सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मलाई बाले सधैँ सेते भनेर बोलाउनुहुन्थ्यो। मेरो मामाघरको जिजुबा हुनुहुन्थ्यो बा। म बाको पनातिनी थिएँ। तीन वर्ष जतिकी हुँदा म बाघभैरवको लाइब्रेरीमा पढ्न जान्थेँ। बा पनि बाघभैरव मै बाबू मामाकोमा बस्नुहुन्थ्यो।
म कहिलेकाहीँ छुट्टी भइसकेपछि दिदीसँग बालाई भेट्न जान्थेँं। अनि मलाई बाले देख्ने बित्तिकै 'सेते' भन्न्नुहुन्थ्यो। मलाई बाले सेते भनेको कस्तो राम्रो लाग्थ्यो। म कहिलेकाहीँ बालाई भेट्न जाँदा बिस्कुट लग्दिन्थें अनि बाले पनि मलाई चकलेटहरू दिइहाल्नुहुन्थ्यो। घर जान लाग्दा 'खाजा खाएर जाउ' भन्नुहुन्थ्यो। बाले हामीलाई कत्ति माया गर्नुहुन्थ्यो।
बा पछि हाम्रैमा आउनुभयो। कहिलेकाहीँ त घरमा बा र म मात्र हुन्थ्यौँ। अनि हामी गफ गर्थ्यौ। कहिले त खेल्थ्यौँ पनि। आमाबुबा गोठतिर जानुहुन्थ्यो। दिदीहरू स्कुलबाट आइसक्नुभएको हुँदैनथ्यो। मचाहिँ दुई बजे नै घर आउँथेँ। मलाई सधैंजसो आमा लिन जानुहुन्थ्यो। अनि बाले दुई बज्न लागेपछि आमालाई भन्नुहुन्थ्यो रे, 'काली लिन जाने बेला भएन?'
बालाई स्कुल जाने समय पनि था हुन्थ्यो। अनि कसको कतिबेला छुट्टी हुन्छ भन्ने पनि थाहा थियो। मेरा बा पहिलेको मास्टर हुनुहुन्थ्यो नि त! त्यही भएकाले थाहा भएको होला।
मलाई पनि कतिजनाले 'मास्टर बाको नातिनी हो?' भनेर सोध्नुहुन्थ्यो। म मख्ख परेर 'हो' भन्थेँ। दिदीहरू स्कुलबाट ढिलासम्म आउनुभएन भने बा 'दिदी आइन?' भनेर सोधिहाल्नुहुन्थ्यो। म बासँग कहिलेकाहीँ भाडाकुटी खेल्थे। म केही खाना पकाएजस्तो गर्थेँ। बा हेरिरहनुहुन्थ्यो। बालाई म फूलको खाना बनाएर पातमा दिन्थेँ। बा पनि कत्ति मजाले हात थापेर छिट्टै खाएजस्तो गर्नुहुन्थ्यो। अनि 'मीठो छ' भनेर जिब्रो पड्काउनुहुन्थ्यो। मलाई बासँग खेलेको कत्ति याद आउँछ।
बा पहिले बाघचाल खेल्नुहुन्थ्यो रे। मैले अलिअलि बाघचाल खेल्न सिकेकी थिएँ। एकदिन बालाई मैले 'बाघचाल खेल्ने?' भनेर सोधेँ। बाले खेल्ने भन्नुभयो। बा भित्रै हुनुन्थ्यो। म ट्वाइलेट गएर आउँछु अनि खेलौँला भने। ट्वाइलेटबाट फर्कदा बालाई हात समाएर ल्याँउछु अनि बस्न मुढा ल्याइदिन्छु भन्ने सोच्दै थिए। म आउँदा त बा आफैँ मुढामा बसिसक्नुभएछ। म दंग परेँ। बा त हिँड्नै नसक्ने भइसक्नुभाथ्यो नि त! तै पनि बाघचाल खेल्ने भनेर बिस्तारै आउनुभएछ।
बाले खरीले कोरेर बाघहरू मिलाएर राखिसक्नुभएको थियो। अनि हामीले मजाले बाघचाल खेल्यौँ। बाले मेरो एउटा बाख्रा खाइदिनुभयो। तर मैले लास्टमा बाको बाघहरू सबै थुन्दिएँ।
बिदामा मलाई बाबा लिन आउनुभएको थियो। बाबाले लुगा प्याक गरेको देखेर बाले भन्नुभयो, 'यत्रो लुगा ज्वाइँसाब?'
बाबाले अझै 'अरू छ नि बा' भन्दा हाँस्दै जिब्रो टोक्नुहुन्थ्यो। मलाई बाले ज्वाइसाब भनेको निकै राम्रो लाग्थ्यो।
दशैँमा हामी सधैँ बाको हातबाट टीका लगाउथ्यौँ। औँसी, पूर्णिमामा पनि बाले हामीलाई दक्षिणा दिनुहुन्थ्यो।
बालाई म बिहान उठेपछि बाहिर आउन सहयोग गर्थेँ। पानी लग्दिन्थेँ। सातु लग्दिन्थेँ। बाले 'टोपी ल्याइदे त सेते' भन्न्नुहुन्थ्यो। म टोपी ल्याइदिन्थेँ। म आगँनमा ओल्लो छेउ, पल्लो छेउ कुदिरहन्थेँ। बाले हेरिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो, 'मुठ्ठी पारेर कुद त सेते।' मलाई अझै याद छ।
म क्लासमा पहिलो भएको सुनेपछि बाले खुसी हुँदै 'अर्कोमा नि पहिलो हुनु' भनेको पनि मलाई राम्रो याद छ।
म होमवर्क गर्न पिढीँमा बस्थें। बा पनि सँगै टेबलमा बस्नुहुन्थ्यो। मेरा किताब लगेर पनि पढ्नुहुन्थ्यो। अंग्रेजी किताब पनि पढ्न हुन्थ्यो। मलाई सोध्नुहुन्थ्यो।
बालाई भेट्न साथीहरू आउँदा म बा खुसी भएर गफ गरेको सुन्थेँ। साथीहरूसँग बा पिँढीमा बस्नुहुन्थ्यो। जाडोमा बा दिनभर घाममा बस्नुहुन्थ्यो। म बालाई ट्वाइलेट हात समातेर लैजान्थेँ। बाले सुर्ती कहिलेकाहीँ खान मन गर्नुहुन्थ्यो तर मैले नदेखोस् भनेर म भित्र भएको बेला हातमा लिएर माड्नुहुन्थ्यो।
म १ बर्ष काठमाडौं पढ्न पनि आएँ। लकडाउन भएपछि म फेरि गाउँमा बसेँ। बा हिँड्न त्यति सक्नुहुन्नथ्यो। पोहोर माघे सन्क्रान्तीपछि बा बिरामी हुनुभयो। मलाई डर लाग्थ्यो। सबैजना बालाई हेर्न भनेर आउनुहुन्थ्यो। बालाई बाहिर ल्याएर सुताउनुभयो। त्यसअघि बालाई भेट्न त्यति धेरै मान्छे एकैचोटी आएको मैले कहिल्यै देखेकी थिइनँ। मलाई मनमा कस्तो-कस्तो भइरहेको थियो।
दुई-तीन दिनसम्म पनि बालाई सन्चो भएन। बाले हामी कसैलाई चिन्नुहुन्नथ्यो। म बेलाबेला बालाई हेर्न जान्थेँ तर बा ठिक नै हुनुभएन। एकदिन बेलुका म बालाई हेरेर सुत्न गएको थिएँ। बा भएको ठाउँमा बुबा, आमाहरू हुनुहुन्थ्यो। म फर्किएर सुतेँ। भोलिपल्ट बिहान हल्ला सुनेपछि छिट्टै उठेँ। बाहिर धेरैजना हुनुहुन्थ्यो। दिदीले मलाई बा बित्नुभएको कुरा सुनाउनुभयो। मैले पत्याउनै सकिन। दौडिएर बाहिर आएँ। सबै रोइरहनुभएको थियो। मैले पनि आँसु थाम्नै सकिन। बुवा, आमाहरूको आफ्नो बाबा बित्नुभएको थियो। को नरोइ बस्न सक्थ्यो र? मैले त्यति नजिकैबाट कोही मरेको देखेको थिइन।
बालाई आँगनमा सेतो कपडाले छोपेर राखिएको थियो। म अझै बालाई एकचोटी आँगनमा हेर्न गएँ। बालाई त्यसरी देख्दा म रोइ मात्र रहेँ। मलामीहरूले बालाई लगिसकेपछि झन् मलाई निकै नराम्रो लाग्यो। मैले तलसम्म बालाई लगेको हेरिरहेँ। मेरो आँखाबाट आँसु थाम्नै नसक्नेगरि बगिरहेको थियो। बा अब कहिल्यै फर्कनुहुन्न भन्ने म सोच्न पनि सक्दैनथे। बेलुका बुबाहरू फर्कनुभयो। बुबाहरूले सेतो लुगा लगाउनु भयो। बाको याद आइरहन्थ्यो। राती पनि बा सम्झिरहन्थेँ। मैले धेरै दिनसम्म बालाई अलिकति पनि बिर्सन सकिन। १३ दिनसम्म कत्ति मान्छे आउनुभयाे। घरभरी मान्छे हुनुन्थ्यो तर सधैँ बा बस्ने पल्लो घरमा बा हुनुहुन्नथ्यो। बुबाहरूलाई पनि हामीले छुन हुँदैनथ्यो। कति गार्हो गरि बितेका थिए ती दिन!
म पल्लोघर जाँदा बा पल्लोघरमा बसिरहनुभएको छ कि झैँ लाग्थ्यो। बा बस्ने खाट खाली हुन्थ्यो। म बाहिर बसिरहँदा बा भित्र हुनुहुन्छ भन्ने सोच्थेँ। बासँग बोल्न मन लाग्थ्यो तर बा हामीलाई छोडेर गइसक्नुभएको थियो। बा नभएपछि घर खाली लाग्थ्यो मलाई। सधैँ दसैंमा टीका लगाउन जान्थेँ म। यो वर्षदेखि बाको हातको टीका पनि लगाउन पाइनँ। म बालाई सधैंजसो सम्झिन्छु। होमवर्क गर्दा पनि बासँगै बसेर पढेको याद आउँछ। बाले मलाई माया गरेजस्तै म पनि बालाई कत्ति माया गर्थेँ।
(आरूही कोइराला काठमाडौं गुरूकुल इङ्लिश स्कुल, कोटेश्वरमा अध्ययनरत छिन्।)