सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
हाम्रो तेस्रो त्रैमासिक परीक्षा पुषको २५ गते सकियो। विद्यालयमा १२ दिनका लागि जाडो बिदा भयो। स्कुल माघ १० गते खुल्ने कुरा भयो। यो बिदामा मलाई घुम्न जान मन लाग्यो। मेरा साथीहरू पनि यस्तो बिदामा कतै घुम्न जाने कुरा गरिरहेका थिएँ।
मैले घरमा आएर मम्मीबाबालाई यो कुरा भनेँ। मलाई यो बिदामा घुम्न जान मन लागेको कुरा गरेँ। हामी गएको वर्ष पनि मुस्ताङ, जोमसोम मुक्तिनाथ, पोखरा, बाग्लुङ र कालिका घुम्न गएका थियौँ।
यसपटक दसैँमा गाउँ जाने बेलामा बाबा, मम्मी, बुवा, बहिनी, मामा, माइजु, भाइ, बहिनी अर्घाखाँचीको सुपादेउराली मन्दिर गएका थियौँ। यो मन्दिर पनि म पहिलोपटक गएको थिएँ। अहिले जाडो बिदामा देवघाटधाम र सौराह घुम्न जाने कुरा भयो। यो कुरा सुनेर म र बहिनी धेरै खुसी भयौँ।
हामी पुषको २८ गते नै जाने कुरा भए पनि बाबालाई अलि सन्चो नभएकाले नजाने कि भन्ने भयो। त्यसमाथि बसको टिकट पनि पाइएन। बाबाले नजाने भन्नुभयो। मलाई नरमाइलो लाग्यो।
हामीले १ महिनाअघि अंग्रेजीको 'माइलस्टोन' किताबमा 'सौराहाः अ प्रिस्टाइन ल्यान्ड फर नेचर लभर' भन्ने पाठ पढेका थियौँ। त्यो किताबमा चितवन र सौराहाको बारेमा सबै कुरा लेखेको थियो। मलाई त्यहाँ कहिले जाने होला भन्ने भएको थियो।
अर्को दिन पुष २९ गतेको लागि गाडीको अनलाइन टिकट पाइयो। बाबालाई पनि अलि सन्चो भयो। अनि हरि ठूलोबाबा, ठूलीमम्मी, दादा, दिदी, बाबा, मम्मी, म र आरूसी (बहिनी) घुम्न जाने भयौँ। गाडी चढ्न बिहान ६ः ३० मा सोह्रखुट्टे जानुपर्ने भयो। त्यस दिन बिहान ५ बजे मम्मीले बहिनी र मलाई उठाउनुभयो।
उठेर मुख धोएँ। ब्रस गरेँ। कपडा लगाएर पानी खाएँ। हामीले चिया पनि खायौँ। बाबाले ट्याक्सी बालाउनुभयो। ट्याक्सी चढेर हामी सोह्रखुट्टे गएर बस चढ्यौँ। हामी गएको एकछिनपछि भक्तपुरबाट ठूलोबाबा र ठूलीमम्मी पनि आइपुग्नुभयो। हामी सबै बसमा बस्यौँ।
बस त्यहाँबाट हिँडेपछि नौबिसेमा गएर रोकियो। हामीले त्यहाँ कफी खायौँ। दादाले मलाई र बहिनीलाई लेज र चिजबल किनिदिनुभयो। गाडी हिँड्न थाल्यो। हामीले गाडीमा बसेर खायौँ। मैले बसबाट त्रिशुली नदी, भिर अनि राम्रो जंगल पनि देखेँ। मलाई खुब रमाइलो लाग्यो। यो बाटो घर जाँदा र आउँदा धेरै पटक हिँडिन्छ। तर नाइटमा हिँडिन्छ। निदाइन्छ। यसपटक हामी बिहानै हिँडेका थियौँ।
खाना खान गाडी बेनिघाट गएर रोकियो। हामी सबैले हात धोएर खाना खायौँ। आधा घण्टापछि बस चल्यो। म गाडीबाट जंगल, भिर, पहाड, नदी हेरेर बसेँ। गाडी जाममा पनि परेन। हामी १ बजे सौराह पुग्यौँ। बसबाट झर्यौँ। बाबाले र ठूलोबाबाले त्यहाँका मान्छेसित केही कुरा गर्नुभयो।
जिपमा चढेर हामी त्यहाँको होटेलमा गएर हाम्रा सामान राख्यौँ। जंगल सफारीका लागि अर्को ठूलो १२ जना अट्ने जिप आयो र त्यसमा चढ्यौँ। त्यो जिपमा त्यहाँको एक जना गाइड अंकल पनि हामीसँग हिँड्नुभयो। उहाँले हामीलाई त्यहाँको घाँस भएको ठाउँ र जंगल अनि जनावरहरूका बारेमा बताउनुभयो।
त्यो जिपमा छत थिएन। मान्छे धेरै कराउँदा जनावरहरू भाग्छन् अरे। धेरै हल्ला गर्न नहुने रहेछ। सुरूमा हामीले मृग देख्यौँ। साइबेरियाबाट जाडोमा नेपाल आएका 'लभ बर्ड' राप्तीमा खेलेको पनि देखेँ। यिनीहरूलाई पाहुना चरा पनि भनिने रहेछ। तिनीहरू हाँसजस्ता देखिने रहेछन्। यिनीहरू आकाशमा उड्दा हवाइजहाजभन्दा माथिबाट उडेर आउने हुनाले जहाजसँग नठोकिने कुरा गाइड अंकलले हामीलाई जिप रोकेर बताउनुभयो। हामीलाई यो कुरा देखाउनुभयो र भन्नुभयो।
मैले गोही देखेँ। गोही दुई प्रकारका हुँदा रहेछन्। मगर गोही र घडियाल गोही। यो कुरा पनि अंकलले बताउनुभयो। गोही पानी बाहिर बसेर घाम तापेको पनि हामीले देख्यौँ। मोबाइल र टिभीमा मात्र देखेका यस्ता जनावर आफ्नै आँखाले प्रत्यक्ष देख्न पाउँदा धेरै खुसी लाग्यो। जिपमा जंगल सफारी गर्ने र जनावर हेर्ने मेरो रहर पूरा भयो।
बाबाले घुमेर आएपछि एउटा-एउटा लेख लेख्नुपर्छ भनेर हामीलाई भन्नुभएको थियो। त्यसैले बहिनी र मैले गाइड अंकललाई सोधेर उहाँले बताउनुभएका कुरा एक-एक गरी सम्झेका थियौँ। जिपमा सफारी २ घण्टादेखि २ घण्टा तीस मिनेटसमको हुने रहेछ। सफारी गर्दा बाबा र ठूलोबाबाले 'हामीलाई बाघ पनि देखाउनुपर्छ है, भाइ' भनेर गाइड अंकललाई भन्नुभएको थियो। तर बाघ देखिएन।
सौराह एउटा ठूलो जंगल रहेछ। त्यहाँ मैले २ ओटा गैँडा पनि चरेको देँखे। हामीले एकछिन जिप रोकेर तिनीहरूलाई हेर्यौँ। एक घण्टा १५ मिनेटमा हाम्रो ब्रेक भयो। त्यहाँ एउटा ताल रहेछ। त्यस तालमा माछा पालिएको रहेछ। तालको बिचमा खाजा खाने ठाउँ रहेछ। मलाई आइसक्रिम खान मन लागेको थियो तर चिसो लाग्छ भनेर बाबाले नखाऊ भन्नुभयो। अनि हामीले बदाम र जुस खायौँ।
हामी जस्तै अरू थुप्रै मानिस जिप सफारी गरेका थिए। सबै जिप त्यहाँ रोकिने रहेछन्। १५ मिनेटको ब्रेकपछि हाम्रो यात्रा फेरि सुरू भयो। अनि हामीले हात्ती पनि देख्यौँ। जंगलमा मृग र कालिज धेरै नै देखिने रहेछन्। यस्तो रमाइलो हेर्दै, फोटो खिच्दै हामी हाम्रो सामान राखेको होराइजन रिसर्टमा आइपुग्यौँ। यसरी हाम्रो जिप सफारी समाप्त भयो।
हामी बस्ने होटल नजिकै एक जना अंकलले हात्ती ल्याउनु भएको थियो। मैले हात्तीलाई पैसा पनि दिएँ। अनि एकछिन बाहिर घुम्न निस्कियौँ। त्यहाँ चिया खाजा खायौँ। त्यो ठाउँ नेसनल पार्क (राष्ट्रिय निकुञ्ज) वरिपरि रहेछ। काठमाडोँबाट धेरै मानिस गाडी लिएर र हामी जस्तै बिदामा घुम्न आएका रहेछन्।
रात पर्न थालेको थालेको थियो । हामी त्यही होटलमा फर्कियौँ। भोक धेरै लागेको थियो। त्यहाँको मिठो खाना खाएर क्याम्प फायरिङ पनि गर्यौँ। अनि टिभी हेरेर सुत्यौँ।
अर्को दिन
यो दिन माघ १ गते माघे संक्रान्तिको दिन थियो। बाबाहरू ४ः ३० मा उठ्नुभएको रहेछ। म ५ः ३० मा उठेँ। मुख धोएर ब्रस गरेर पानी पिएँ। अनि होटेलको अंकलले एउटा गाडी बोलाइदिनुभयो। हामी बिहान ६ः ३० बजेतिर देवघाट दर्शन गर्नका लागि गाडीमा बस्यौँ। धेरै हुस्सु लागेको थियो।
संक्रान्तिको दिन भएर होला बाटाभर गाडीको जाम र मानिसहरूको भिड थियो। ७ः३० बजेतिर हामी देवघाट पुग्यौँ। मान्छेको भिड त कति कति। त्रिशुली नदी र गण्डकी नदी एक ठाउँमा तल गएर मिसिएको कुरा ठूलो बाबाले बताउनुभयो। हामी डुंगा चढेर पारी गयौँ। एक जना मानिसको ५० रूपियाँ भाडा लाग्ने रहेछ।
नदी धेरै ठूलो थियो। मेला धेरै रमाइलो थियो। म र बहिनी मेलामा धेरै रमायौँ। बाबा, ठूलो बाबा, मम्मी, ठूली मम्मीले नुहाएपछि गण्डकी नदीमा बहिनी र मैले पनि नुहायौँ। पानी धेरै चिसो लागेन। एकछिनपछि मेला हेर्दै हामी गलेश्वर आश्रममा गयौँ। मैले पनि त्यहाँको मन्दिरमा पूजा गरेँ।
त्यहाँको हरिहर आश्रम नजिकै एक जना जिजुआमा (हजुरबुवाको माइजु) बस्नुहुँदो रहेछ। उहाँलाई भेट्यौँ। एकछिनपछि त्यहीँ खाना खायौँ। हामी त्यो आश्रमको नजिकै यताउता घुम्यौँ। दौडियौँ। अनि त्यहाँबाट फर्किने बेलामा झोलुंगे पुलमा लामो लाइन थियो। हामी लाइनमा बसेर पुल तर्यौँ।
मानिसहरूको आउने र जाने धेरै लामो भिड थियो। पुल धेरै हल्लिएको थियो। कोही डराएर चिच्याएका पनि थिए। कोही रमाइलो पनि मानिरहेका थिए। पुलबाट तल नदीमा हेर्दा रिंगटा लाग्यो मलाई त। पुल तरेर वारि आएपछि एउटा ट्याक्सी जस्तै गाडीमा बसेर नारायणघाटको बसपार्क आयौँ।
काठमाडौँ आउने एसी बस चढ्यौँ। बस चढेको एक घण्टापछि खाजा खान रोक्यो। खाजा खाएर हामी हिँड्यौँ। त्यसको दुई घण्टापछि हामी जाममा पर्यौ। त्यो ठाउँ भोर्ले भन्ने ठाउँ रहेछ। हामी तीन घण्टा जाममा बस्नु पर्यो। त्यहाँ पहिरो गएर जाम परेको बसको अंकलले भन्नुभयो। त्यही रात पर्न थाल्यो। जाम खुलेपछि बस हिँड्यो। हामी गाडीमा निदाएछौँ। धार्के आएर बाबाले खाजा खान उठाउनुभयो। खाजा खाएर बस हिँड्यो।
रातको १० बजे हामी कलंकी आइपुग्यौँ। बाबाले ट्याक्सी बोलाउनुभयो। ट्याक्सी चढेर हामी शंखमूल आयौँ। यसपालिको जाडो बिदा मैले यसरी मनाएँ। अर्को दिन बाबाले हामी कहाँ-कहाँ गयौ र केके गर्यौ भनेर सबै लेख्न भन्नुभयो। सबै कुरा सम्झेँ र यो लेख लेखेँ।
(आर्ष अर्याल एआइए स्कुल, शंखमुल काठमाडौँमा कक्षा ४ मा अध्ययनरत छन्।)