सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
दसैँ मनाएर फर्किने बेला नै जाडो बिदामा फेरि घर जानुपर्छ भन्ने सोचिसकेको थिएँ। स्कुलले जाडो बिदा दिएपछि आमासँग म र बहिनी गाउँ हिँड्यौँ।
मेरो घर गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर १ मा पर्छ। मेरो घरमा हजुरबा र हजुरआमा हुनुहुन्छ। घरमुनिको सडकमा पुग्दा हजुरबा, हजुरआमा आँगनमा बसेर हामी आउने बाटो हेरिरहनुभएको थियो। म दौडिएर हजुरबा, हजुरआमा भएको ठाउँमा पुगेँ।
वहाँहरूले म र बहिनीलाई पालैपालो काखमा बोक्नुभयो र भन्नुभयो, 'आए हाम्रा मुटुका टुक्राहरू।'
गाउँ पुग्नेबित्तिकै म यताउता नियाल्न थाले। आहा! पिँढीदेखि आँगनसम्म, बार्दलीदेखि बारीका डिलसम्म मौरीका घारैघार। भुनभुनाउँदै मौरी उडेको हेर्दा खुब मज्जा आयो। तिनीहरू पहेँला–पहेँला केही कुरा बोकेर आ–आफ्ना घारभित्र छिरिरहेका थिए। घारभित्रबाट रित्तै बाहिर निस्किएर टाढासम्म उड्ने मौरी पनि उत्तिकै थिए।
मैले आमालाई सोधेँ– यी मौरीहरूले पहेँलो के चिज बोकेका आमा?
आमाले भन्नुभयो– यिनीहरूले कुट बोकेका हुन्। कुट भनेको विभिन्न फूलका रस हो। यही कुट जम्मा गरेर यिनीहरूले मह बनाउँछन्।
मैले आमासँग मह खाने रहर गरेँ। आमाले भाँडोबाट एक चम्चा निकालेर दिनुभयो। महको स्वाद त मलाई पहिल्यै थाहा थियो। आमाले काठमाडौँमा पनि कति धेरै पठाइदिनुहुन्थ्यो। हाम्रो घरमा ३० घार मौरी छन्। तिनीहरूले एकछिन नबसी दुःख गरेको देख्दा र महको स्वाद लिँदा मैले बुझेँ– दुःखको फल निकै मिठो हुने रहेछ।
मौरी हेर्दाहेर्दै साँझ पनि परिसकेछ। आमाले लुगा फेरिदिनुभयो। खाना खाने बेला पनि भएछ। स्कुल छुट्टी भएर त्यसै दिन ठूलोबा पनि घर आउनु भएको थियो। भान्सा कोठामा गुन्द्री ओछ्याएर सबैजना सँगै बसेर खाना खायौँ।
भोलिपल्ट ठूलोबाले मेरो लागि क्रिकेट ब्याट बनाइदिनुभयो। घर नजिकैको काठ मिलमा गएर ब्याट बनाएर ल्याइदिनुभएको थियो। बलचाहिँ मैले काठमाडौंबाटै लगेको थिएँ। छिमेकी दाइ–भाइहरूसँग भेला भएर क्रिकेट खेलेँ। उहाँहरूसँग फुटबल र चुङ्गी पनि खेलेँ। चुङ्गी मेरो लागि नयाँ खेल थियो। तर धेरै राम्रो खोलेको भनेर सबैले प्रसंसा गर्नुभयो। खेल्दाखेल्दै दिन बितेको पत्तै भएन।
घर आएको पनि तेस्रो दिन भइसकेछ। त्यो दिन बिहानको खाना खाएपछि हजुरबाले ‘भूकम्प घर’ लैजानुभयो। अहिलेको घरबाट आधा घण्टाजति उकालो हिँडेर ‘भूकम्प घर’ पुगियो। पहिले हाम्रो घर यहीँ थियो रे। २०७२ सालमा ठूलो भूकम्प गएर भत्किएको रे। त्यतिबेला त म जन्मिएको पनि थिइनँ। भूकम्पले भत्काएको त्यही घरलाई हामी ‘भूकम्प घर’ भन्छौं।
अहिले त त्यहाँ झाडी नै झाडी छ। भत्किएको घरको ढुंगा–माटोको थुप्रो मात्रै देखिन्छ। वरिपरि केरा, भोगटे, नासपाती, अमिलो, कागती, लिची, कटहर लगायत फलफूलका बोटहरू अझै छन्। अरू कसैको घर भने छैन।
एकछिनपछि भूकम्प घरबाट हजुरबाले माथि गाउँतिर घुम्न जाउँ भनेर लैजानुभयो। तिमीलाई मेरो बाल्यकालको साथीको घर लैजान्छु भन्नुभयो। उहाँ पूूर्वप्रधानमन्त्री हो भन्नुभयो। मैले नाम सोधेँ। हजुरबाले डा. बाबुराम भट्टराई हो भन्नुभयो। उहाँहरू बाल्यकालमा धुलो भुइँमा परालको चकटी ओछ्याएर, खरी ढुंगाले लेखेर पढ्नुभएको रे। सँगै गाई बाख्रा चराउन पनि जानुहुन्थ्यो रे।
हजुरबाले उहाँहरूको बाल्यकाल बताउँदा बताउँदै बाबुराम हजुरबाको घर पनि पुगिसकिएछ। उहाँ आँगनमै हुनुहुन्थ्यो। मेरो हजुरबाले उहाँलाई चिनाइदिनुभयो। मैले नमस्कार गरेँ। उहाँले मेरो नाम, पढ्ने कक्षा र स्कुलको बारेमा सोध्नुभयो। मैले सबै भनिदिएँ। उहाँले असल बन्नु भनेर आशिर्वाद दिनुभयो।
मैले यताउता सबैतिर हेरेँ। बाबुराम हजुरबाको घरको आँगनबाट त हिमाल देखिने रहेछ। गोरखामा मनास्लु हिमाल छ भन्ने मलाई पहिल्यै थाहा थियो। मैले देखेको हिमाल त्यही मनास्लु रहेछ। सेतो हिमालमा बेलुकातिरको घामको किरण पर्दा सुनौलो रङ पोतेजस्तो मनमोहक देखिएको थियो। आधा घण्टा जति त्यहाँ बसेर हामी घरतिर झर्यौं।
चौंथो दिन घरमा हजुरआमा र आमाले सेलरोटी पकाउनुभयो। सेलरोटी खाँदै खेल्दै रमाइलो गर्यौं। भोलिपल्ट काठमाडौं फर्किने योजना भएकाले आमाले म र बहिनीलाई नुहाइदिनुभयो। पाँचौँ दिन बिहान हजुरआमाले हामीलाई टीका लगाइदिएर काठमाडौँ फर्किन बिदा दिनुभयो। झोलाभरी सेलरोटी, मह, घ्यु, केरा लगायत सामान बोकेर हामी काठमाडौँ हिँड्यौँ।
घर बस्दा भएका सबै रमाइला घटनाहरू मैले काठमाडौँ आएर बालाई सुनाएँ। बा र आमाले मैले भनेका कुरा ल्यापटपमा लेखिदिनुभयो।
(आर्जन देवकोटा एलआरआई, कलंकीमा कक्षा ३ मा अध्ययनरत छन्।)