सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
म स्कुलबाट घर आएर खाजा खाएपछि होमवर्क गर्छु। बेलुका एकछिन मेरो बा-आमा (हजुरबा हजुरआमा) सँग चउरतिर घुम्न जान्छु। बा-आमासँग हिँड्दा म जत्रै साथीहरू आफैँ साइकल चलाएर दौडिइरहेका हुन्थे। यो देखेर मलाई पनि साइकल चलाउन मन लाग्थ्यो।
मैले यो कुरा आमालाई भनेँ। आमाले घर आएर बाबालाई भनिदिनुभयो। एक सातापछि वैशाख २३ गते मेरो जन्मदिन थियो। मेरो ममिबाबाले मेरो जन्मदिनमा मलाई एउटा साइकल किनिदिनुभयो। म एकदम खुसी भएँ। साइकलको पछाडि थप दुईवटा साना पांग्रा पनि थिए। त्यसले साइकल नलड्ने रहेछ। त्यसपछि म पनि बेलुका सँधै बा-आमा सँग साइकल चलाउन जान थालेँ। कहिले ममिसँग त कहिले बाबासँग पनि जान्छु।
बाबाले मलाई साइकल चलाउन सिकाउनुनुभयो। मैले पनि चारवटा पांग्रा भएको साइकल सजिलै चलाउन सक्ने भएँ। एकदिन बाबाले पछडिका दुइवटा साना पांग्रा झिकिदिनुभयो। अनि त म साइकल चढ्ने बित्तिकै लडेँ। त्यसपछि म साइकल चढ्नै डराएँ। बाबाले 'म समातिदिन्छु चलाउ' भन्नुभयो र पछाडि समातिदिनुभयो। साइकल लडेन। पहिलाको जस्तै चलाएँ।
अहिले त बाबाले नसमातिकन पनि म मजाले साइकल चलाउँछु। मैले साइकल चलाएको हेरेर मेरो बा-आमा र ममि-बाबा एकदम खुसी हुनुहुन्छ। मेरी बहिनी भने 'म पनि चलाउँछु' भन्दै मेरो पछि-पछि दौडिन्छिन्। अनि बाबाले बहिनीलाई पनि मलाई जसरी नै साइकलको पछाडि समातेर चलाइदिनिहुन्छ। बहिनी पनि खुसी हुन्छिन्।
आजभोलि म एक्लै साइकल चलाउन सक्छु। अरू गाडी र मोटरसाइकल आउने ठाउँमा भने चलाउँदिन। यस्तो ठाउँमा एक्लै चलाउन हुँदैन किनभने दुर्घटना हुन सक्छ। कुनै पनि काम आफूभन्दा ठूला र जान्ने सँग सँगै बसेर र सोधेर गर्यो भने सजिलै सिकिँदो रहेछ। धेरै गाह्रो काम पनि जानेपछि सजिलो हुने रहेछ।
(सुप्रिम पण्डित प्रतिभा सेकेन्डरी स्कुल, पोखरामा कक्षा २ मा अध्ययनरत छिन्।)