सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
एकादेशमा एउटा परिवार थियो। त्यस परिवारका सबैजना मोबाइलमा व्यस्त हुन्थे।
त्यस घरका बुबा हतारमा खाना खाएर अफिसमा काम गर्न जान्थे। घरमा आमा, छोरा र छोरी मात्रै हुन्थे। छोरा र छोरी जहिल्यै आमाको मोबाइल कसले लिने भनेर झगडा गर्थे। खानेबेला मोबाइल हेरेर खान्थे। विद्यालयमा तनाव लिएर कक्षाकार्य गर्थे। जब अन्तिम घण्टी लागेर घर आउँथे, तब फेरि दुवै छोराछोेरी मोबाइल चलाउन तम्तयार हुन्थे।
यसरी नै समय बित्दै थियो। धेरै समयसम्म मोबाइल हेरेको कारण दुवै छोराछोरीको आँखामा चस्मा लगाउनु पर्यो। आमाबुवालाई पनि झनै तनाव भयो। त्यो तनावले गर्दा सबैले एक-अर्कालाई समय दिनै छोडे।
बुवाको जागिर पनि गयो किनभने उसले काम गर्ने साना कर्मचारीलाई धेरै हप्काउँथ्यो। त्यसपछि आफ्नो घर, गाडी, गरगहना, सर-सामान सबै बेचेर एक करोड कमाए। एक करोडको आधी त ऋण चुकाएरै सक्काए।
बुवाले मादक पदार्थ पनि खान थाले। सबै सत्यानाश हुँदै गयो। परिवारलाई मरूम् कि बाँचुम् भनेजस्तै थियो। त्यसैले उनीहरूको जीवनमा तनाबै तनाव थियो।
एक दिन उनीहरूले एउटा भिक्षुलाई भेटे। तिनीहरूलाई थाहा थिएन कि त्यो भिक्षुले गर्दा तिनीहरूको जिन्दगी बदलिन्छ।
भिक्षुलाई तिनीहरूले बताए, 'भिक्षु, हामी अति धनीबाट गरिब भयौँ। हामीले त केही नराम्रो त गरेको थिएनौँ।'
भिक्षुले सोधे, 'के तिमीहरू एकअर्कासगँ मिलिजुलि बसेका छौं?'
बुवाले आफूहरू मिलेर बसेको बताए।
भिक्षुले फेरि सोधे, 'के तिमीहरू झर्किएर बोल्ने, एकअर्कालाई समय नदिने र धेरै मनोरञ्जन गर्ने मात्र गर्छौ?'
बुवाले त्यसमा सहमति जनाए। भिक्षुले यसैकारणले यस्ता घटना भएको बताए।
उनले भने, 'आजैदेखि तिमीहरू एकअर्कालाई सहयोग गर्नू। तिमीहरूको जीवन राम्रो हुन्छ।'
यो कुरा सुनेदेखि सबैले एकअर्कालाई समय दिन थाले।
एक दिन त्यो परिवार भिक्षुकोमा गए। भिक्षुलाई ढोगे। उनीहरूले भने, 'हजुरले गर्दा हाम्रो जिन्दगी राम्रो भएको छ।'
भिक्षुले परिवारलाई आशीर्वाद दिए र परिवार आफ्नो बाटो लागे। परिवार बाटोमा हिँड्दै गर्दा एउटा मानिस रोएको देखे र सोधे, 'भाइ तिमी किन रोएको?'
ती मानिसले आफूले धेरै मोबाइल हेरेकाले आफ्नी श्रीमती माइत गएको बताए। परिवारले मोबाइल कम हेर्दा समस्या कम हुने सुझाए।
त्यसपछि परिवार आफ्नो बाटोतिर लागे। बाटोमा जाँदाजाँदै परिवारले दुईजना झगडा गरेको देखेर सोधे, 'तिमीहरू किन झगडा गरेको?'
उनीहरूको झगडाको कारण पनि मोबाइल नै रहेछ। त्यो झगडा पनि परिवारले मिलाए। सबैजना घर आएर खुसी साथ जीवन बिताउन थाले।
भिक्षुको कृपाले सबैजना तनाव नलिई बाच्न थाले।
(सुश्रुतराज न्यौपाने भैरहवास्थित नोबल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छन्।)