सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो नाम निष्प्रभ पाण्डे हो। गत वर्षको गर्मी विदामा म मेरो बुवासँग काठमाडौं गएँ। काठमाडौंमा मेरो बुवाको तालिम थियो। काठमाडौंमा मेरो अंकल र दिदी बस्नुहुन्छ। मैले आज मेरो काठमाडौं यात्राबारे लेख्दैछु।
म काठमाडौं घुम्दै गर्दा मैले अलिक अगाडि पढेको 'धुमधामको घुमघाम' कथाको सम्झना आयो, जसमा भक्तप्रसाद नाम गरेको भ्यगुतोले देशको भम्रण गरेको वर्णन थियो। म पनि आज यहाँ मेरो काठमाडौं यात्रा वर्णन गर्छु।
पहिलो दिन म दिदी र अंकलसँग चिडियाखाना घुम्न गए। चिडियाखाना हामी बसेको ठाँउबाट टाढा भएकाले हामी ट्याक्सीमा गयौं। चिडियाखानामा मेरो उमेर सानो भएकाले टिकटमा छुट भयो। चिडियाखानामा मैले मृग, जलगैंडा, बाँदर, स्याल, चितुवा, अर्ना, गोही, आदि जनावार देखेँ।
बाघ भएतिर चाहिँ हामीले जान छुटाएछौं। हामी चिडियाखाना घुम्न जाँदा दिउँसोको समय थियो। दिउँसोको समयमा धेरै जनावरहरू बाहिर ननिस्कने रहेछन्। मैले त्यहाँ धेरै प्रकारका चराहरू पनि देखें तर सुतुरमुर्ग अलिक फरक खालको चरा रहेछ। यो सबैभन्दा ठूलो पनि थियो। यो चरा नेपालमा पाइँदैन।
जनावर राखेको ठाउँमा त्यस जनावर र चराको बारेमा लेखेको कुरा मलाई राम्रो लाग्यो। हामी चिडियाखाना घुमिसकेपछि आइसक्रिम र पिज्जा खाएर घर फर्कियौँ।
दोस्रो दिन मलाई अंकलले स्कुटरमा धरहरा देखाउन लानुभयो। धरहरा बन्दै गरेकाले भित्र जान मिलेन। यो निकै अग्लो थियो। त्यससँगै भत्केको पुरानो धरहरा पनि रहेछ। यो धरहरालाई भुकम्पले भत्काएको हो भनेर अंकलले भन्नुभयो।
धरहरा बाहिरबाटै हेरेपछि हामी बसन्तपुर दरबार स्क्वायर हेर्न गयौँ। त्यहाँ धेरै मन्दिर र परेवा थिए। यति धेरै मन्दिर एकै ठाउँमा मैले पहिले कहिल्यै देखेको थिइनँ। त्यसपछि हामी नारायणहिटी दरबारको बाटो हुँदै घर फर्कियौँ। यो दरबार पहिले राजाहरू बस्ने ठाउँ रहेछ। अहिले भने संग्रहालय बनाइएको रहेछ।
फर्कदै गर्दा मैले बाटोमा दशरथ रंगशाला देखें। यो नेपालको ठूलो रंगशाला रहेछ। रंगशालाका भित्तामा अरू देशका राष्ट्रिय झण्डाको चित्र पनि देखेँ। यो रंगशालामा साफ प्रतियोगिता हुँदा यी झण्डाहरू बनाइएको रहेछ।
तेस्रो दिन पानी परेकाले हामी घुम्न गएनौं तर साँझमा नजिकको थकाली घरमा खाना खायौँ। खाना एकदम मिठो थियो। तर फर्कदा ठूलो पानी आयो।
चौथो दिन म पाटन दरबार स्क्वायर गएँ। यहाँ पनि धेरै मन्दिर थिए। त्यसमध्ये एउटा मन्दिर अलिक फरक थियो। त्यो मन्दिरको नाम कृष्ण मन्दिर रहेछ। मलाई यो मन्दिर ढुंगाले मात्र बनेको हो भनेर दिदीले भन्नुभयो। पाटन दरबारमा मैले ढुंगेधारा पनि देखेँ। मलाई पाटन दरबार एकदम राम्रो लाग्यो।
पाँचौ दिन म बुवासँगै गाडीमा पोखरा फर्कें। घरपुग्दा साँझ पर्न लागेको थियो।
(निष्प्रभ पाण्डे पोखरास्थित मदरल्याण्ड माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)