सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
जीवनी
यस धरतीमा जन्मिने थोरै मान्छे मात्र आफ्ना महान कामले प्रसिद्ध हुन्छन्। नेपाली साहित्यमा विशिष्ट योगदान दिने त्यस्ता व्यक्तित्वमध्ये एक हुन्, लक्ष्मीप्रसाद देवकोटा।
देवकोटाको जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते काठमाडौँमा भएको थियो। उनले तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवीका पुत्रका रूपमा यस धरतीमा पाइला राखे। उनको न्वारानको नाम तीर्थमाधव देवकोटा भए पनि लक्ष्मीपूजाका दिन जन्मिएकाले उनलाई लक्ष्मीको प्रसाद मानेर उनका पिताले लक्ष्मीप्रसाद नाम राखिदिए। नाम लक्ष्मीप्रसाद भए पनि उनी सरस्वतीका प्रसादका रूपमा विद्या र ज्ञानका संगम भएर चिनिए।
उनलाई नेपालका सबैभन्दा ठूला कवि तथा सर्वप्रथम महाकाव्य लेखेका महाकवि भनेर चिनिन्छ। सरकारले उनलाई महाकविको उपाधि दिएको छ। लक्ष्मीप्रसाद देवकोटाका बुवा संस्कृतका विद्वान् थिए। त्यसैले उनले आफ्नो आधारभूत शिक्षा बुवाबाट लिए।
उनले दरबार हाई स्कुलबाट औपचारिक शिक्षाको सुरूवात गरेका थिए। संस्कृत व्याकरण र अंग्रजी अध्ययन गरेका थिए। दरबार स्कुलमा आफ्ना साथीहरूलाई उनी कविता सुनाउँथे। सन् १९२५ मा उनी त्रि-चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। उनले अंग्रेजी विषयमा स्थान नपाएपछि कानुन पढे। दस वर्षको उमेरदेखि उनले कविता लेखन सुरू गरे र छोटो जीवनमा धेरै कविताहरू लेखे।
देवकोटाले महाकाव्य, खण्डकाव्य, लामा कविता, निबन्ध, कथा, नाटक तथा गीत लेखेका छन्। उनी बहुमुखी साहित्यकारका रूपमा परिचित छन्। उनले नेपाली साहित्यमा महाकाव्य लेखनको सुरूवात गरे। शाकुन्तल उनको पहिलो महाकाव्य हो। यो नेपाली भाषामा लेखिएको पहिलो मौलिक महाकाव्य पनि हो। उनको मुनामदन ज्यादै चर्चित खण्डकाव्य हो। यसमा भएको 'क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन!' भन्ने भनाई धेरै चर्चित छ।
देवकोटाको यात्री, पागल, भिखारी जस्ता कविता अति लोकप्रिय छन्। उनको 'के नेपाल सानो छ?' भन्ने निबन्ध उत्तिकै चर्चित छ। यसमा देशभक्तिको भावना पाइन्छ। देवकोटाका कृतिमा परिवर्तन र प्रजातन्त्रको चाहना अभिव्यक्त भएको पाइन्छ।
वि.सं. २००७ सालको क्रान्तिमार्फत देशमा प्रजातन्त्र आएपछि देवकोटालाई राजा त्रिभुवनद्वारा वि.सं. २००८ मा नेपाल सल्लाहकार समितिको सदस्यमा नियुक्त गरिएको थियो। उनका केही कृतिहरू यस प्रकार रहेका छन्:
१. महाकाव्य र खण्डकाव्य: शाकुन्तल, सुलोचना, प्रमिथस, मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी, वसन्ती गीतिकाव्य, मैना, मायाविनि सर्सी आदि।
२. निबन्ध: आषाढको पन्ध्र, भलादमी, फूल, पहाडी जीवन, हाई हाई अंग्रेजी, नेपाल सानो छ, कला र जीवन, कल्पना, साधुको महात्म्य, निद्रा, श्रीपञ्चमीको दिन आदि।
३. कविता: यात्री, भिखारी, पागल, हुरीको गीत, प्रश्नोत्तर आदि।
लक्ष्मीप्रसाद देवकोटा धाराप्रवाह कविता रचना गर्ने कवि थिए। उनी नेपाली साहित्यका सगरमाथा हुन्। नेपाली साहित्यका अद्वितीय साहित्यकार मानिन्छन्। उनलाई बर्कले हिल भन्ने डाक्टरले भौगोलिक भूल भनेका थिए। नेपाली साहित्यमा अमूल्य कृति प्रदान गरेर अमर रहेका लक्ष्मीप्रसाद देवकोटाको मृत्यु वि. सं. २०१६ भाद्र २९ मा भएको थियो।
(अनुप्रस्थ लुइटेल कक्षा ७ मा अध्ययनरत छन्।)