सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
डा. सन्दुक रूइतको जन्म वि.सं. २०११ भाद्र १९ गते भएको थियो। उहाँ नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मिनुभएको थियो।उहाँको गाउँ चीनको तिब्बत नजिक छ।
रूइतको बुवाको नाम सोनाम रूइत हो। आमाको नाम केसाङ रूइत। सानामा हिमालमा रमाउनुभएका रूइत अहिले विश्वभरको आँखा जाच्ने विशेषज्ञ हुनु। सानोमा उहाँले आफ्ना दुई बहिनी र एक दाइलाई रोगका कारण अकालमै गुमाउनुभएको थियो। यस दुखद घटनाकै कारण उहाँले रोगहरूसँग लड्ने र डाक्टर बन्ने लक्ष्य र सपना देख्नुभयो।
उहाँले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङमा बसेर लिनुभयो। काठमाडौंबाट २०२५ सालमा एसएलसी (प्रवेशिका परीक्षा) दिनुभयो र उत्तिर्ण हुनुभयो। त्यसपछि त्रिचन्द्र कलेजमा विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्नुभयो।
सानो छँदा उहाँ निकै प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँको रूची खेलकुदमा पनि थियो तर पढाइमा धेरै थियो। यसैको फलस्वरूप उहाँ पछि गएर डाक्टर बन्नुभयो। उहाँ आँखाको उपचार र शल्यक्रिया गर्नेक्रममा चीन, भारत, बंगलादेश, उत्तरकोरिया, इथोपिया, इन्डोनेशीया लगायतका सबै महादेशका थुप्रै देशहरूको भ्रमण गर्नुभएको छ।
उहाँले आँखाको उपचार सम्बन्धी उत्कृष्ट विधिको प्रयोग गरी लाखौंको संख्यामा उपचार गरेका छन्। त्यसबापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ। डा. रूइतले प्राप्त गरेका पुरस्कारहरूमा एशियाको नोबल पुरस्कार भनेर चिनिने 'रोमन म्यागासेसे' पुरस्कार लगायत प्रिन्स महिडोल अवार्ड, एसियन गेम चेन्जर अवार्ड, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतका थुप्रै पुरस्कार छन्। उहाँलाई बहराइनका सम्राट हमद बिन डसा अल खालिभाले पनि दश लाख अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गर्नुभएको छ।
डा. रूइतलाई आँखा र दृष्टिका देवता भनेर पनि चिनिन्छ। म, मेरी आमा र मेरी बहिनीले पनि सन्दुक रूइतसँग आँखाको उपचार सम्बन्धी सेवा लिइरहेका छौं। वहाँले मलाई चार वर्षको उमेरदेखि देखिएको मेरो आँखाको समस्या समाधान गरिदिनुभएको छ। उहाँको यही व्यक्तित्वकै कारण केही नेपाली व्यक्तिहरूले उहाँलाई राष्ट्रपति हुन समेत अनुरोध गरेका थिए। उहाँले विनम्रतापूर्वक अस्वीकार गर्नुभयो।
उहाँले भन्नुभयो कि 'मलाई मेरो यही पेसा र जीवन ठिक छ। मैले यसैमा अझ राम्रो गर्न सक्छु। मलाई राष्ट्रपति पद आवश्यक छैन।'
सन्दुक रूइतले नेपालमा आँखाको लेन्स सस्तो बनाउनुभएको थियो। उहाँले अहिलेसम्म करिब १ लाख ६६ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरी दृष्टि प्रदान गरिसक्नुभएको छ। उहाँले नेपालमा तिलगंगा आँखा प्रतिष्ठान पनि खोल्नुभएको छ। यो प्रतिष्ठान विश्वभरिको उत्कृष्ट आँखाको अस्पतालको रूपमा चिनिन्छ। उहाँले आँखाको उपचार करिब ४ दशकदेखि निरन्तर रूपमा गर्दै आइरहनुभएको छ।
कुनै काम अन्तरमनले गरियो भने भगवानले साथ दिनुहुन्छ भन्ने मान्यता राख्नुहुने रूइतले मानिसहरूको उपचार गर्नु आफ्नो धर्म ठान्नुहुन्छ। बिरामीको उपचार गरिसकेपछि उनीहरूको अनुहारमा आउने खुसी र जीवनमा आउने सकारात्मक परिवर्तन नै आफूलाई अथक रूपमा बिरामीको सेवामा खटिइरहन उत्प्रेरित गर्ने माध्यम रहेको रूइत बताउनुहुन्छ।
विरामीको उपचारक्रममा विश्वका अधिकांश मुलुक पुग्नुभएका रूइत सजिलै दृष्टिको देवताका रूपमा स्थापित हुनुभएको भने होइन। यो सफलताका पछाडि उहाँको ठूलो त्याग, परिश्रम र संघर्ष लुकेको छ। उमेरका हिसाबले ६९ वर्ष पुगिसक्नुभएका उहाँ अहिलेसम्म आँखाको उपचारमा संलग्न हुनुहुन्छ।
हामीले डा. सन्दुक रूइतको जीवनीबाट यो प्रेरणा लिन सकिन्छ कि जस्तोसुकै कठिन परिस्थिति र विकट ठाउँमा रहे पनि आफ्नो अन्तरमनले राम्रो ठानेको काममा लाग्नुपर्छ। त्यसबाट अवश्य सफलता प्राप्त गर्न सकिन्छ। भनिन्छ, आत्मविश्वासले मानिसलाई बलियो बनाउँछ। त्यसैले हामीले अशक्त तथा कमजोर मानिसलाई मद्दत गर्ने लक्ष्य लिएर अगाडि बढ्नुपर्छ।
हामीले स्वार्थ बिना अरूको भलाई सोच्नुपर्छ। उनीहरूलाई सहयोग गर्नुपर्छ। यसो गर्न सकेमा हामी पनि उहाँझै सबैको मनमा बस्न र नाम कमाउन सक्छौं।
(स्वीकृति पराजुली जावलाखेल, ललितपुरस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन्।)