सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
यसपालिको दसैं हामीले जेनेभामा मनायौं। नेपालको धेरै कुरा सम्झना आयो।
दसैंको स्कुल छुट्टी भएपछि नेपालमा धेरै रमाइलो लाग्थ्यो। मामाले चंगा र लट्टाइ ल्याइदिनु हुन्थ्यो। म रिसभ र दिप्सन छतमा गएर चंगा उडाउँथ्यौं। कति मजा आउँथ्यो। अरूले उडाएको चंगा चैट भएर हाम्रो छतमा र बेलउतीको रूखमा झर्थ्यो। त्यो हेर्न झन मजा आउँथ्यो। जेनेभामा चंगा देख्न पनि पाइनँ।
दसैंको टीका लगाउने दिन मात्र अलि रमाइलो भयो। बिहानै नेपालको घरमा भएका आमा र बुवासँग भिडियो कल गर्यौं। मामा माइजुसँग पनि कुरा गर्यौं। वहाँहरूले त्यहीँबाट आशिर्वाद दिस्यो। अनलाइन टिका लगाउँदा हाँसो पनि लाग्यो। टेक्नोलोजिले रमाइलो गरायो।
दसैं त सबैले मनाउँछन् जस्तो लाग्थ्यो। नेपालमा मेरो साथीहरूलाई नि त्यस्तै लाग्छ होला। तर नमनाउने रहेछन्। हामी अंकल, आन्टी, हजुरआमाहरूकोमा टीका लगाउन जाँदा यहाँका मानिसले हामीलाई देखेर अचम्म माने। निधारको रातो टीका हेरिरहे। हामीले दौरा-सुरवाल लगाएको देखेर नि अचम्म परे होलान्! यहाँका मानिसले यस्तो कपडा लगाउँदैनन्। मम्मिको सारी र टीका हेरेर त झन् कति अचम्म परे होलान्!
हामी गाडी कुरिरहेको बेला तीनजना मानिसले त फ्रेन्च भाषामा सोध्नु पनि भयो। मम्मिले नबुझ्ने भएकाले मैले नै उत्तर दिनुपर्यो। मैले अलिअलि मात्र बुझेँ। उहाँले भाइलाई र मलाई देखाउँदै कति राम्रो छ भन्नुभयो। वहाँहरूले सोध्नुभएको थियो, 'तपाईंको केही विशेष छ?' मैले हाम्रो दसैं हो भनेँ।
ठूलो र रमाइलो पर्व हो भन्दा 'मियँ भू' भन्दै फ्रेन्च भाषामा शुभकामना दिनुभयो। हामी कुन देशको भनेर पनि सोध्नुभयो। उहाँ पनि नेपाल जानु भएको रहेछ। नेपाल राम्रो लाग्यो भन्नुभयो।
अल्दीमा सामान किन्न जाँदा पनि सबैजनाले हामीलाई हेरे। तर त्यहाँ कसैले सोधेनन्।मलाई अजिव लागिरहेको थियो। अरू मानिस देख्दा हाँसो पनि लागिरहेको थियो। निधारमा टीका र कानमा जमरा लगाएर हिँड्दा यिनिहरूले के सोंचे होलान भन्ने लागिरहेको थियो। हामीलाई त्यसरी देख्दा अरूले पनि हाम्रो पर्वबारे थाहा पाए।
नेपालमा त सबैले टीका लगाउँछन्। यहाँ हामी मात्र 'एलियन' जस्तो लाग्ने। आमा र अंकल-आन्टीकोमा गएपछि बल्ल रमाइलो भयो। सबैले टीका लगायौँ। आशिर्वाद लियौँ। धेरैजना नेपाली भएपछि बल्ल अजिव लागेन। सेलरोटी र अरू मीठो खानेकुरा खायौँ। सुरभी दिदी, राजद्धिप र अदभिक भाइसँग खेल्यौँ। नाचगान गर्यौं। धेरै रमाइलो भयो। तर पनि नेपालको जति भएन।
पहिला मलाई सबै देशका मानिसले नेपाली भाषा नै बोल्छन् र बुझ्छन जस्तो लाग्थ्यो। अरू देशमा त नेपालीले मात्र नेपाली भाषा बुझ्ने रहेछन्। दसैं पनि नेपालीले मात्र मनाउने रहेछन्। यहाँका मान्छेले शुभकामना भने दिने रहेछन्।
जेनेभा रमाइलो छ। स्कुल रमाइलो छ। खेल्न राम्रो पार्कहरू छन्। सबै रमाइलो भए पनि दसैं यहाँभन्दा नेपालमा नै रमाइलो हुन्छ। मेरो गाउँ गुल्मीमा रमाइलो हुन्छ ।
(दर्शन भुसाल कक्षा ६ मा अध्ययनरत छन्। हाल उनी जेनेभा, स्वीजरल्याण्डमा बस्छन्।)