सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
इस्टरको बिदा थियो। बिहान ८ बजे ब्रेकफास्ट खाएपछि केही खानेकुरा ब्यागमा राखेर हामी निस्कन तयार भयौं। तर कहाँ जाने भन्ने मलाई थाहा थिएन।
बाबाले 'घुम्न जाने' मात्र भन्नु भएको थियो। मैले 'कहाँ जाने?' भनेर सोधेको थिइन। जे होस्, मलाई खुसी लागिरहेको थियो किनकि ठाकुर अंकल, रमा आन्टी, प्रनिस भाई, प्रनुसा र प्राश्ना दिदीहरू पनि घुम्न जाने कुरा थियो। हामी ७ जना ठाकुर अंकलको गाडीमा घुम्न निस्कियौं।
बाटोमा गहुँबारी र तोरी बारी देखियो। गिमेल भन्ने ठाउँमा तोरी फूल्दै गरेको हेरेर रमायौं। बाटो राम्रो थियो। गाडीको स्पिड पनि धेरै नै थियो। मजा आइरहेको थियो।
हामी गाडीमा पहाडतिर गयौं। बाटो नागबेली जस्तो थियो। मलाई अर्घाखाँचीबाट मेरो घर जाने बाटो जस्तो लाग्यो। तर सफा र चिल्लो थियो। मलाई बान्ता भयो। घुम्ती भएकाले बान्ता भएको भनेर अंकलले गाडी रोकेर मलाई नआत्तिन भन्नुभयो। मैले पनि कन्फिडेन्स बढाएँ। भाइसँग कुरामा भुल्दै गएँ। त्यसपछि हामी अगाडी बढ्यौं।
बाटामा धेरै गाई र घोडाहरू देखियो। पहाड माथि पुगेपछि एउटा बस्ती देखियो। त्यो बस्ती राम्रो थियो। मलाई गुल्मीको मेरो गाउँ याद आयो। जताततै हरियाली थियो। म प्रकृतिमा डुब्दै थिएँ। एकछिन हेरेर हामी त्यहाँबाट हिँड्यौं। एउटा शान्त र धेरै राम्रो बस्तीमा पुग्यौं।
'लेक दि जु' भन्ने ठाउँको स-साना पोखरीहरू नजिक हामी एउटा टेबलमा बस्यौं र चटपटे खायौं। रमा आन्टीले मिठो चटपटे बनाउनुभएको थियो। नेपालमा मेरो आन्टीले पनि बेलाबेला चटपटे बनाएर खुवाउनुहुन्थ्यो। मैले त्यो सम्झिएँ। त्यहाँका मानिसहरू हामी त्यसरी बसेर खाएको देखेर खुसी भए।
बाबाले हामीलाई पोखरीमा ढुंगा फालेर छाल निकाल्न सिकाउनुभयो। हामी त्यहाँ धेरै बेर खेल्यौं। प्रकृतिमा खेल्न र बस्न निकै रमाइलो भयो।
हामी हिउँ परेको बेला स्केटिङ खेल्ने ठाउँ पनि अंकलले देखाइदिनुभयो। तर त्यतिखेर हिउँ परेको थिएन। त्यसपछि हामी भालर्ब पुग्यौं। त्यहाँ एउटा पहाडमा गुफा रहेछ। टिकट लिएर गुफाभित्र पुगेपछि एउटा प्वालबाट खोला निस्किएको देखियो।
सबैभन्दा माथि एउटा ठाउँ थियो। त्यो ठाउँमा एउटा रातो मान्छे जस्तो देखिन्थ्यो। गीत पनि सुनिन्थ्यो। खोला, झरना, सेता ढुंगाहरू त्यही गुफाभित्र थिए। विभिन्न आकारका ढुंगाका मूर्ति धेरै थिए। गुफा भित्र नै हामीले भर्याङ चढ्यौं। पुल तर्यौं। कत्ति धेरै चिज देखियो। जता जाँदा पनि सेन्सरबाट बत्ति बल्ने रहेछ।
गुफाभित्र विभिन्न नम्बर लेखिएको थियो। ४२ नम्बर पुग्दा त कुनै ठूलो राजदरबार पुगेजस्तो लाग्यो। बाबालाई त स्वर्ग यस्तै हुन्छ जस्तो लाग्यो रे। माथि खुल्ला, संगीतसहितको रमणीय ठाउँ। छुट्टै ग्रहजस्तो!
गुफाबाट बाहिर निस्कने ठाउँमा धेरै देशबाट ल्याएका ढुंगाहरू राखिएका थिए। ती अनौठा आकारका थिए। त्यहाँबाट तल सुस्याइरहेको खोला थियो। तल हेर्दा डर लाग्दो थियो। तर बाबाले सुरक्षित छ भन्नुभयो अनि डर लागेन। पोहोर बाबा, मामा र अंकलसँग पोखरा जाँदा हेरेको सेती नदी जस्तो लाग्यो।
हामीलाई काउन्टरमा दिनुभएको चकलेट खाँदै हामी त्यहाँबाट निस्कियौं। त्यहाँबाट 'सो दु दे' मा झरना हेर्न गयौं। मैले त्यस झरनाको नाम बिर्सिएँ।कति सफा सेतो फोहोरासितको झरना थियो। मानिसहरू त्यहाँ हाइकिङ जाने रहेछन्।
हामीले बल पनि खेल्यौं। प्रनिस भाइले बल लगेको रहेछन्। त्यहाँका केही ठूला मानिस र केही बच्चाहरू पनि हामीसँग खेल्न आए। त्यो पनि निकै रमाइलो भयो। फर्कँदा लोजानको लेक साइडमा डिनर गर्यौ। मलाई त त्यो दिन सपनामा छु कि जस्तो भयो। कति राम्रो ठाउँ!
भाई र दिदीहरूसँग सुन्दर हरियाली भएको ठाउँमा खेल्न पाएँ। नबुझेको कुराहरू बाबा र अंकलले बुझाइदिनुभयो। आन्टीले बेलाबेला खानेकुरा खुवाउनुभयो।
मैले इस्टरको बिदामा धेरै कुरा देखेँ। भलोर्ब गुफाभित्र के-के छ भनेर जति भने पनि त्यो शब्दमा बताउँनै सकिन्न। त्यस गुफाबाट मैले धेरै ज्ञान पनि पाएँ। एकदम रमाइलो भयो। आखिर जिन्दगी भन्नु यसरी घुम्नु अनि रमाउनु नै त हो।
(दर्शन भुसाल कक्षा ७ मा अध्ययनरत छन्। हाल उनी जेनेभा, स्विट्जरल्यान्डमा बस्छन्।)