सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो घर सिन्धुली जिल्लामा पर्छ। कक्षा चारको परीक्षा सकिएपछि म सिन्धुली गएँ। मेरो भिनाजु काठमाडौं आउनुभएको थियो। भिनाजुसँगै म गाउँकाे घरमा गएँ।
सिन्धुली बजारमा मेरो हजुरबुवा हुनुहुन्छ। मलाई धेरै माया गर्नुहुन्छ। हजुरबुवाको घरमा पूजा थियो। पूजाको प्रसाद खाएँ अनि काकासँग बाइक चढेर गाउँ गएँ। गाउँ मलाई धेरै रमाइलो लाग्यो। खुला ठाउँ अनि जताततै हरियाली! मेरा दुई भाइ गाउँमा छन्। उनीहरूको नाम सिजन र रोशिल हो। उनीहरू मेरा सबभन्दा मिल्ने साथी हुन्। उनीहरूसँग निकै रमाइलो गरेँ।
काकासँग जंगल पनि घुम्न गएँ। मेरो बाबाले घाँस काटेको, गाई-बाख्रा चराएको ठाउँ देखेँ। खेतबारी भएको ठाउँ पनि गएँ। बारीमा मकै हरिया भएका थिए। घोँगा लागेका थिए। मकै खान आएका सुगालाई भाइ र मैले लखेट्यौं। आमाले मलाई मकै पोलेर खान दिनुभयो। निकै मिठो लाग्यो।
मेरो काकाले मलाई धेरै ठाउँमा घुमाउन लैजानुभयो। मैले जे भन्यो त्यही खुवाउनुभयो। मलाई मेरो आमाबुवाले धेरै माया गर्नुहुन्छ। काकाको घरमा मैले गाईको दूध खाएँ। आमाबुवाले भैँसी पाल्नुभएको छ। आमाले भैँसीको दूध दिनुभयो। दही दिनुभयो । मलाई घरको दही काठमाडौंको भन्दा धेरै मिठो लाग्छ। बारीमा धेरै किम्बु पाकेको थियो। आफैँ टिपेर पनि खाएँ।
गाउँमा धुलो हुँदैन। धेरै गाडी चल्दैन। खोलाको पानी पनि सफा हुन्छ। ठाउँ खुला हुन्छ। हामीले त खेतमा पनि बल खेल्यौँ। धेरै रमाइलो भयो।
मेरो परीक्षा सकिन नपाउँदै आमाले मलाई सोध्नुहुन्छ, 'घर कहिले आउने मेरो नाति?'
मेरो काकाले पनि सोध्नुहुन्छ, 'भतिज कहिले आउने?'
मेरा भाइहरूले पनि सोध्छन्, 'घर कहिले आउने दादा?'
मलाई पनि गाउँ जान निकै मन लाग्छ। गाउँमा जे खानेकुरा पनि निकै मिठो लाग्छ। मेरो चार कक्षाको रिजल्ट आएपछि म गाउँबाट काठमाण्डौँ आएँ। अब दसैमा फेरी गाउँको घरमा जानेछु।
(प्रत्युष काफ्ले डिएभी स्कुल, जावलाखेल ललितपुरमा कक्षा ५ (सि) मा अध्ययनरत छन्।)