सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
जनावरहरूले मानिसले जस्तै इज्जत पाउनुपर्छ। उनीहरूले मानिसको हेपाई सहेको देख्दा मलाई नराम्रो लाग्छ।
मलाई कुकुरदेखि डर लाग्छ। तर अरूले कुकुर भगाएको वा तर्साएर धपाएको देख्दा त्यसप्रति अन्याय भएको अनुभव हुन्छ। मानिस सामाजिक प्राणी हो। जनावरलाई दुर्व्यवहार गर्ने हाम्रो कुनै हक छैन। कुकुरसँग डर लागे पनि मलाई बिरालो असाध्यै मनपर्छ।
मेरो परिवारमा भने कसैले पनि कुनै जनावर घरमा ल्याएको वा त्यससँग मैले वा मेरो भाइले खेलेको रूचाउँदैनन्। मेरा अभिभावकहरूका अनुसार जनावरले कुनै पनि समय टोकेर वा चिथोरेर मलाई हानी पुर्याउन सक्छन्। त्यही कारण उनीहरूलाई ‘जनावर’ भनिन्छ।
जनावर भनेको किटाणु र रोगको घर हो रे। मेरो घरमा ठूलो बारी भएकाले दिनहुँजसो कुकुर, बिरालो त कहिले न्याउरी मुसा बास बस्न आउँछन्। एक-दुईपटक त सर्प पनि देखापरेको थियो। बाँदरको कुरा गर्ने हो भने दिनको दुई वा तीनपटक अनिवार्यजस्तै पचासौंको संख्यामा आफ्ना बालबच्चा र नवजात शिशुसहित आउँछन्।
हामीकहाँ फल लाग्ने चारवटा ठूला एभोकाडोका रूख, दुइवटा राम्रो जातका आरूबखरा, भोगटे, अम्बा लगायत बोटहरू छन्। ती बोटमा सिजनमा प्रशस्त फूल फुल्छन्। चिचिला लाग्छन्। चिचिला छिप्पिएर खानयोग्य हुनुअगावै बाँदरहरूले टोकेर वा रूखबाट झारेर निमिट्यान्न बनाउँछन्। मैले मात्र होइन मेरा परिवारसमेतले गत चार वर्षदेखि फलफूल चाख्नसम्म पाएका छैनौं।
बाँदरहरूकै कारण मेरो हजुरबाले खाली जग्गामा दसौं वर्षदेखि कुनै पनि तरकारी लगाउन पाउनुभएको छैन। त्यो पीडादायी दृश्य देख्दा हाम्रो देशमा वन्यजन्तु संरक्षणको नाममा मानवद्वेषी कानुन हामीले बेहोर्दै आएका छौ भन्ने मलाई लाग्छ।
विषयान्तर भए पनि बाँदरको कारण मेरो परिवारले भोग्नुपरेको पीडा थाम्न नसकेर त्यो प्रसंग यहाँ लेखेकी हुँ। अब विषयमै फर्किन्छुु।
मेरो घरमा फराकिलो बारी भएकोले होला, स-साना जनावरहरूको लागि त होटेल/रिजोर्ट समान भएको छ। जनावरहरू आउने गरे पनि मैलै खासै कुनै जनावर चलाउने गरेको थिइनँ। तर एकपटक एउटा घटना घट्यो —
म आफ्नो हजुरबासँग साँझमा बारीमा बसेर गफ गरिरहेकी थिएँ। त्यतिखेरै दुइवटा हुर्किसकेका बिरालोका बच्चा हामीछेउ आइपुगे। बिरालोको मायाले गर्दा मलाई ती बिरालो नजिक जान मन लाग्यो। दुई बिरालोमध्ये एउटा कोमल र मायालु स्वरमा म्याउँ गर्दै मेरो खुट्टामा लटुपुटु गर्न थाल्यो।
बिरालो असाध्यै चञ्चल थियो। मैले बिरालोको हिस्सी परेको अनुहार देखेँ र मायालाग्दो स्वरले ‘म्याउँ’ गरेको सुनेँ। मैले आफ्नो हातले बिरालोको टाउकोमा हलुका र मायालाग्दो गरी मुसारेँ। घाम डुबेको केहीबेर भइसकेको थियो। सन्ध्या गाढा हुन थालेको थियो। म घरभित्र जान खोज्दा त्यो बिरालोले मलाई पछ्यायो।
बिरालोले मलाई निकै माया गरेको जस्तो लाग्यो। तर घरभित्र बिरालो पसेमा बाबाले लठ्ठी देखाउँदै थर्काकाएर धपाउनुहुन्छ भन्ने मलाई अनुमान थियो। त्यसैले जसोतसो मैले बिरालोलाई घरभित्र आउन दिइनँ। केही समयपछि ढोकाबाहिर त्यो बिरालो पहिलेभन्दा अलि ठूलो आवाजमा ‘म्याउँ’ गर्न थाल्यो।
उसको आवाज सुनेपछि दौडेर ढोकाबाहिर गई मैले उसलाई हेरेँ। अलिकति ढोका उघारेपछि बिरालो दौडेर मेरो कोठाभित्र छिर्यो। मेरो भाइ बिरालोसँग डराउँदो रहेछ। भाई चिच्याएको सुनेर मेरो बाबा कुँदेर आइपुग्नुभयो। उहाँले थर्काएर लौरो प्रहार गर्नलाग्नुभयो।
एक्कासी मैले चिच्याएर भनेछु, ‘मेरो छोरालाई पिट्ने?’
बाबा छक्क पर्नुभयो। बिरालो आफ्नो ज्यान जोेगाएर बाहिर भाग्यो। मैले बिरालोसँग खेलेको थाहा भएपछि मेरा आमाबुवा निकै रिसाउनुभयो। मलाई अबदेखि बिरालोसँग नखेल्नु भनेर चेतावनी दिनुभयो। मैले वहाँहरूको कुरा प्रतिवाद गरिनँ। उहाँहरुको कुरा अज्ञाकारी बनेर सुनिरहेँ।
भोलिपल्ट स्कुलबाट आउँदा बाहिरको गेट खोल्नेबित्तिकै बिरालो फेरि गेट बाहिर देखियो। मलाई पछ्याउँदै मेरो कोठासम्म आइपुग्यो। मेरो आमाबुवा अफिसमा जानुभएकाले मैले उसलाई भित्र आउन दिएँ। भाइ पनि स्कुलमा थियो। बिरालोलाई हानी गर्ने घरमा कोही थिएनन्।
बिरालोलाई भोक लाग्यो होला भनेर मैले उसलाई दूध तताएर दिने निर्णय गरेँ। आमाले कहिलेकाहीँ दूध तताउन भन्दा म अल्छी गर्थे र बहाना बनाउँथे। बाबाले एक ग्लास पानी माग्दा मान्दिनथेँ। तर स्कुलबाट आएर थकाइ लागे पनि बिरालोलाई दूध ख्वाउन भने मलाई जति पनि जाँगर चल्ने रहेछ। मैले भान्सामा भएको कचौरामा दूध तताएर हालेँ र बिरालोलाई खान दिएँ। उसले दुई कचौरा दूध सिनित्तै पा–यो।
त्यस घटनाको केही समयपछि सात वर्षको मेरो भाइ स्कुलबाट आयो अनि मैले बिरालोलाई बारीमा लिएर गएँ। बिरालोलाई देखेपछि भाई रिसायो र पानी छ्याप्न खोज्यो। बिरालो पानीदेखि डराउँछ भन्ने उसले ‘गुगल सर्च’ बाट थाहा पाएको रहेछ। भाइलार्ई मैले गाली गरेँ। त्यसपछि भाइले रूँदै आमालाई फोन गरेर भन्यो, 'दिदीले मलाई माया गर्दिन। बिरालोलाई मात्र माया गर्छे।'
मैले भाइलाई बुझाउन खोजेँ। घर आएपछि आमा पनि रिसाउनुभयो। बिरालोलाई मान्छेले खाने कचौरामा दूध दिएको भनेर गाली गर्नुभयो। बाबा पनि अफिसबाट आउनुभएपछि मलाई निकै गाली गर्नुभयो।
त्यो बिरालोलाई नछोड्ने कुरा बाबालाई सुनाउँदै मैले भने, 'आफ्नो छोरीप्रति यस्तो अत्याचार गर्ने? हजुरलाई पाप लाग्छ।'
मैले झनै गाली खाएँ। आमाले पनि अर्को कोठाबाट गाली गर्दै भन्नुभयो, ‘बिरालोले टोके वा चिथोरे रेबिजको १४ वटा सुई पेटमा लगाउनु पर्छ। त्यसपछि थाहा पाउँछेस्।’
उहाँहरूको पालामा रेबिजको सुई लगाउनुपर्दा १४ वटा हुने रहेछ। यति गाली खाइसकेपछि पनि स्कुलबाट आउनेबित्तिकै बिरालोसँग खेल्न छोडिन।
एकदिन अपरान्ह बिरालोसँग खेल्दा खेल्दै झुक्किएर बिरालोको नङ्ग्रा मेरो हातमा कोपरिएर ठूलो घाउ बनायो। मैले वास्तै गरिन। भाइले चाल पाएछ। खबरीझैं उसले आमालाई फोन गर्यो र बिरालोले मलाई चिथोरेकोे वृत्तान्त सुनायो।
आमाले घर आउनैबित्तिकै मेरो हात हेर्नुभयो। बिरालोले कोपरेको घाउ देखेपछि आँखा तरेर भित्र जानुभयो। बाबाले पनि अफिसबाट आउनेबित्तिकै थाहा पाउनुभयो र ढाडमा प्याट्ट पिटनुभयो। म रूँदै भित्र छिरेँ। आमाले रेबीज सम्बन्धी जानकारी भएको चिकित्सकलाई सम्पर्क गर्नुभयो। चिकित्सकले हस्पिटलको इमर्जेन्सीमा आएर रेबिजको सुई लगाउने सुझाव दिनुभएछ।
आमा–बाबाट गाली खाएकाले हस्पिटलमा पनि म रोएको रोयै गरेँ। मैले तीनपटक त्यो हस्पिटलमा जानु पर्यो। रेबिजको सुई लगाउँदा अरू सुईभन्दा निकै दुख्दो रहेछ। दुबै हातमा लगाउनु पर्ने रहेछ। गाली खाएकाले गर्दा म दुई दिन भोक हड्तालमा बसेँ। यति हुँदाहुँदै मैले लुकेर बिरालोसँग खेल्ने काम जारी राखेँ।
एकदिन अचानक त्यो बिरालो हरायो। एक सातादेखि हाम्रो बारीमा बिरालो आएको छैन। बारीमा त्यस्तै रंगको अन्य बिरालो आएका छन् तर मैले छोरो मानेर खेल्ने गरेको त्यो बिरालो आएको छैन। आमाले त आफ्नो छोरोलाई अवश्य चिन्छे भन्ने म मान्छु। त्यसैले मैले आफ्नो बिरालो नआएको कुरा थाहा पाएको छु।
दुई–तीन दिन मलाई एकदम चिन्ता भएको थियो। अहिले पनि बिरालो आउला भन्ने आशा थोरै भए पनि बाँकी छ। बिरालोले कोपरेर बनेको घाउँको दागलाई मायाको चिनोको रूपमा हेर्छु। बिरालो जता भए पनि पुत्रस्नेह मेरो मनमा सजीव रहनेछ।
(ऋतम्भरा ढुंगाना पाठशाला नेपाल फाउण्डेसन, मध्य बानेश्वर, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)