सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
गएको शनिबार बाबा र आमासँग म काठमाडौंको बुढानिलकण्ठमा रहेको बटरफ्लाई होम (पुतलीको घर) गएको थिएँ। सिएनएन हिरो पुष्पा बस्नेत र साथीहरुले सुरू गर्नु भएको परोपकारी संस्था प्रारम्भिक बाल विकास केन्द्र नै बटरफ्लाई होम रहेछ। बालबालिका जसका अभिभावक कारागारमा छन् उनीहरूलाई बस्ने, खाने, सुत्ने, पढ्ने खेल्ने आदी व्यवस्था त्यहाँ गरिएको रहेछ।
पुष्पा बस्नेतको साथी रुपा मिसले हामीलाई बटरफ्लाई होम भित्र घुमाइदिनु भयो। त्यहाँ मैले धेरै दिदी बहिनीहरूलाई भेट्न पाएँ। हामी पुग्दा उनीहरू कोही पढिरहेका थिए त कोही खेलिरहेका थिए।
टेक्वान्डो खेल्ने, संगीत सिक्ने, पढ्ने, सुत्ने, खाना पकाउने र खाने, पुस्तकालय लगायतका कोठाहरू मैले देख्न पाएँ। ती कोठाहरू निकै सफा थिए।
मलाई भित्तामा टाँसिएका पुरानापुराना तस्बिरहरूले मन छोयो। त्यहीँका साथीहरूले विभिन्न प्रतियोगितामा पाएका पुरस्कारहरू पनि सजाएर राखिएको थियो। त्यहाँ बसेर, पढेर ठूला भएका केही साथीहरू विदेश पढ्न पनि गएका रहेछन्। मलाई भित्तामा टाँगिएका चित्रहरू पनि धेरै मन पर्यो। ती सुन्दर चित्रहरू त्यहीँका साथीहरूले बनाएका रहेछन्।
हामीले करेसा बारी पनि हेर्यौं। त्यहाँ सबैजना मिलेर तरकारी फलाइँदो रहेछ। हामीले बारीमा फलेको अमला पनि टिपेर खान पायौं। भोलि म ठूलो भएपछि यस्तै संस्थामा गएर सघाउन गर्न मन छ।
(सुभिका घिमिरे काठमाडौं प्रज्ञा कुञ्ज विद्यालय, नयाँ बानेश्वरको कक्षा तीनमा अध्ययनरत छिन्।)