषा सिक्दै छन्।)