सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
किताब समिक्षाः
मेरा उमेरका सबै साथीलाई सायद किताब पढ्न भनेपछि मलाई जस्तै झर्को लाग्दो हो! कक्षाका किताब त पढ्नै परिहाल्यो। अरूमा चासो पनि हुँदैन होला। घरमा बाबामामु वा कसैले पढ्न भनेपछि म पनि मुख बिगार्ने गर्थें। अहिले भने किताबमा मन बसेको छ। कसरी यस्तो भयो भन्ने कुरा आज म साथीहरू माझ राख्छु है!
५ कक्षाको परीक्षा सकिएको धेरै दिन भइसकेको थियो। टिभी हेर्ने, मोबाइल चलाउने गर्दागर्दै दिन बित्दै थियो। ह्या! कत्ति मोबाइल र टीभी हेर्नु! केहि दिनपछि अल्छि लाग्दै गयो। एकदिन बाबाको लाइब्रेरीमा हेर्दै थिएँ। एउटा रंगीबिरंगी गाता भएको किताबमा आँखा पर्यो। खोइ किन हो त्यो किताब टिपेँ र पढुँ-पढुँ जस्तो लाग्यो। त्यो किताबको नाम ‘गुलाबी उमेर’ थियो। फुरूङ्ग हुँदै पढ्छु भनेर मैले त्यो किताब आफ्नो कोठामा लगेँ।
किताब त निकालेँ तर खुबै मोटो थियो। ३ सय ७९ पेजको। ओह! यत्रो मोटो किताब मैले कहाँ पढ्न सकुँला भनेर एक/दुई दिन त बाहिरी गाता मात्र नियालेर बसेँ। पढ्नै सकिन। तर, तेस्रो दिन भने पढ्न कोशिष गरेँ। पाना पल्टाएर पढ्न सुरू गरेँ। सुरूमा अलिक अफ्ठ्यारो लाग्यो तर पढ्दै जाँदा रमाइलो लाग्न थाल्यो। बिस्तारै यो उपन्यासको किताबका पानासँग गहिरो नाता बसेजस्तो भयो।
कहिलेकाहीँ मामुले अरू किताब पनि पढ भन्दा मनै नलाग्ला जस्तो भयो। गुलाबी उमेर किताबमा म हराउन थालेँ। किताबको कथाले मलाई बाँधेर राखेको अनुभव हुँदै गयो। केही दिनमा विद्यालय पनि खुलिसकेको थियो। त्यसपछि भने म राती सुत्नुअघि मात्र पढ्न थालेँ किनभने बेलुकाको समयमा गृहकार्य गर्नु पर्थ्यो।
गुलाबी उमेर उपन्यासका लेखक अमर न्यौपाने हुन्। उनले यस उपन्यासमा एक किशोरीको बच्चादेखि ऊ ठूली हुने बेलासम्मका उनका मिठा मिठा पलहरू, अनुभवहरू, मनका भावनाहरू उल्लेख गरेका छन्। यसको कथा विदाँसी नाम गरेकी किशोरीको जिवनमा आधारित छ। विदाँसीले बुबाआमासँग बिताएका मिठा पल र उनको जीवनका बारेमा कथा छ। विदाँसीको उमेर अनुसार उनका दिनचर्या, मनमा पलाउने जिज्ञासा यसमा पढ्दा आफ्नै कथा जस्तो लाग्छ। किशोरी उमेरका कथा, भावना, दुःखसुख सबै समेटिएकाले होला यस उपन्यासको नाम गुलाबी उमेर राखिएको।
लगभग एक महिनामा मैले यो किताब पूरै पढेर सकेँ। यो उपन्यास पढेपछि मैले आफ्ना साथीभाई, शिक्षक, शिक्षिकालाई यसका बारेमा बताएकी थिएँ। यो किताब पढिसकेपछि मलाई यसको अर्को भाग भइदिए हुन्थ्यो जस्तो लाग्यो। यो किताब पढ्दा मलाई किताबकै दुनियाँमा गएजस्तो महसुस भयो। मलाई यो किताब हाम्रा उमेरका साथी र हामीलाई पढाउने सबै गुरूले पनि पढ्नु पर्छ जस्तो लाग्यो। यसले हाम्रो उमेरका सबै साथीहरूको साच्चिकै चित्र उतारेको जस्तो लाग्छ मलाई।
अनि नि साथी नढाँटेर भन्दा मैले पहिलोपटक कुनै किताब यसरी रहर मान्दै पढेकी हुँ। यत्रो मोटो किताब पढिसक्दा म आफै ठूली हुँदै गए जस्तो पनि महसुस भयो।
यसको कथाले मनमा खेल्ने कुरा र त्यसको उचित व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण कुरा सिकाएको छ। मैले यो किताब पढेर आमाबुवाले भनेको मान्नुपर्छ, आफूसँग जे छ त्यसैमा रमाउनु पर्छ, आफूले आफूलाई माया गर्नुपर्छ, कहिले पनि केही कुरामा हार मान्नु हुँदैन जस्ता कुरा बुझेँ। यी कुरा हाम्रो उमेरका सबै साथीले सिक्नुपर्छ जस्तो लाग्छ।
मैले अहिलेसम्म जति उपन्यास, कथाका किताब, कविताका किताब पढेँ, ति भन्दा यो किताब अझ राम्रो र गजब लाग्यो। यो किताब पढेपछि मलाई किताब पढ्नमा रूची बढेको हो। यो किताब म जस्तै किशोरीको बारेमा भएर पनि होला मलाई यो पढ्दै जाँदा बेलाबेलामा मेरै बारेमा पनि लेखेको हो कि!
गुलाबी उमेर पढिसकेपछि मैले अरू किताब पनि पढेर सकेँ। मैले कखरा, एक किशोरीको डायरी, कर्णाली ब्लूज पनि पढेँ। अरू पनि किताव पढेँ। मैले दोस्रोपटक पढेको कखरा पनि खुब राम्रो लाग्यो। यसमा पनि एउटा बालकको जिवनका बारेमा लेखिएको छ।
मैले यी किताब पढेपछि कक्षाको पाठ्यपुस्तक बाहेक बालकिताबहरू पनि विद्यार्थीका लागि आवश्यक हुने रैछ भन्ने बुझेँ। त्यसैले हामीले भाषा सिक्न, अरू ज्ञानका कुरा सिक्न, मनलाई किताबमा बाँधेर सृजनात्मक विकास गर्न पनि विभिन्न किताब पढ्नुपर्छ जस्तो लाग्छ।
म अर्कोपटक मैले पढेको अर्को किताबका बारेमा पनि लेख्ने कोशिष गर्नेछु ल साथीहरु। तपाईंहरूले पनि आफुले पढेको किताबका बारेमा लेख्नु ल!
(संस्कृति अधिकारी युलेन्स स्कुलमा कक्षा ८ मा पढ्नुहुन्छ)