सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो घर बागलुङ हो। म दुई वर्षदेखि पोर्चुगलमा मेरो मम्मिबाबासँग बस्छु। मेरो हजुरआमा, हजुरबुवा, दिदी, दाजु, ठूलोबाबा, ठूलोमम्मि लगायत आफन्तहरू नेपालमा बस्नुहुन्छ। म उहाँहरूलाई निकै सम्झिरहन्छु।
मैले पढेको नेपालको स्कुलका साथीहरूको निकै याद आउँछ। घरमा सबैजना सँगै बसेर कुराकानी गर्दै खाना खाएको याद आउँछ। यहाँ विदेशमा त आमाबाबासँगै बसेर खाना खान एक हप्ता कुर्नुपर्छ। सँगै घुम्न जाने त कहाँ हो कहाँ! बाबाको बिदा हुँदा मम्मिको काम! मम्मिको बिदा हुँदा बाबाको काम!
मैले नेपालको याद गरिरहँदा बाबाले भनिरहनुहुन्थ्यो, 'तिमिलाई नेपालको झन्डा भएको ठाउँमा लैजान्छु।'
उहाँले यो भन्नुभएको धेरै समयपछि बल्ल हामी पोर्चुगलको ओरन्ते गयौं जहाँ विश्वका विभिन्न देशका झन्डा थिए। त्यहाँ पुग्नासाथ बाबाले सोध्नुभयो, 'खै नेपालको झन्डा?'
धेरै झन्डा भएकाले आँखा तिरमिराए। केही बेर हेरेपछि मैले मेरो देशको प्यारो झन्डा भेटेँ। झन्डा टाँगिएको पोलमा बेस्सरी अंकमाल गरेँ। हजुरबुवा, हजुरआमासँग अंकमाल गरेको अनुभुति भयो।
झन्डा हेरेपछि मैले भने, 'अब नेपालको धेरै याद आयो भने यहाँ आउने है?'
मामुले 'हस्' भन्नुभयो।
नेपालमा हुदाँ झन्डाको महत्त्व कम हुने रहेछ। विदेशमा आफ्नो देशको झन्डा देख्दा मन निकै खुसी हुँदो रहेछ।
(संयम खरेल लिस्वोन पोर्चुगलको एन्टोनियो नोब्र स्कुलमा अध्ययनरत छन्।)