सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
स्कुलले हामीलाई पाँच दिनका लागि एभोलेन क्याम्प लगेको थियो। क्याम्प लानुअघि हामीलाई लैजाने सामानको लिस्ट पठाएको थियो - कपडा, टावल, साबुन, स्याम्पु, टुथ ब्रश, टुथपेष्ट, सनस्क्रिन क्रिम, न्याप्किन पेपर र फोहोर राख्ने ब्याग। क्याम्प जान पाएर म खुसी भएँ।
स्विटजरल्याण्ड आएको धेरै भएको थिएन। स्कुलमा सबैजना फ्रेन्च बोल्छन्। मलाई फ्रेन्च भाषा आउँदैन। अंग्रेजी थोरै साथीहरूले अलिअलि मात्र बोल्छन्। हामीलाई पढाउने राफेल सरले बोल्नुहुन्छ। मलाई कक्षामा सबैले माया गर्नुहुन्छ। बसमा सरले के-के भनिरहनुभएको थियो मैले बुझिन। सरले मलाई पछि बुझाउनु भयो। अरूको हेरेर पनि गरेँ। मेरो नेपाली साथी विश्रुती पनि मेरै कक्षामा छिन्।
क्याम्प गएको ठाउँ कति राम्रो। गाउँ जस्तो। होटलमा पुगेपछि खाना खायौँ। होटलको आन्टिले कोठामा गएर तन्ना, सिरानिको खोल, सिरकको खोल राखेर बस्न भन्नुभयो। म र साथी सोफियान सँगै पर्यौं। कोठाको ढोकामा हाम्रो नाम लेखेको पेपर टाँसेको थियो। हामीले बल्लबल्ल तन्ना र सिरानीको खोल राख्यौं। सिरकको खोल राख्न जानेनौं। आन्टिले फ्रेन्चमा के भन्नुभयो तर मैले बुझिन। सोफियानले पनि खोल राख्न सकिन। अनि सरले राखिदिनुभयो। कपडा र अरू सामान दराजमा राख्न भन्नुभयो।
सरले तीनवटा क्रियाकलाप गर्ने चारवटा समुह बनाउनु भयो। होटलको कम्पाउण्डमा खेल्ने, बाहिर ठूलो चौरमा खेल्ने र गाउँ घुम्ने। सबै गर्दा निकै रमाइलो भयो। दोस्रो दिन उठेर होटलको भान्सामा लैजानु भयो। टेबल, कुर्ची, प्लेट, चम्चा, काँटा, कप र गिलास मिलाएर राख्यौं। बिहानको खाजा ब्रेकफास्ट खाएपछि हामी खेल्न गयौँ। फुटबल, टेबलटेनिस, उनो र अरू खेल खेल्यौं। कति खेलको नामै बिर्सिएँ। त्यसपछि साइकलिङ गयौं।
हामीलाई घरबाट पञ्जा ल्याउन भन्नुभएको थियो। हेलमेट सरले दिनुभयो। साइकलिङ सिकाउने सर अगाडि र राफेल सर मेरो पछि आउनुभयो। म लड्छु कि भनेर होला बेलाबेला सोध्नु भयो। सरले धेरै माया गर्नुभयो। हामीले खाना खायौँ। नुहाएर आराम गर्यौं। फेरी स्कुटी खेल्न गयौं। स्कुटी नेपालको जस्तो होइन। अर्कै हुन्छ। सानो र ठूलो मान्छेले चलाउँछन्। डराइ-डराइ चलाएँ।मजा आयो र डर पनि लाग्यो।
बेलुका खाना खाएपछि 'लोटो' भन्ने खेल खेलाउनु भयो। त्यसमा मैले दुइपटक जितेर रूविक्स क्युब र सानो बल पाएँ। म रमाएँ।
तेस्रो दिन होटलबाट मन पर्ने खाना रोजेर प्याक गर्न लगायौँ। ब्रेकफास्ट खाएर हाइकिङ गयौं। हाइकिङ गराउने म्याडमले के-के भन्नुभयो। मलाई सरले बुझाउनु भयो। त्यहाँ धेरै पुराना रूख, पोखरी रहेछन्। डाँडा माथि थोरै घर थिए। बाटोमा रूख, फूलको बगैंचा अनि फलफूलका रूखहरू थिए। धेरै राम्रो थियो। माथि पुगेर खाना खायौँ। फर्कने बेला हामीलाई गुफामा लैजानु भयो। धेरै वर्ष पहिले जंगली युगमा जंगलका खानेकुरा खाने, काँचै मासु खाने मानिसहरूले आगो बालेको कोइला, खरानी थियो। हामीले इतिहासबारे जान्यौं। फर्केर नुहाएर खाना खायौं। अनि सुत्यौं।
चौथो दिन धेरै फूल टिपेर पानामा राखेर सिसाले थिच्यौं। त्यसमा पानी राखेर फूलहरू हटाएपछि पेन्टिङ जस्तो बन्यो। हामीलाई काठसँग खेल्न जंगल लैजानु भयो। काठ, रसी, रबर, किल्ला, काठ काट्ने चक्कु दिनुभयो। मैले गुलेली र धनुष बनाएँ। हामीले काठको लामो लठ्ठिमा चिप्स जस्तो खानेकुरा राखेर खोलामा माछा पार्न गयौं। माछा पानी बाहिर निकाल्न, चलाउन र मार्न पाइदैन भन्नुभएको थियो। माछा छोप्न सकिएन। फुत्कियो। खोलामा खेल्दा घर फर्कन मन लागेन। बेलुका पार्टि थियो। हलमा झिलिमिलि थियो। आइस टि, चकलेटहरू राखिएको थियो। गीत बजाएर सबैजना नाच्यौं। रमाइलो भयो।
पाँचौं दिन सुटकेस तयार गरेर गिफ्ट किन्न पसल गयौं। मैले ममिको लागि क्याप किन्न खोजेको थिए तर पैसा पुगेन। होटलको मान्छेहरूलाई धन्यवाद भन्यौं। हामीलाई सिकाउने त्यहाँका सर म्याडमलाई धन्यवाद भन्यौं। आफूले बनाएको गुलेली र धनुष अनि पेन्टिङ जस्तो पेपर लिएर म घर आएँ। गाडीमा जोक्स भन्दै रमाइलो भयो। फोटोहरू पनि छन्, पछि हेर्न हुन्छ।
ममी-बाबाले र नेपालमा पनि आमा, मामा, माइजु, आन्टीहरूले म आत्तिएँ कि भनेर सोध्नुभयो। सुरूको दिन सुत्न गएपछि भाइको याद आएको थियो। ममीसँग कुरा गर्न मन लाग्यो। अरूबेला त रमाइलो मात्र भयो किनकी साथीले पनि माया गरे। सरले पनि धेरै माया गर्नुभयो नि त।
(नेपालको एलआरआइ स्कुल कलंकीमा पढेका दर्शन भुसाल हाल स्विजरल्याण्डको जेनेभास्थित एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)